विचार

एम्बुसमा प्रेम र मानवता

‘हामी सबै प्रेमका निम्ति जन्मेका हौँ । यही नै अस्तित्वको सिद्धान्त हो ।’ बेन्जामिन डिजराइलीको यो भनाइले प्रेमको महत्वलाई मात्र बुझाएको छैन, मानव अस्तित्व प्रेमभावसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको छ । प्रेम जीवनको सबैभन्दा सुखद् अनुभूति हो । जीवनको सबैभन्दा शक्तिशाली वासना हो प्रेम । जीवनको सबैभन्दा ठूलो उर्जाको मिसाइल हो, प्रेम । तर, आज संसारमा जति मानिसहरु प्रेमको न्यानो आँचल ओढेर मुस्कुराएका छन्, त्योभन्दा कैयौँ धेरै मानिसहरु प्रेमको अक्सिजन नपाएर छटपटाइरहेका छन् । पिरोलिएका छन् ।

प्रेम यस्तो अमृतरस हो, जसलाई हरेक प्राणी पिउन चाहन्छ । प्रेमको तिर्खा हर प्राणीमा हुन्छ, हर ब्यक्तिमा हुन्छ । मानिसलाई मात्र होइन, वनस्पतिलाई पनि प्रेमको जरुरत पर्छ । जनावरलाई पनि प्रेम चाहिन्छ । जनावर जो सबैभन्दा बढी माया गर्नेको वरिपरि लुटपुटिएको हुन्छ । यसरी हेर्दा प्रेमको अस्तित्व सार्वभौम छ र जरुरत हर प्राणीलाई छ । यहाँ उल्लेख गरिएको प्रेमको आयतन श्रीमान श्रीमतीमा मात्र सीमित छैन, हर प्राणी बिचको आपसी प्रेमसँग पनि सम्बन्धित छ ।

प्रेम अमूर्त भावना, मनोविज्ञान र आत्माहरु बीचको अनुपम सङ्गम हो । मनोवैज्ञानिक रबर्ट स्टर्नबर्गले प्रेमलाई आत्मीयता, जोश र प्रतिबद्धताको त्रिकोणको रुपमा अथ्र्याएका छन् । प्रेम मानव समाजको यस्तो केन्द्रबिन्दु हो, जसको वरिपरि दुनियाँका धेरै चिज वा वस्तुहरुले चक्कर लगाइरहेका हुन्छन् । प्रेमको भोक हरेक ब्यक्तिमा हुन्छ, हरेक प्राणीमा छ । प्रेमको केन्द्रीयतामा अनगिन्ती साहित्यहरु सिर्जना भए, सैयौ फिल्महरु निर्माण भए । सृष्टिको निरन्तरता पनि प्रेमकै दोस्रो रुप हो । यसरी सृष्टिको आदिकालदेखि प्रेमको अस्तित्व अभिन्न रुपमा अमूर्त र निराकार बनेर संसारमा बाँचिरहेको छ । प्रेमको मिठो गीत, सङ्गीत सुनेर, साहित्य पढेर संसार जति मुग्ध र आनन्दित छ, प्रेमका कवितामा जति मोहित छ, मानिसको वास्तविक जीवन खोतलेर हेर्ने हो भने त्यति सुखद् र आनन्दित छैन । किनकि प्रेमको पिरामिड जति अग्लो छ, त्यो भन्दा कैयौँ गुणा अग्लो छ घृणाको पिरामिड । यो कुरालाई पुष्टि गर्न आज संसारले कोरोना भाइरसको प्रकोपबाट भोगिरहेको कष्टपूर्ण समयमा समेत प्रेम र मानवतामाथि गरिएका भद्दा र कुरुप मजाकहरु काफी छन् ।

आज अदृष्य र सजीव निर्जीवको बीचमा रहेको भाइरसले मानव जातिलाई त्रसित बनाएर संसारलाई शासन गरिरहेको छ । कहिल्यै चयनको सास नफेर्ने मानव जातिलाई चार दिवारभित्र बन्दी बनाइदिएको छ । सङ्कटको यस समयमा संसार एकजुट भएर मानव शत्रुविरुद्ध लड्नु पर्ने हो, विश्वबन्धुत्वको भावना अङ्गालेर सहयोगका हातहरु बढाउनु पर्ने हो तर स्थिति त्यस्तो देखिँदैन । सङ्कटको यस महाघडीमा समेत मानिसभित्रको अमानवता, आडम्बर र दम्भ छताछुल्ल पोखिएको छ । अझ सशक्त बनेर पखेटा फैलाइरहेछ ।

  • श्रमजीवि वर्गलाई आज कोरोनाले मात्र लखेटेको छैन, स्वदेश र विदेशमा काम गर्ने लाखौँ मानिसहरुलाई बेरोजगारीले लखेटेको छ, साहूले लखेटेका छन्, पूँजीपतिले लखेटेका छन् र राज्यको अब्यवस्थाले लखेटेको छ ।

यस बिचमा अमेरिका र चीन बिचको विवाद, विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग रोक्ने चेतावनी, स्पेनको स्वास्थ्य संस्थाले किनेको सयौँ रेस्पिरेटरको ढुवानीमा टर्किश सरकारले गरेको अवरोध, जर्मनी र फ्रान्सले चिकित्सकीय सामग्रीको निर्यातमा लगाएको प्रतिबन्ध, बेइजिङ र ब्राजिल बीचको मनमुटाव, कतार र इजिप्टको विवाद आदि घटनाहरुले आजको महासङ्कटमा समेत शक्ति राष्ट्रहरुको यो चरित्र प्रष्ट भएको छ कि उनीहरु आज पनि अहङ्कारको लडाइमा छन्, शक्तिको उन्मादमा छन् र मानवताको सुन्दर र सफेद छातीमाथि बुट बजारिरहेका छन् । हामीले विकसित भन्दै आएका मुलुक मास्क, सेनिटाइजर जस्ता सस्ता चिकित्सकीय सामग्रीको लागि समेत रोइरहेका छन्, युद्धरत छन् भने उनीहरुको विकास लगानी र ध्यान कतातिर केन्द्रित छ भन्ने कुरा छर्लङ्गै छ । यी र यस्ता खालका घटनाहरुले यो बताउँछ की मानवता, मानवीय सहयोग, प्रेम, विश्वबन्धुत्व जस्ता भावनाहरु आज संसारबाट ओझेल परेका छन् र दम्भको पहाड अग्लिँदै गइरहेको छ । यस सन्दर्भमा चीन लगायत केही देशहरुले, केही संघ संस्थाहरुले र केही व्यक्तिहरुले मानवताका पक्षमा गरेका केही उदाहरणीय कार्यहरु पनि यस बिचमा नभएका होइनन् तर त्यसको तुलनामा अस्वस्थ प्रतिस्पर्धा र तनावपूर्ण वातावरणको तुवाँलोले आकाशलाई जति धमिल्याउँदै लगिरहेको छ, त्यसको तुलनामा सहयोग र उपकारजन्य कार्यहरु नगन्य नै छन् । यो पक्कै पनि राम्रो सङ्केत होइन ।

सञ्चार माध्यममा हामीले दिनहुँ देखिरहेका छौँ । सुनिरहेका छौँ । श्रमजीवि वर्गलाई आज कोरोनाले मात्र लखेटेको छैन, स्वदेश र विदेशमा काम गर्ने लाखौँ मानिसहरुलाई बेरोजगारीले लखेटेको छ, साहूले लखेटेका छन्, पूँजीपतिले लखेटेका छन् र राज्यको अब्यवस्थाले लखेटेको छ । राघोराम भारतका ती मजदुर हुन्, जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर ७०० किलोमिटरको यात्रा तय गरे र घर गए । खरबौँ खर्च गरेर १२० भन्दा बढी परमाणु बम बनाउन सक्ने तागत भएको भारतका गल्लीहरु आज लाखौँ मजदुरहरुका भोकले भरिएका छन्, पीडाले भरिएका छन् र आँशुले भिजेका छन् । तथ्याङ्कले देखाउँछ विश्वको सम्पूर्ण गरिब आवादीको एक तिहाइ भाग भारतमा छ । तर भारतीय शासकको लागि आफ्ना नागरिकको भोकभन्दा ठूलो आणविक परीक्षण हो, हातहतियारमा गर्ने लगानी हो र विश्वमा आफूलाई शक्तिशाली देखाउने दम्भ हो । यो मनोविज्ञान कुनै एउटा देशको शासक र एउटा देशमा मात्र सीमित छैन । विकसित भनिएका सबैजसो मुलुक र शासकमा यही मनोविज्ञानले काम गरेको छ ।

यो संसार अस्त्र शस्त्रको बलले शक्तिशाली बनेका बलिया शासकहरुको जति हो, त्यति नै दिनरात मिहिनेत गरेर पसिना बगाएका ती मजदुरहरुको पनि हो जसको दिनभरको परिश्रम पेटमा गएर अन्त्य हुन्छ र भोलिको पेट भर्नका लागि श्रम गर्नुको कुनै बिकल्प बाँकी रहँँदैन । हरेक महामारीको सङ्कटमा सबैभन्दा बढी त्यही वर्ग प्रताडित हुन्छ, जुन सिमान्तकृत छ र जसको पाखुरीभन्दा अन्य कुनै पूँजी छैन । संसारका सबै सुन्दरताका पारखी मजदुरहरु हुन् । संसार मजदुरको सिप र श्रमको बुइ चढेर अग्लिएको छ, चम्किएको छ र सौन्दर्यले बशिभूत छ । तर तिनै मजदुरहरुको जीवन आज सबैभन्दा बढी समस्यामा छ । सरकारले घोषणा गरेको लकडाउनको परवाह नगरेर मजदुरहरुको घर जाने लस्कर दिनदिनै बढिरहेको छ । निश्चय नै यो उनीहरुको रहर होइन, बाध्यता हो । सरकारले घरमा बस्नु भनेको छ, सहरमा मजदुर, विद्यार्थी लगायत अधिकांशको घर छैन र जीवन धान्ने साधन छैन । उनीहरुका पाइलाहरु सबै खालका कष्ट सहँदै घरमै बसेर सरकारको आदेश मान्न लालायित छन् । त्यो लस्करमा हिड्न सक्नेहरु मात्र छैनन्, बालबच्चाहरु छन्, शरीरको रगतले जमिन भिजाउँदै हिडेका आला सुत्केरीहरु पनि छन् र गह्रुङ्गा भारीहरु बोकेका सकसहरु पनि छन् । तर ती केहीको पनि परवाह नगरेर उनीहरु कोशौँ टाढाको यात्रामा निस्केका छन् । त्यो यात्रा सबैभन्दा बढी भोकको यात्रा हो, जीजिविषाको यात्रा हो र परिवारसँगको आत्मीयता र मिलनको यात्रा हो । भोकको ज्वाला निभाउन कुनै विकल्प बाँकी नरहेपछिको निर्विकल्प यात्रा हो मजदुरहरुको त्यो यात्रा ।

 

  • वर्तमान समाजमा बाँचिरहेका हामी मानव प्राणी केही समयका पाहुनाहरु मात्र हौँ । तर हामी भित्र बाँचिरहेको घृणा, दम्भ, रिस, अहङ्कारको पहाड निकै अग्लो छ । त्यो अग्लो पहाडभित्र मानवता र प्रेमभाव भने निकै निरिह बनेर बसिरहेको छ ।

अर्कोतिर विदेशमा पसिना बगाएर परिवारको भोक मेटिरहेका मजदुरहरुको कथा ब्यथा अझ डरलाग्दो र कारुणिक छ । सबैभन्दा सङकटको बेला नागरिकले आफ्नो परिवार र देश सम्झन्छ । आफ्नो परिवार र देश भनेको आत्मीयता र प्रेमको सम्बन्ध हो । स्वाधिनता र स्वाभिमानको सम्बन्ध हो । तर, सयौ किलोमिटर दूरी पार गरेर, पुलिसको लठ्ठी खाँदै आफ्नो देश खोज्दै आएका नागरिकहरु कोही दशगजामा रोकिए, कोही महाकाली पारीको सीमामा रोकिए । आपूmलाई जन्म दिने आमाको मुहार अन्तिमपटक हेरेर आँशु बगाउन नपाउने मात्र होइन, दागबत्ती दिने उत्कट चाहना र संवेदना समेत सहादत भयो । जब आफ्नै आमाको काख निषेधित भयो, त्यतिबेला असैह्य भएर महाकालीको नदीमा हेलिएर दर्जन भन्दा बढी मानिसहरु आफ्नो जन्मभूमि छुन आइपुगे । यो अवस्था शासकको गैरजिम्मेवारीपनको पराकाष्टा हो । कोही रोगबाट संक्रमित हुनु कसैको दोष होइन, सीमानामा अलपत्र परेका आफ्ना नागरिकको ब्यवस्थापन गर्न नसक्नु राज्यको दोष हो ।

मानिसका सबै डरहरु मृत्युसँगको साक्षात्कारका डरहरु हुन् । यो संसार शून्यबाट सुरु भएको हो र शून्यमै अन्त्य हुने कुरा विज्ञहरुले बताउँदै आएका छन् । वर्तमान समाजमा बाँचिरहेका हामी मानव प्राणी केही समयका पाहुनाहरु मात्र हौँ । तर हामी भित्र बाँचिरहेको घृणा, दम्भ, रिस, अहङ्कारको पहाड निकै अग्लो छ । त्यो अग्लो पहाडभित्र मानवता र प्रेमभाव भने निकै निरिह बनेर बसिरहेको छ । तथ्याङ्कले देखाउँछ कि अहिले दुनियाँसँग २० देखि २६ हजारभन्दा बढी परमाणु हतियारहरु संरक्षित अवस्थामा छन् । पूरै संसार ध्वस्त बनाउने तागत ३०० देखि ४०० परमाणु बममा नै निहित रहेको कुरा विज्ञहरुले बताउँदै आएका छन् । यस अवस्थामा एउटा प्रश्न यो उठ्छ कि मानिसले खरबौ खर्चेर निर्माण गरेका हातहतियारले आखिर कसको हित गरिरहेको छ? यसको जवाफ नकारात्मक आउँछ । कसैको हित गरेको छैन, बरु मानिसहरुलाई त्रासमा बाँच्न विवश बनाएको छ, वातावरणीय स्वच्छतालाई बिगारेको छ र ओजोन तहलाई पातलो बनाउन सघाएको छ । अर्कोतिर राष्ट्रहरुको बिचमा तनाव बढाएको छ, अहङ्कार र दानवतालाई बढावा दिएको छ । एकातिर यो अवस्था छ भने अर्कोतिर संसारका सबै गरिब देशहरुको सम्पत्ति विश्वकै सर्वाधिक धनी ब्यक्ति विल गेट्सको सम्पत्तिभन्दा बढी छैन । यसरी मानिसहरु बिचको असन्तुलनको खाडल यति गहिरो छ कि त्यसको कुनै सीमा नै छैन ।

मानव समाजमा आज कुनै चिजको खाँचो छ भने त्यो हो मानवता, विश्वबन्धुत्व र प्रेम । सामान्य रुपमा हेर्दा यो कुरा आदर्शवादी जस्तो लाग्छ । तर गहिरिएर हेर्ने हो भने मानव समुदायलाई आज सबैभन्दा बढी डर छ भने त्यो डर मानिससँग छ, मानिसको सनकीपनसँग छ र मानिसको अविवेकसँग छ । किनकि इतिहासले भनिरहेको छः सत्ताको शक्ति र स्वार्थका लागि मानिस जस्तोसुकै निचता देखाउन पछि परेको छैन । तसर्थ जर्ज स्याण्डले भने जस्तै संसारको एक मात्र खुसी माया गर्नु र माया पाउनु हो । माया पाउनका लागि माया बाँडौ, संसार हाँस्नेछ, संसार सुन्दर बन्नेछ । मानव जातिको अन्तिम अभिष्ट खुसी र आनन्दित रहनु नै हो ।

लेखक रत्नराज्य माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रकाशित मितिः   १० बैशाख २०७७, बुधबार १२:१५