खलङ्गामा मजदुर भोकै

जुम्ला : ज्यालामजदुरी गर्न बाहिरी जिल्लाबाट जुम्ला पुगेका मजदुर भोकै बस्नुपर्ने स्थितिमा पुगेका छन् । सरकारले जारी गरेको लकडाउन अवधि थपिदै जाँदा खलंगामा दश जना मजदुर विचल्लीमा परेका हुन् । चैत पहिलो साता कामको खोजिमा खलंगा पुगेका उनीहरु लकडाउनले यतै थुनिएका छन् । चन्दननाथ नगरपालिका– ६ विजयनगरमा बसेका कैलालीका ६, काठमाडौंका दुई र चितवनका दुई जना मजदुर बेखर्ची भएपछि भोकै बस्न बाध्य भएका हुन् ।

राहतका लागि चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमामा जाँदा आश्वासन मात्रै पाएको चितवनका जयबहादुर कुमालले गुनासो गरे । ‘कमाउन भनि घर छोडियो । अहिले भोकै छौं । पटक–पटक प्रशासन र नगरपालिका धायौं । राहत पाइएन,’ उनले भने । ज्यालादारी गरी परिवारको गर्जो टार्न पोखराबाट जुम्ला पुगेकी सुनिता विकको पनि खाद्यान्न सकिएको छ । रासन नहुँदा दुई दिनदेखि भोकै बस्नु परेको सुनिताले सुनाइन् । ‘अहिले न काम छ । न माम,’ उनले भनिन्, ‘बुढाबुढी त पानी खाएर रात काट्छौं । छोराछोरीको पेटले मान्दैन ।

यस्तै समस्यामा चितवनका भिष्म महतो पनि परेका छ । लकडाउनका कारण उनले मजदुरी गर्न पाएका छैनन् । दैनिक ज्यालादारी गरी पेट पाल्नेलाई सरकारले भोको नराख्ने भन्ने सुनेका उनीसहित कैलालीका ६ जना खलंगामा भोकै छन् । तीन पटक स्थानीय प्रशासन पुग्दा पनि राहत दिलाउने प्रयास गर्नुको साटो नगरपालिकामा सम्पर्क गर्न भन्दै फर्काएको उनीहरुले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भने कुनै पनि मजदुर प्रशासनको सम्पर्कमा नआएको बताएकी छन् । राहत वितरण स्थानीय तहको जिम्मेवारी भएकाले लकडाउनका कारण समस्यामा परेको भए नजिकको स्थानीय तहमा सम्पर्क गर्न उनले अनुरोध गरिन् । चन्दननाथ ६ का वडाअध्यक्ष अजबहादुर रावलले मजदुरहरुको विवरण नगरपालिकामा पुगि सकेकाले भोलि नै राहत उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   १० बैशाख २०७७, बुधबार ११:४४