सिन्धुपाल्चोकबाट सुर्खेत फर्किदै मजदुर

सरकार सम्झिदैं, हिँड्दै : ‘पैतालाबाट खुन बगेको छ, घर कसरी पुग्ने होला ?’

‘सात दिन हिँडेर हामी बुटवल पुगेका छौँ, कसैले उद्धार गरिदिन्थे की भनिदिनुहोला’
सिन्धुपाल्चोकबाट फर्किदै गर्दा नवलपरासीको गैडाकोटमा चौतारोमूनि सुस्ताउँदै मजदुरहरु । तस्बिर सौजन्य : लेखराम सापकोटा

सुर्खेत : गुर्भाकोट नगरपालिका–५ सुर्खेतका भूपेन्द्र मगर गाउँमा रोजगारी नपाएपछि काम खोज्दै गत कार्तिकमा सिन्धुपाल्चोक पुगे । त्यहाँको सुनकोशी गाउँपालिकामा घर बनाउने ज्यामीको काममा लागे । २९ वर्षे उनीसँगै गुर्भाकोटका अरु २५ जना पनि मजदुरी गर्न सिन्धुपाल्चोक गएका थिए । काम राम्रै चल्दै थियो । कोरोना भाइरसको अलिअलि हल्ला सुनेका उनीहरुले मजदुरी गरिरहेकै थिए । चैत ११ गते देश लकडाउन भयो । गर्दै आएको ज्यालामजदुरीको काम रोकियो ।

उतै बसौं के खाने, घर फर्कै कसरी जाने । फसादमा परे । लकडाउन खुल्ने टुंगो नभएकाले उनीहरुसँग घर फर्कनुको विकल्प थिएन । घर फर्कने निधो गरे । तर फर्कने पो कसरी ? गाडी बन्द छन् । एक ठाउँबाट अर्को ठाउँ जान दिइएको छैन । उनीहरुलाई रोगको त्रासभन्दा पनि भोक र घर पुग्ने पीरले सताउन थाल्यो । ‘दुइ–चार दिन विचार ग¥यौं । लकडाउन खुलेन,’ भूपेन्द्रले शुक्रबार साझा बिसौनीसँगको टेलिफोन कुराकानीमा भने, ‘भएको खर्चपानी पनि सकियो । सल्लाह ग¥यौं अब हिँडेर भएपनि घर जाऊँ ।’

उनीहरुले सिन्धुपाल्चोकबाट सुर्खेतका लागि पैदल हिँड्ने आँट गर्नुअघि गुर्भाकोट नगरपालिका र कर्णाली प्रदेश सरकारका विभिन्न व्यक्ति र निकायलाई उद्धार गरिदिन अनुरोध गरेका थिए । तर कहिँकतैबाट सुनुवाई भएन । ‘गाडी पठाउलान् की भनेर बारम्बार स्थानीय नेता र नगरपालिकामा फोन गरियो । प्रदेश सरकार त परकै भइगो । आफ्नै आँगनको सरकारले पनि चिनेन । केही गर्न सकिँदैन भने । हाम्रो सास्ती सम्झेनन्,’ भूपेन्द्रले सुनाए ।

भूपेन्द्रसहित गुर्भाकोटकै अरु ६ जना र सल्यानका एक गरी सात जना सात दिन हिँडेर शुक्रबार साँझ बुटवल आइपुगेका छन् । ‘हामी बुटवल पुगेका छौं । रातदिन तातो सडकमा हिँड्दा पैतलाबाट खुन बगेको छ । ओठमुख सुकेका छन्,’ उनले भने, ‘कसैले गाडी पठाइदिन्थे की भनिदिनुहोला ।’

उनका अनुसार गुर्भाकोटकै अरु २५-३० जना सिन्धुपाल्चोकबाट भोली पैदल हिँडेरै गुर्भाकोट फर्किन लागेका छन् । बालबच्चासहितका परिवार भएकाले उनीहरुलाई पैदल आउन थप कष्ट हुने उनले बताए । नगरपालिकाले आउने व्यवस्था गर्छकी भन्ने आशले तीन हप्तादेखि उतै बसेका उनीहरु खाने खर्च र उद्धार गर्ने कोही नभेटेपछि त्यहाँबाट हिँड्न लागेका हुन् ।

यता, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बाहिरबाट नगरमा फर्कने नागरिकको उद्धार गर्ने मन हुँदाहुँदै सरकारको नीतिका कारण गर्न नसकिएको दाबी गरे । ‘अलपत्र परेका खबर आइरहेका छन् । केन्द्र सरकारले नै जो–जहाँ हो त्यहीँ बस्नुपर्ने भनेको छ,’ नगर प्रमुख पुन भन्छन्, ‘हामीले चाहेर पनि उद्धार गर्न सक्ने अवस्था छैन ।’ नगरपालिकाको सीमासम्म आइपुगेका नागरिकलाई भने उद्धार गरेर ल्याउने तथा क्वारेन्टाइनमा राख्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मितिः   ५ बैशाख २०७७, शुक्रबार २१:०९