सुर्खेत उपत्यकामा अत्यावश्यक पसल तीन दिन मात्रै खुल्ने

सुर्खेत : सुर्खेत उपत्यकामा अबदेखि अत्यावश्यक पसलहरु हप्तामा तीन दिन मात्र खुल्ने भएका छन् । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति सुर्खेतले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न खाद्यान्न तथा किराना सामग्री, तरकारी र दुग्धजन्य पदार्थ सोमबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र ढुवानी र बिक्रि वितरण गर्न पाइने निर्णय गरेको हो ।

यसअघि दैनिक बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म चार घण्टा पसल खुल्ने गरेका थिए । दैनिक पसल खोल्दा भिडभाड बढी हुने भएकाले हप्तामा तीन दिन मात्र खोल्ने निर्णय भएको हो । यसको सहजिकरण गर्नका लागि सुर्खेत उद्योग वाणिज्य संघलाई जिम्मा दिइएको छ ।

यस्तै औषधि पसल र नीजि अस्पतालहरु भने प्रत्येक दिन खुला रहने जनाइएको छ । बिरामी एम्बुलेन्समा बिरामी अस्पताल ल्याउँदा एक जना मात्र कुरुवा राखि आवतजावत गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।