सभामुखद्धारा संसदीय समितिसँग छलफल
सुर्खेत : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले संसदीय समितिसँग छलफल गरेका छन् । बुधवार विषय समितिका अध्यक्ष तथा सचिवहरुसँग सभामुख शाहीले भर्चुअल बैठक गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि संसदिय समितिको भूमिकाबारे छलफल भएको जनाइएको छ ।
हालसम्म प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरिरहेको कामको समीक्षा, यसमा समितिहरुले खेल्न सक्ने भूमिका र रोकिएका विकास निर्माणका कामहरुलाई कसरी अगाडी बढाउने लगायतका विषयमा छलफल गरिएको थियो ।
यस्तै संसदीय समितिहरुले सुचना प्रविधि प्रयोग गरेर स्वास्थ्य क्षेत्रमा स्वास्थ्य समाग्रीको उपयोग के भइरहेको निगरानी गर्ने, राहत वितरणलगायतका कार्यलाई एकद्धार प्रणालीमार्फत गराउन सरकारलाई ध्यानाकर्षण गराउने, जनस्तरबाट नागरिकको उद्धारमा आएका गुनासोका सम्बोधनका लागि सरकारको ध्यानाकषर्ण गराउनेलगायतका विषयमा निष्कर्ष निकालिएको सभामुख शाहीले बताए ।
कर्णाली प्रदेशमा कोरोना रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागि उच्च सर्तकता अपनाएको र अझै नागरिकसम्म सचेतना र आवश्यक पुर्वाधार तयारका लागि पनि छलफल भएको शाहीले जनाए ।
यसैगरी विकास निर्माणको काम अहिले रोकिएकाले बाहिरबाट आएका व्यक्तिहरुको निगरानी गर्ने र स्थानीय श्रमलाई सदुपयोग गरेर कम मानिस र मेसनरी औजारबाट हुने काम अगाडी बढाउन सरकारलाई ध्यानाकर्षण गराउने सुझाव समितिका अध्यक्षहरुले दिएका थिए ।
बैठकमा सामाजिक विकास समितिका सभापति राजु नेपाली, सार्वजनिक लेखा समितिका सभापति दिनबन्धु श्रेष्ठ र अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति अमरबहादुर थापा सहभागिका साथमा समितिका सचिवहरु सहभागि भएको सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
प्रकाशित मितिः १० बैशाख २०७७, बुधबार २१:५०
साझा बिसौनी ।