अरूको लाख, आमाको काख
विषय प्रवेश
अहिले विश्व कोभिड–१९ तथा कोरोना भाइरस नामको आतङ्कले स्तब्ध छ । विश्वका धेरै देशहरूमा लकडाउन रहेको छ । नेपालमा पनि लकडाउन छ । नेपालीहरू पनि घरभित्रै बस्नु परेको छ ।
आज लोकतन्त्र दिवस । स्वतन्त्रताको लडाइँमा जीवन उत्सर्ग गर्नेहरूको परिवारले सम्झिने दिन । स्वतन्त्रताको अनुभूति गरेका नागरिकले सम्झिने दिने । यसै गरी आज वैशाख महिनाको कृष्णपक्षको औँसी । मातातीर्थ औँसी । आमाको मुख हेर्ने दिन । आफूलाई जन्म दिने आमालाई सम्झिने दिन । आफूलाई कर्म दिने आमालाई सम्झिने दिन । आज पूज्य जननी आमा, माता, मुमा, मामु, मा, अम्मी, माई, माय, ममी, संस्कारले, भाषाले जे भने पनि पूजा गर्ने दिन । मदर टरेसाले भनेझैँ “हिजो गइसक्यो, भोलि हाम्रासामु आएको छैन, हामीसँग आज छ । त्यसैलाई मनाऔँ । सकिन्छ आमासँग बसेर, सकिँदैन धर्तीमातासँग बसेर ।”
अरूको लाख, आमाको काख
आमा शब्द सबैको लागि अत्यन्त प्यारो र ममतामयी शब्द हो । आमा सबैभन्दा पवित्र नाता हो । दुःखमा सबैको जिब्रोमा झुण्डिने शब्द पनि हो आमा । हाम्रो नेपाली समाजमा आमाको बारेमा एउटा प्रचलित उखान छ,“अरूको लाख र आमाको काख ।”सबैको लागि आमा ममताकी प्रतिक हुन् । आमा स्नेह,करुणा र ममताकी खानी हुन् । आमाले गर्ने सन्तानप्रतिको मायामा कुनै पनि प्रकारको शर्त हुँदैन । न त स्वार्थ नै । आमाले बच्चा जन्माउने मात्र होइनन् । उनले त आफ्ना बच्चाको लालनपालनको लागि पनि आफ्नो मुखको गास थुतेर खुवाएकी हुन्छिन् । आफू भुइँमा सुतेर आफ्ना सन्तालाई सुकुलमा सुताएकी हुन्छिन् । आमाको बच्चाप्रतिको त्यो मोह र दुःखलाई संसारबाट प्रदान गरिने कुनै पनि पुरस्कारासँग तुलना गर्न मिल्दैन । कुनै पनि धनदौलतसँग पनि तुलना गर्न मिल्दैन । कुनै एक जनाकी आमाको कुरा होइन ।संसारमै मेरा सन्तान सबैभन्दा राम्रा होऊन् । असल होऊन् । धेरै कमाउने होऊन् । धेरै रमाउने होऊन् । धेरै रमाउने पनि होऊन् । यस्तै भित्री अभिलाषा आमाको हुन्छ । आफ्ना सन्तानलाई दश महिना कोखमा राखेर दश धारा स्तनपान गराउने आमाको ऋण कहिल्यै पनि कसैले तिर्न सक्दैन ।त्यसैले होला भन्ने गरेको सुनिन्छ “बाबु नभए अर्ध असहाय आमा नभए पूरै असहाय ।”
आमाको स्मरण गर्न र आफ्नी आमालाई श्रद्धाभाव प्रकट गर्न पौराणिक कालदेखि नैप्रत्येक वर्ष वैशाख कृष्णऔँसीको दिन आमाको मुख हेर्ने दिनको रूपमा यो पर्व मनाइन्छ । संसारकै सबैभन्दा अमूल्य चिज आमालाई सम्मानगर्ने दिनको रूपमा यो दिन मनाइन्छ । कतै मदर डे त कतै माता कि दिनको नामले यो पर्व मनाइन्छ । नेपालमा भने आमाको मुख हेर्ने दिनको रूपमा यो पर्व मनाउने गरिएको छ ।
आमालाई सम्झिने र प्रेमभाव व्यक्त गर्ने विभिन्न तरिकाहरू रहेका छन् । सापेक्षित रूपमा यसको मनाउने शैली फरक–फरक रहेको देखिन्छ । हाम्रो देश नेपालको सन्दर्भमा आमासँगै हुनेले आमाको पाउचरणमा परेर । आमालाई उपहार दिएर । मिष्ठान्न भोजन गराएर । आशीर्वाद लिएर एक प्रकारले मनाउने गर्छन् भने आमाबाट टाढा हुनेले सामाजिक सञ्जाल, फोन आदिबाट सम्झेर । कुरा गरेर र दुःख–सुख साटेरअर्को किसिमले मनाउने गर्दछन् । सँगै भएकाहरूलेजीवित आमालाई मिठो खान,लाउन दिएर सम्मान गर्छन् । आमाको दिवंगत भएकाहरूले आमाको सम्झनामा तर्पण, पिण्ड, दान र श्राद्ध गरेर आफ्नी जन्मकर्तालाई स्मरण गर्ने गर्दछन् । काठमाडौँ उपत्यकामा बाक्लो बस्ती भएका नेवारहरूले भने भक्तपुरको हनुमान ढोका पुगी श्राद्ध तर्पण गरी आमाको सम्झना गर्ने रहेछन् । यसरी श्रद्धा व्यक्त गरेमा पुण्य प्राप्त गर्ने र दिवंगत आत्माले मोक्ष प्राप्त गर्ने कुरा धार्मिक शास्त्रमा उल्लेख भएका हामीले सुन्ने गरेका छौँ । शास्त्रमा आमाको महत्वको बारेमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनेर उल्लेख गरेको छ । “मातृदेवो भवः” भनेर सबैभन्दा पहिले भनिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । त्यस पछिमात्र “पिर्तदेवो भवः, आचार्यदेवो भवः” भन्ने श्लोक मर्यादाक्रमले पनि आमाको महत्वलाई राम्रैसँग बुझाएको छ । संसारको पहिलो अमूल्य साइनो पनि आमा नै हो भन्ने कुरा त्यसले झल्काउँछ । यसै गरी संस्कृत श्लोक“कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” ले जन्म दिने जननी सधैँ निर्दोष हुने कुरा उल्लेख गरेको छ । अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुदैनन् भन्ने भनाइ रहेको छ ।
आमाको पारिवारिक महत्व छ । सामाजिक र परम्परागत महत्व छ । त्यति नै मनोवैज्ञानिक रूपमा पनि मूल्य रहेको छ ।अर्को कुरा बच्चा आमाजति नजिक त अरू हुँदैन । ठुलाको लागि पनि आमा असाध्यै नजिकको नाता हो । विवाहित छोरीले पनि आफ्ना मनका सबै कुरा आफ्नी आमालाई मात्र बताउने गरेकी हुन्छिन् । घरमा आफ्ना परिवारका सदस्य वा श्रीमानले हेपेका कुराहरू खुलस्त रूपमाा भन्न सक्ने भनेकै आमासँग हो । त्यसैले कसैको लागि पनि आमा जति मनोवैज्ञानिक रूपमा सुरक्षित नाता अरू केही हुँदैन ।
पूर्वीय दर्शनले आमालाई सम्मान गर्न सिकाएको छ । पूर्वीय धर्मले पनि सोही सिकाएको छ । भगवान् गणेशले आमा र बुबालाई समान महत्व दिएका थिए । पहिले संसार जसले घुमेर आउँछ त्यो नै पहिलो उत्तराधिकारी भन्ने विवादको बेला गणेशले गरेको निर्णय फरक थियो । कुमार मयुरमा चढेर संसार घुम्न जाँदा आफ्नो बाहन मुसो भएका गणेश आफ्नै मातापिता शिव र पार्वतीको वरिपरि घुम्नुले र किन तिमी आमाबुवा वरिपरि घुमेको भन्ने प्रश्नको जवाफमा गणेशले संसारको मेरो लागि ठुलो नै आमाबुबा नै भन्ने जवाफ दिनुले पनि विगतको श्रद्धा यहाँ प्रकट हुन्छ । अर्का एकजना शास्त्रीय पात्र श्रवणकुमारले पनि दृष्टिविहीन आमाबाबुको सेवा गरेका थिए । त्यसैले नेपालमा आमामात्र होइन आफ्ना पिताको स्मरण गर्ने दिन पनि छ । भदौ कृष्ण औँसीको दिन बुबाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । गोकर्णेश्वरलाई पितृतीर्थको रूपमा मनाइन्छ । यहाँ श्राद्ध गरेमा घरका र मामाघरका सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यता समेत रहेको छ । यसको थप चर्चा त समय मिलेमा त्यतिखेर गरौँला ।“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने संस्कृतको श्लोकले पनि आमा र मातृभूमिको महत्वलाई कम मान्दैन । साँच्चिकै आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ वा जन्मभूमि जोकोहीको लागि पनि स्वर्गभन्दाप्यारा हुन्छन् ।
नेपालको संघीय राजधानी रहेको काठमाडौँ जिल्लाको थानकोट नजिकै रहेको मातातीर्थको उत्पत्तिका बारेमा एउटा प्रचलित कथा रहेको रहेछ । एकपटक म काठमाडौँमा गएको बेला त्यहाँका एक पाका नेवारले एक प्रसङ्गमा यसको बारेमा दन्त्यरूपमा बताएका थिए ।“धेरै वर्ष पहिले मातातीर्थमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालोले चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो र उसले पटक–पटक रोटीको टुक्रा चौरमा फालिरहँदा त्यो हराइरहयो । त्यो गोठालो आमा नभएको थियोविचारा । तर त्याहाँ पनि अरू धेरै गोठालाहरू थिए जसमध्ये जुन गोठालाका आमा थिएनन् उनीहरूले फालेको रोटीको टुक्रामात्र हरायो तर जसका आमा जीवित थिए उनीहरूले फालेका रोटीका टुक्राहरू भने हराएनन् । यस दिन वैशाख कृष्ण औँसीको दिन थियो । फेरि विचार गर्न अर्को दिन रोटीका टुक्रा त्यही ठाउँमा फाल्दा कत्ति पनि हराएनन् । अनि के विश्वास गरियो भने यस दिन वैशाख कृष्ण औँसीको दिन मृत आमाहरू यहाँ आफ्ना सन्तानबाट केही खानेकुरा ग्रहण गर्न चाहन्छन् र आफ्ना सन्तानको अवस्था थाहा पाउन चाहन्छन् र आउँछन् भन्ने जनविश्वास रहेर काठमाडौँको थानकोट नजिक रहेको मातातीर्थमा कुण्ड बनाइ आमाको पूजा गर्न थाले । पछि नाम मातातीर्थ राखेका हुन् भन्ने कुरा छ । आमा नहुनेले पनि यस ठाउँमा गएर मीठा–मीठा खानेकुरा लगेर चढाउने,पूजा गर्ने र सके प्रत्येक वर्ष नसके जीवनमा एक पटक त्यही ठाउँमा गएर श्राद्ध गर्ने पनि चलन रहेछ । सिदाउठाएर लगेर दान गर्ने पनि गर्ने रहेछन् । यसै दिन प्रत्येक वर्ष थानकोट नजिक रहेको मातातीर्थमा मेला लाग्ने गर्दछ” भन्ने उनको भनाइ रहेको थियो ।
नेपालमा विगतमा भएको द्वन्द्ववको कारण धेरै आमाहरू नै अकालमै दिवंगत भए । धेरै आमाका काखहरू रित्तिए । धेरै आमाहरूले आफ्ना प्यारा सन्तान पनि गुमाए । धेरै आमाले आफ्ना सन्तानलाई वेपत्ता पार्दा पनि सहनु प¥यो । नेपालमा यो तीतो इतिहास पनि छ ।तर म भने आफूलाई धेरै भाग्यमानी सम्झन्छु । करिब १९ वर्षजति पढाइ र जागिरको शिलशिलामा घरबाहिर बसेँ । अहिले यो विश्वव्यापी महामारी र लकडाउनमा आमासँग भेट्ने अवसर पाइरहेको छु । विगतमा एक दिन प्रशिक्षक नरबहादुर कार्कीको प्रशिक्षणमा आमाको महत्वलाई सम्झिएको याद छ । त्याहाँ धेरै मित्रहरू त आमाको बारेमा कुरा गर्दा रोएको पनि सम्झन्छु । वास्तवमा यो करुणावतारकै कारण यसो भएको हुन सक्छ ।
आज पनि बेरोजगारका कारण धेरै आमाहरू आफ्ना प्यारा सन्तान नेपालमै छोडेर विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाइरहेका छन् भने यता नेपालमा धेरै आमाहरू घरमा वृद्ध अवस्थामा पानी पनि दिने मानिस नभएर छट्पटाइरहेका छन् । कतिपय आमाहरू आधुनिकताको प्रभावले आफ्ना प्यारा छोराछोरीहरू विदेशमा भएका र आमाबाबुहरू वृद्धावस्थामा वृद्धाश्रममा रहेका र छोराछोरीहरू विदेशमा आमाको न्यानो मायाको तड्पाइमा रहेको वर्तमान सन्दर्भ छ ।
उपसंहार
अबका दिनहरूमा कुनै किसिमका मनोमालिन्य र अशान्ति हुने छैनन् । सबैको एउटै लक्ष्य हुनेछ; सबै नेपालीहरूकी आमा र नेपाल आमालाई खुसी बनाउने । आफ्नी आमा र नेपाली आमाको गरिमा र श्रद्धालाई जोगाइरहने अवस्थाको सिर्जना हुनेछ । म पनि यो वर्ष आमासँगै बसेर यो दिनलाई मनाइरहेको छु । यस्तो दिन सबै नेपालीहरूमा आओस् भन्ने लाग्छ । यी दिनमा नेपाली आमाहरूका कष्टपूर्ण र अविस्मरणीय दिनहरूको सम्झना गर्नै पर्ने हुन्छ । नेपाली धर्तिमा गौतम बुद्ध जन्माउने आमा मायादेवी, राणाविरुद्ध लड्ने योगमाया, अङ्ग्रेजविरुद्ध लड्ने राजेन्द्रलक्ष्मी, पञ्चायतविरुद्ध लड्ने आमाहरू, संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लड्ने र बलिदानी गर्ने आमाहरू र विकासको लागि लड्ने कैयन आमाहरूलाई पनि नेपालीका सन्तान हामीले भुुल्नुहुँदैन । आगामी दिनमा पनि नेपाली आमाहरूले दिएको आशीर्वाद आफ्ना सबै सन्तानलाई पुग्नेछ । कुनै आमाहरू पनि वृद्धाश्रममा जान नपरोस् । मातातीर्थ औँसीको अवसरमा सबै नेपाली आमाहरूलाई हार्दिक शुभकामना ।
लेखकः अमरज्योति नमुना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् ।
प्रकाशित मितिः १० बैशाख २०७७, बुधबार २३:१९
ध्रुवकुमार अधिकारी ।