वीरेन्द्रनगरमा पूर्व-सावधानी गृह स्थापना
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पूर्व सावधानी गृह निर्माण गरेको छ । लकडाउनकाे समयमा पनि बाहिरबाट आउने मानिसहरुको भिड कम नभएपछि नगरले सावधानी गृह निर्माण गरेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगर-८ को बालमन्दिर विद्यालयमा ३५ बेड क्षमताको सावधानी गृह निर्माण गरिएको हो । नगरका र लकडाउनकाे कारण घर जान नपाएका नागरिकलाई खाने र बस्ने व्यवस्थासहित गृह निर्माण गरिएको उनले बताए । हिजो आइतवार गृहको निर्माण गरि जुम्लाका ८ जनालाई खाने बस्ने व्यवस्था गरि घर पठाइएको र बबईमा अलपत्र परेका ११ जना मध्ये पन्चपुरी नगरपालिका सुर्खेतका ४ जनालाई घर पठाइएको पौडेलले जानकारी दिए । बाँकी ७ जना गृहमा नै बस्दै आएको उनले जनाए ।
वीरेन्द्रनगर नगरपालिकाकी उप-प्रमुख मोहनमाया ढकालले हालसम्म नगरले १५ हजार घरपरिवारलाई राहत वितरण गरेको समेत जानकारी दिईन । उनले नगरमा आएर कुनैपनी नागरिक अलपत्र नपरुन भनेर पूर्व सावधानी गृह स्थापना गरेको बताईन । बाहिरबाट आउने नागरिक क्वारेन्टाइन अवधी बिताएर आय पनि बाटोमा आउँदा हुने जोखिमलाई समेत नियन्त्रण गर्न पुर्व सावधानी गृहले सहयोग पुग्ने उपप्रमुख ढकालले बताईन ।
प्रकाशित मितिः ८ बैशाख २०७७, सोमबार १५:३८
साझा बिसौनी ।