लकडाउन उल्लङ्घन गरे सुविधा कटौती हुने
जुम्ला : सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन जुम्लाका स्थानीय तहले विभिन्न उपाय अपनाउन थालेका छन् । जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ मा मूलबाटो नै बन्द गरिएको छ भने तिला–३ को त्रिवेणी पुलमा बार लगाइएको छ । लकडाउनको अवज्ञा हुन थालेपछि स्थानीय तहले आवतजावतमा रोक मात्रै लगाएका छैनन् गाउँपालिकाबाट पाउने सेवासुविधा समेत कटौती गर्ने निर्णय गरेका छन् ।
लकडाउनको अवज्ञा गरेको पाइएमा गाउँपालिकाबाट दिइने सबै सेवा सुविधा कटौति गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । विश्व कोरोनाबाट आक्रान्त भएको बेला स्थानीयले लकडाउनलाई हल्का रुपमा लिए पछि गाउँपालिका यस्तो कदम चाल्न बाध्य भएको उनको भनाइ छ । ‘बार लगाए पो बालि जोगिन्छ,’ अध्यक्ष न्यौपानेले भने, नागरिकहरु पटक्कै सचेत छैनन् । अटेर गरेर कोरोना दुत जस्तै गाउँमा घुमिरहन्छन् ।’
गाउँपालिकाले औपचारिक रुपमा सूचना जारी गरेर लकडाउन पालना गर्न सुचित गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार गाउँपालिकाको आठै वडामा भिडभाड हुने, समुहमा फुटबल, भलिबल जस्ता खेल खेल्ने, एक गाउँबाट अर्को गाउँ घुम्ने जस्ता लकडाउन विपरित क्रियाकलाप हुने गुनासा बढ्दै गएको छ । बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले लकडाउन अवज्ञा गर्नेलाई सामाजिक सुरक्षा भत्ता रोक्ने, विकास निर्माणका काममा प्रतिबन्ध गर्ने र वडा तथा गाउँपालिकाबाट दिइने सिफारिस समेत नदिने निर्णय गरेको हो ।
प्रकाशित मितिः ४ बैशाख २०७७, बिहीबार १६:५०
साझा बिसौनी ।