बेखर्ची हुनुभयो ? १०१ मा फोन गर्नुहोस्

सुर्खेत : तपाईं वीरेन्द्रनगरमा हुनुहुन्छ ? लकडाउनका कारण बेखर्ची हुनुभएको छ ? खाद्यान्नलगायतका अत्यावश्यक सामग्री नपाएर गुजरा चलाउन गाह्रो भएको छ ? यदी यस्तो समस्यामा पर्नुभएको छ भने वीरेन्द्रनगर नगरपालिका आपत्तकालीन केन्द्रको टोल फ्री नम्बर १०१ मा फोन गर्नुहोस् । नगरपालिकाले यस्ता परिवार र व्यक्तिका लागि दोस्रो चरणको राहत वितरण गर्दैछ ।

लकडाउनबाट प्रभावित, अतिविपन्न, मजदुर र बेखर्चीका लागि सोमवारबाट विशेष राहत वितरणको व्यवस्था मिलाइएको हो । त्यसका लागि नगरको आपत्तकालीन नम्बरमा फोन गरेर नाम टिपाउनु पर्नेछ । आवश्यकता अनुसार राहत वितरण गर्न निश्चित मापदण्ड बनाइएको छ । राहतका लागि नाम टिपाएका व्यक्तिको वडा कार्यालयको समन्वयमा घरदैलोमा पुगेर लगत संकलन गरिनेछ । जसका लागि सम्बन्धित वडा सचिवसहित नगरले ६ जना कर्मचारीको टोलि खटाएको छ । उक्त टोलिले सिफारिस गरेपछि राहत पाउनुपर्ने व्यक्तिले नगरपालिकाको कार्यालयमा सम्पर्क गरी राहत सामग्री लिन पाउने छन् । नगरले पहिलो चरणमा वडा कार्यालयमार्फत १५ हजार दुई सय परिवारलाई राहत वितरण गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दिपेन सुवेदीले जानकारी दिए ।

यस्तै वीरेन्द्रनगरमा बेखर्ची भएका एक सय तीन जना विद्यार्थीलाई घरबेटीको सिफारिसमा राहत उपलब्ध गराइएको छ । राहतका लागि पहिलो चरणमा भएको खर्चको यकिन विवरण भने आइनसकेको सुवेदीले बताए । नगरपालिकाले लकडाउनको समयमा अन्य स्थानबाट वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिका लागि आश्रयस्थल र पूर्व सावधानी गृह आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगरमा अलपत्र परेका बाहिरका व्यक्ति तथा अन्यत्र अलपत्र परेका वीरेन्द्रनगरका नागरिकलाई पनि सम्बन्धित स्थानीय तहको समन्वयमा राहत वितरण र उद्दार गरिने भएकाले त्यस्ता व्यक्तिहरुले खबर गर्न नगरपालिकाले अपिल गरेको छ ।