प्रदेश राहत कोषमा निजी क्षेत्रबाट एक करोड ३४ लाख सहयोग

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश राहत कोषमा निजी क्षेत्रबाट एक करोड ३४ लाख बढी रकम जम्मा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार निजी क्षेत्रबाट एक करोड ३४ लाख ३० हजार आठसय ८६ रुपैयाँ जम्मा भएको हो । यस्तै आठ लाख बराबरको खाद्य सामग्री पनि संकलन भएको छ ।

प्रदेश सरकारले ५० करोडको राहत कोष स्थापना गर्ने घाषणा गरेको थियो । उक्त कोषमा निजी क्षेत्रबाट पनि सहयोग रकम जुट्दै गएको हो । मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले कोषमा जम्मा भएको रकम जिल्ला विपद् व्यवस्थापनका लागि ५० लाखका दरले प्रदेशका दशवटै जिल्लामा पठाइएको जानकारी दिए । स्थानीय तहमा वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाखका दरले रकम पठाइसकिएको उनले बताए ।

यस्तै कोषबाट कोरोना भाइरस संक्रमण भएका बिरामीहरुको उपचारका लागि भनेर तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा एक/एक करोड र रुकुमपश्चिमको सामुदायिक अस्पताल चौरजहारीमा ५० लाख रुपैयाँ दिइएको छ । रुकुमपश्चिममा १२ बेडको आइसोलेसन निर्माण गर्न लागिएको छ । कोषबाट वीरेन्द्रनगरको खुल्लामञ्चको व्यवस्थापनका लागि नेपाली सेनालाई दुई करोड रुपैयाँ उपलब्ध गराइएको छ । कोषबाट राहत, उद्धार, आइसोलेसन, क्वारेन्टाईन तयार, उपचारलगायतमा खर्च गरिने जनाइएको छ ।

हालसम्म कोषबाट २३ करोड १० लाख रुपैयाँ खर्च भएको छ । कोषको रकम कर्णाली प्रदेश विपद् व्यवस्थापन कोष सञ्चालन तथा खर्च कार्यविधि २०७६ अनुसार खर्च गरिँदैछ ।

उक्त कोषमा प्रदेश सरकारले सुरुमा दश करोड र त्यसपछि पुन: १३ करोड २० लाख रुपैयाँ जम्मा गरेको थियो ।