कर्णालीका तीन जनामा कोरोना पोजेटिभ, पुन: परीक्षण गरिने
सुर्खेत : कर्णाली प्रदेशका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनमा परीक्षणको क्रममा रुकुम पश्चिमका दुई जना व्यक्तिमा रिपोर्ट पोजिटिभ आएको हो।
पुनः परीक्षणका लागि उनीहरूको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ।
उनीहरुको स्वाब संकलन गरेर २८ चैतमा सुर्खेतबाट कैलाली पठाइएको थियो। सुर्खेतमा पीसीआर मेसिन नभएकाले आरडीटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएइको हो । जसमध्ये दुई जनाको रिपोर्ट पोजिटिभ आएको हो । ‘धनगढीमा परीक्षण गर्दा पोजिटिभ आएपछि ‘रिटेस्ट’का लागि काठमाडौं पठाइएको छ’, कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले भने ।
यसैगरी मुगुका एक जनामा पनि र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत ल्याउने तयारी गरिएको छ ।
पोजेटिभ देखिएका तीनै जना हालै भारतबाट फर्किएका व्यक्ति हुन् ।
प्रकाशित मितिः ४ बैशाख २०७७, बिहीबार १९:०४
साझा बिसौनी ।