अत्यावश्यक पसल दिनमा एकपटक मात्रै खुल्ने

सुर्खेत : सुर्खेतमा अत्यावश्यक वस्तुका पसल दिउँसो ११ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने भएको छ । खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान ७ देखि ९ बजे र दिउँसो १ देखि ३ बजेसम्म खुल्दै आएकोमा भोली (शुक्रबार) देखि भने दिउँसो एकपटक मात्र पसल खुल्ला रहने स्थानीय प्रशासनले जनाएको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले उद्योग वाणिज्य संघ सुर्खेतसँग गरेको छलफलपछि यस्तो निर्णय गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । यसअघि अत्यावश्यक वस्तुको किनबेचका लागि पसल बिहान र बेलुका खोल्न दिँदा अत्याधिक भिडभाड बढेको भन्दै त्यसलाई रोक्न समय परिवर्तन गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीवार गरेको निर्देशन पछि उद्योग वाणिज्य संघ सुर्खेतले दिनमा एकपटक मात्र अत्यावश्यक वस्तु खरिद बिक्री गर्न र उपभोक्ताबीच कम्तीमा तीन फिटको दुरी कायम गर्न व्यवसायीलाई आग्रह गरिएको महासचिव कँडेलले बताए ।

प्रकाशित मितिः   ४ बैशाख २०७७, बिहीबार १७:४५