प्रदेश प्रहरी प्रमुख फेरिए, कर्णालीमा पन्त
सुर्खेत : सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । कर्णाली प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी बसन्तकुमार पन्तले सम्हाल्ने भएका छन् । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि उनलाई कर्णालीको प्रहरी प्रमुखमा पदस्थापना गरिएको हो । पन्त यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् । गृह मन्त्रालयले चैत २८ गते दश जना एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा गरिएकामध्ये सात जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।
जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।
हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् । डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।
प्रकाशित मितिः ९ बैशाख २०७७, मंगलवार ११:१८
साझा बिसौनी ।