एमयू र ओइआरयूबीच सहकार्यका लागि सम्झौता

 

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय(एमयू) र अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटी(ओइआरयू)बीच आपसी सहकार्यका लागि सम्झौता भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति  प्रा. डा. नन्दबहादुर सिंह र (ओइआरयू)को तर्फबाट वेनी म्याकिन्टसबीच सम्झौता भएको हो । 

ओइआरयू संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको युनेस्कोको एक महत्वपूर्ण परियोजना हो, जसलाई ओइआर फाउण्डेशनले संचालन गरिरहेको छ । विश्वभरिका ४१ वटा विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्था यसका साझेदार छन् भने एसियामा १३ र नेपालमा नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमान्चल विश्वविद्यालय यसका साझेदार बनेका हुन् । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको निर्देशन अनुसार विश्वविद्यालयमा कार्यरत उप-प्राध्यापक पन्चदेव भट्टले फोकल पर्सनका रुपमा सहजीकरण गरेका हुन् ।

यस्तै विश्वविद्यालयले अर्को अग्रिणी संस्था टर्निटेनसँग सम्झौता गरेर अत्यन्तै उपयोगी अनलाइन शिक्षण प्रविधि भित्र्याएको छ । जस अन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु रहेका छन् । 

उप-प्राध्यापक भट्टले मध्यपश्चिमान्चल विश्वविद्यालय, समग्र कर्णाली प्रदेश र नेपालकै लागि शैक्षिक क्षेत्रमा यो एउटा परिवर्तनकारी सम्झौता भएको बताए । यी प्रणालीहरु मार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनमा मात्रै नभई भविष्यमा  अनलाईनका माध्यमबाट विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सामग्री तथा अनुसन्धान सोधपत्र आम नागरिक, विद्यार्थी वा जो सुकैलाई संसार भरिमा उपलब्ध हुने उनले जनाए  ।

केहि दिनभित्रै सम्बन्धित सबैलाई यसबारे तालिम प्रदान गरि संचालनमा ल्याईने पनि जनाइएको छ । योसँगै सम्पूर्ण विश्वविद्यालयलाई केही वर्ष भित्रमा इ-युनिभर्सिटी अर्थात प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्ने योजना अनुरुप अगाडी बढिरहेको उपकुलपति सिंहले जानकारी दिए ।  ‘विभिन्न चुनौतीहरु जस्तै विकट भागौलिक अवस्था, संचार तथा विधुतको पर्याप्त पहुँच अभावका बावजुत विश्वविद्यालय र यो क्षेत्रको समग्र शैक्षिक स्तर उकास्नका लागि आवश्यक समन्वय तथा प्रविधीको क्षेत्रमा प्रयासरत छौँ’ उनले थपे ।

प्रकाशित मितिः   ४ बैशाख २०७७, बिहीबार १९:३३