विपदमा नागरिक, के गर्दैछन् स्थानीय सरकार ?

सुर्खेत : सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन देश लकडाउन गरेको छ । आज नेपाल बन्दाबन्दी भएको २५ दिन पुगिसक्यो । यसअवधिमा देशभित्रकै अन्य जिल्ला र भारतलगायतका तेस्रो मुलकमा रोजगारीका लागि गएका नागरिकहरु घर फर्किन सयौं किलोमिटर पैदल यात्रामा निस्किएका छन् । कतिपय नागरिक सीमा नाकामा, कोही बीच बाटोमै अलपत्र छन् भने कतिपय जहाँ छन् त्यहीँ भोको पेट कोरोना त्राससँग जुधिरहेका छन् । नागरिकले आफ्नो घर फर्कन कष्टपूर्ण यात्रा गरिरहँदा सरकारले भने उद्धार र राहतको उचित प्रबन्ध गर्न सकिरहेको छैन । जसका कारण संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारप्रति नागरिकका गुनासा र आक्रोश बढेका छन् ।

संघीय सरकारको नीतिका कारण नागरिकहरु अलपत्र परेको भन्दै स्थानीय तहले आफ्ना नागरिक उद्धार गर्न पाउनुपर्ने बताएका छन् । त्यसका लागि स्थानीय तहलाई अधिकार दिनुपर्ने उनीहरुको भनाइ छ ।

जो–जहाँ छ त्यहीँ बस्नुपर्ने सरकारको निर्देशनका बाबजुद् पनि कतिपय स्थानीय तहले भने सवारी साधन पठाएर बाटोमा अलपत्र नागरिकको उद्धार गरिरहेका छन् । यहाँका अधिकांश गाउँपालिका तथा नगरपालिकाले आफ्ना नागरिकको उद्धारपछि क्वारेन्टाइन राख्ने, अतिविपन्न र मजदुरी गरी जिविकोपार्जन गर्नेहरुलाई खाद्यान्नलगायतका राहत सामग्रीको व्यवस्था गरेर आपतमा गुन लगाएका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले लकडाउनको अवधिमा ३७ जनाको उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । पाल्पा, सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा ज्यालामजदुरी गर्न गएका नगरका बासीन्दालाई उद्धार गरी नगरको क्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । भेरीगंगामा अलपत्र परेका बाहिरका नागरिकलाई सम्बन्धीत जिल्ला र पालिकामा पठाउने काम पनि गरिएको उनले बताइन् । ‘हामीले आफ्ना नागरिकलाई मात्रै उद्धार गरेर ल्याएका छैनौं यहाँ अलपत्र परेका अन्यत्रका नागरिकलाई पनि पठाउने गरेका छौं,’ उपप्रमुख आचार्यले भनिन् । उनका अनुसार नगरपालिकाले शुक्रवार मात्रै जुम्ला, मुगु ,जाजरकोट लगायतका जिल्लाका ७५ जनालाई सवारी साधनको व्यवस्था गरी सम्बन्धीत जिल्ला पठाएको छ । ‘बाटोमा अलपत्र परेकालाई उद्धार गरी पठाएका हौं,’ उनले भनिन् ‘उहाँहरुलाई सम्बन्धीत ठाउँ पुगेपछि जिल्ला र स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्न र चेकचाँजपछि मात्रै घर जान भनेका छौं ।’

कर्णालीका एक सय ३२ जना नागरिक अहिले पनि प्रदेशको सीमा नाका बबईमा भोकभोकै अलपत्र अवस्थामा भएपनि प्रदेश सरकारले उद्धारका लागि कुनै पहल नगरेको उप्रमुख आचार्यले बताइन् । सरकारको नीतिका कारण आफूहरुलाई उद्धारको अधिकार नभएपनि परिस्थिति हेरर नगरपालिकाले सक्दो सहयोग गर्ने गरेको उनको भनाइ छ ।

यस्तै, गुर्भाकोट नगरपालिकाले नगरका ४६ जना नागरिकलाई नगरको सिमाक्षेत्र जाजरकोट र बबईबाट उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । नगर प्रमुख हस्त पुनले पैदल हिँडेर आएका नागरिकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको जानकारी दिए । नगरका थुप्रै नागरिक बाटोमा अलपत्र परेको भएपनि सरकारले सवारी साधन तथा हिँड्डुलमा रोक लगाएका कारण उद्धार गर्न नसकिएको उनले बताए । नागरिकले भोकै पैदल हिंडेका छौं भन्दा पनि जनप्रतिनिधिको हैसियतले केहि गर्न नसक्दा आफूलाई दुःख लागेको नगर प्रमुख पुनले बताए । यस्तो जटिल अवस्थामा देशभर अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्ने उनको भनाइ छ ।

पञ्चपुरी नगरपालिका सुर्खेतले हालसम्म ३५ जनालाई बैतडीबाट उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । नगर प्रमुख उपेन्द्र थापाले नगरले आफ्नो क्षेत्रमा अलपत्र परेका जाजरकोटका १० जनालाई समेत उद्धार गरिएको बताए । अध्ययन र रोजगारीका शिलशिलामा काठमाडौं रहेका नगरबासीले उद्धारा लागि पहल गरिदिन भने पनि प्रशासनले अनुमति नदिंदा समस्या भएको नगर प्रमुख थापाले बताए ।

यसैगरी, लेकवेशी नगरपालिकाले हालसम्म १० जनालाई क्वारेन्टाइनमा राखेको नगरप्रमुख गगनसिंह सुनारले जानकारी दिए । उनका अनुसार रसुवा र धादिङबाट पैदल हिँडेर आएका नागरिकलाई चेकजाँच गरी क्वारेन्टाइनमा राखिएको हो । चौकुने गाउँपालिकाले दोलखा, झापा र मोरङबाट ३१ जनालाई सवारी साधनको व्यवस्था गरी उद्धार गरेको नगर उपप्रमुख निर्मला रानाले बताइन् । उनका अनुसार क्वारेन्टाइनको अवधि काटिसकेका पालिकाका २७ जना, पञ्चपुरी नगरपालिका र कैलालीका चार जनालाई उद्धार गरिएको हो । भारतमा रहेका नगरबासीले अनुरोध गरेपनि उद्धार गर्न नसकिएको उनले बताइन् ।

जिल्लाकै चिङ्गाड गाउँपालिकाले देशभित्रबाट घर फर्किएका ८८ जना र विदेशबाट आएका तीन जना होम क्वारेन्टाइनमा बसेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले बाहिरबाट गाउँपालिका आउनेहरु रातीको समयमा आउने गरेकाले सबैलाई क्वारेन्टाइनमा राख्न नसकिएको उनले बताए ।

सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र केसीले गाउँपालिकाले कसैलाई पनि उद्धार गर्नु नपरेको बताए । पालिकाका १२ जना भारतबाट नेपाल आउँदै गर्दा कोहलपुरबाट फिर्ता गरी रुपैडियाको क्वारेन्टाइनमा राखिएको जानकारी दिए । गाउँपालिकामा २८ बेडको क्वारेन्टाइन निर्माण भएपनि खाली रहेको अध्यक्ष केसीले बताए ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले हालसम्म कुनै पनि नागरिकलाई उद्धार नगरेको जानकारी दिए । उनले लकडाउन भएपछि दुई सय नागरिक भारत तथा तेस्रो मुलुकबाट आएको र ती सबै होम क्वारेन्टाइनमा बसिरहेको बताए । ‘हामीहरुले जो जहाँ छ त्यहीँ खाने र बस्ने व्यवस्था गरेका छौं,’ उनले भने ‘त्यसका लागि हाम्रो गाउँपालिकाका नागरिक रहेको स्थानका जनप्रतिनिधिसँग समन्वय भइरहेको छ ।’ यस्तो अवस्थामा सम्बन्धीत स्थानमा नै सुरक्षित बस्नु उपयुक्त हुने उनको भनाइ छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाले लकडाउको अवधिमा अलपत्र एक जना नगरबासीलाई पनि उद्धार गरेको छैन । नगरका अतिविपन्न परिवारलाई राहत वितरण गरिरहेको वीरेन्द्रनगरले उद्धारका लागि कतैबाट अनुरोध नआएको जनाएको छ । ६० बेडको क्वारेन्टाइन बनाइएको भएपनि क्वारेन्टाइन भने खाली रहेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

प्रकाशित मितिः   ६ बैशाख २०७७, शनिबार १८:३६