विकासमा कोरोना प्रभाव : निर्माण कार्य ठप्प, आयोजना अलपत्र
सुर्खेत : एक महिनायता विकास निर्माणका काम ठप्प प्रायः छन् । चालु आर्थिक वर्ष २०७६/०७७ सकिन दुइ महिना मात्रै बाँकी छ । देश लकडाउन गरेर तीनै तहका सरकार कोरोना संक्रमण प्रतिकार्य, रोकथाम, नियन्त्रण र उपचारमा जुटेपछि विकास निर्माणलगायतका सबै काम प्रभावित भएका हुन् ।
लक्ष्यअनुसार विकास बजेट खर्च गर्न नसकिरहेको कर्णाली प्रदेश सरकारलाई अहिलेको परिस्थिति झनै प्रतिकूल भएको छ । प्रदेश सरकारले चालु वर्षको दोस्रो चौमासिकसम्म १० दशमलव ८९ प्रतिशत मात्र विकास बजेट खर्च गरेको छ । तेस्रो अर्थात अन्तिम चौमासिक सुरु भएदेखि नै कोरोना महामारीका कारण सबै काम प्रभावित भएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले संचालन गरेका विकास निर्माणका ठूला तथा साना योजनाहरुको काम अहिले बिचमै रोकिएका छन् । जसका कारण विकास निर्माणमा ठूलो असर पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माका अनुसार प्रदेश सरकारले वीरेन्द्रनगर राजधानीमा सुरु गरेको प्रदेश राजधानी सहरी सडक योजना, तेलपानी–भूरीगाउँ सडक, दशरथपुर–डाँडागाउँ–जारकोट जोड्ने सहिद मार्ग, जनता सडक, वीरेन्द्रनगरकोे चक्रपथ निर्माण लगायत थुप्रै काम अहिले ठप्प छ ।
प्रदेश राजधानी सहरी सडक योजनाका लागि २१ करोड, तेलपानी–भूरीगाउँ सडक २० करोड, दशरथपुर डाँडागाउँ जारकोट जोड्ने सहिद मार्गका लागि २० करोेड र जनता सडक कार्यक्रमका लागि एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चालु वर्षमा भौतिक पूर्वाधारका कामको प्रगति करिब १५ प्रतिशत मात्रै भएको छ । कोरोना भाइरसका कारण कर्णालीको विकासमा दीर्घकालीन असर पर्ने देखिएको छ ।
निर्माणाधिन आयोजना यो वर्ष सम्पन्न गर्न सक्ने अवस्था नभएकाले अर्को वर्षमा क्रमागत रुपमा जाने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । जसले गर्दा आगामी वर्षमा पनि बजेटको आकार घटेर आउनेछ । ‘अहिले प्रदेशका ठूला साना सबै आयोजनाको काम ठप्प छ । अर्को वर्षमा निरन्तरता दिन्छौँ । राजश्व पनि कम उठ्ने देखिएकाले आगामी वर्षको बजेट निर्माणमा अवश्यै असर पर्छ,’ भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता शर्माले भने ।
यद्यपि पछिल्लो पटक भने कर्णाली सरकारले मेसिनबाट हुने कामलाई लकडाउनको समयमा पनि सञ्चालन गर्ने गरी तयारी थालेको छ । यस्ता आयोजनाहरुको काम भने व्यवस्थित गरेर सुरु गरिने उनले बताए ।
स्थानीय तहमा पनि कोेरोना प्रतिकार्यका गतिविधि बाहेक अन्य विकास निर्माणका कामहरु हुन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले अहिले विकास निर्माणका सबै काम ठप्प भएको बताइन् । उनले नगरपालिकामा सडक स्तरोन्नती, नयाँ सडकको ट्रयाक खोल्नेलगायतका अन्य विकास निर्माणका योजनाको काम रोकिएको जानकारी दिइन् ।
यस्तै वीरेन्द्रनगरमा सिसिटिभि क्यामेरा जडानलगायतका कार्यक्रमको काम पनि रोकिएका छन् । नगरका ठूला आयोजनाका कामहरुमा मंगलगढीदेखि काँक्रेबिहार जोड्ने सडक, नगरपालिकाको कार्यालयदेखि घण्टाघर जोड्ने सडक स्तरोन्नतीका सबै काम अलपत्र छन् ।
कोरोनाको प्रभावले यतिबेला निर्माण व्यवसायी पनि मारमा परेका छन् । बिचमै काम अलपत्र छोड्दा बिल भुक्तानी राकिनेदेखि मेसिनरी र अन्य सामग्री बिग्रनेलगायतका समस्या भएको निर्माण व्यवसायीको भनाइ छ । निर्माण व्यवसायी संघ सुर्खेतका अध्यक्ष जनकबहादुर रावलले लकडाउनसँगै रोकिएपछि काम गर्ने क्षेत्रमा जान नसकिएको बताए । उनले निर्माण सम्पन्न भएका योजनाको पनि भुक्तानी नहुँदा समस्या परेको जनाए ।
प्रकाशित मितिः ६ बैशाख २०७७, शनिबार १३:३१
साझा बिसौनी ।