कोरोना कहरमा लत्याइएको शिक्षा क्षेत्र
गत डिसेम्बर २०१९ देखि चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरस अहिले विश्वभरी फैलिरहेको अवस्था छ । सबैभन्दा पहिले चीनमा असर पारेको थियो भने त्यसपछी युरोपका धेरै मुलुकमा (खासगरी इटलीमा) हुँदै अमेरीका र भारत समेतमा असर पारिसकेको छ । नेपाल जस्तो देशमा यसको असर परेको खण्डमा झनै समस्या ग्रस्त हुन्छ र यसले सजिलै थेग्न सक्दैन कि भन्ने डर र आशंकाले गर्दा २०७६ चैत्र ११ गते देखि हामी (लकडाउन)बन्दाबन्दीमा बसेको पनि तीन हप्ताभन्दा बढी भइसक्यो ।
सनसिटी अपार्टमेण्टमा देखिएको पछिल्लो कोरोना संक्रमितसहित हाल नेपालमा १६ जनामा संक्रमण देखिएकोमा एक जनाले निको भएर घर फर्किसकेका छन् । कोरोनाकै कारण माध्यमिक शिक्षा परीक्षा(एसईई), कक्षा ११ तथा १२ को परीक्षा पनि स्थगित भइसकेका छन् । त्यस्तै लोक सेवा आयोगका परीक्षाहरू पनि स्थगित नै भइसकेका छन् । अन्य विद्यार्थीहरूले आधा जति परीक्षा दिएर बसेका छन् । सामान्य अवस्थामा भए अबका दिनहरूमा विद्यालयीय तहको परीक्षाफल प्रकाशित हुने र भर्ना अभियान सञ्चालन हुने समय हो ।
यस वर्ष अर्थात २०७६ मा नेपालमा पाँच लाख १० हजार जति परिक्षार्थीहरूले एसईईको परीक्षाको तयारी गरिरहेका थिए । ति सबै गत २०७६ चैत्र ६ गतेदेखि परीक्षामा सहभागि हुँदै थिए र सोही अनुसार तयारीमा पनि थिए । विद्यालयहरूले पनि आफ्ना विद्यार्थीको लागि परीक्षा केन्द्र अनुसार तयारी अवस्थामा राखिसकेका थिए । कतिपय टाढाका विद्यार्थी आफ्नो परीक्षा केन्द्र नजिक गएर डेरा पनि लिइसकेको अवस्था थियो । परीक्षाको अन्तिम घडीमा स्थगित गर्नु प¥यो । यो अवस्था सरकारले रहरले गरेको पनि होइन । विश्वभरी फैलिरहेको महामारीका कारणले गर्दा हामी सबैको स्वास्थ्य अवस्थालाई सुरक्षित राख्न यसो गरिएको हो । यसलाई सबैले स्वागत नै गरियो ।
तर परीक्षा दिन तयारी गरेर आएका सबै जसो विद्यार्थी निरास भएर फर्कनु प¥यो । यसले परीक्षार्थीमा मनोवैज्ञानिक असर अवश्य नै परेको छ । लगातार लकडाउनपछि घरमा बसेका विद्यार्थीहरू यस समय उपयोग गर्ने र थप पढाइको लागि समय पाएकोमा पनि खुशी छैनन् । खासगरी एसईई तथा कक्षा ११ र १२ को परीक्षा दिने तयारी गरिरहेका तर घरमै लकडाउनमा बसेका विद्यार्थीहरूलाई पढाई कस्तो छ भनेर प्रश्न सोध्यो भने उनीहरूको जवाफ हुन्छ ‘पढ्ने मन छैन, पढेको पनि छैन’ आदि ।
विद्यार्थीको योजना
विद्यार्थी जीवन जीवनको एक महत्वपूर्ण अवस्था हो । यस माध्यमिक तहको अवस्थामा विद्यार्थीहरूले धेरै योजना बनाएका हुन्छन् । उनीहरूमा धेरै उत्सुकता र प्रश्नहरू हुन्छन् । कसरी आफ्नो करियर विकास गर्ने, कुन विषय पढ्ने, कहाँ पढ्ने वा कुन कलेज वा विश्वविद्यालय पढ्ने ? आदि आदि । वास्तवमा हो पनि । किनभने जीवनको यस घडीमा योजना बनाउन सकिएन भने जीवन कता लैजाने भन्ने पनि अन्यौल हुन्छ । योजना बनाउन विद्यालयहरूले पनि सिकाउनु पर्दछ र घरले पनि । हरेक विद्यार्थीले यस अवस्थामा योजना बनाएका हुन्छन् । त्यही योजना साकार बनाउन पनि परिक्षा महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा योजनामा ब्रेक लाग्यो भने पुरै जीवनको बाटो फरक पर्न सक्छ । वास्तवमा शिक्षा क्षेत्रको यति ठूलो सञ्जाल र संरचना बनेको अवस्थामा खासै असर त नपर्ला तर विद्यार्थीहरूलाई आस्वस्थ पार्न सरकारले अहिलेसम्म केही पनि गरेको छैन । जनताको स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, बाटोमा अलपत्र परेका यात्रुहरू चर्चामा आइरहेका छन् जुन कुरा आवश्यक हो । यस्तै परीक्षा स्थगित भएर घरमा बसेका विभिन्न तहका विद्यार्थीहरूका बारेमा न संघीय सरकार न प्रदेश र स्थानीय सरकार बोलेको छ । अच्चम लाग्छ , के विद्यार्थीहरू देशको भविष्य होइनन् ?
मनोवैज्ञानिक असर समाधान
कुनै पनि महत्वपूर्ण कार्यहरूको विशेष तिथि–मिति तोकिएको हुन्छ र उक्त मितिमा काम गर्ने भनेर व्यक्ति मानसिक रूपमा तयार भएको हुन्छ । कारणवश उक्त मितिमा हुने काम वा कार्यक्रम स्थगित भयो वा कार्यक्रम पछाडि स¥यो भने त्यो जति पीडा अरु केही हुन सक्दैन । यस्तै भयो यस वर्ष एसईई र प्लस–टू का विद्यार्थीहरूका लागि । एक वर्षको तयारी खेर गइरहेको जस्तो धेरै विद्यार्थी निराश भएको पाईएको छ । परीक्षा स्थगित भयो । अब परीक्षा हुन्छ कि हुँदैन र भयो भने कहिले हुन्छ ? मेरो तयारी नपुग्ने हो कि, अथवा मैले गरेको तयारी र प्रश्न–पत्र फरक पर्ने हो कि ? यो स्थगित भएको परीक्षा नै नहुने हो कि ? अथवा मेरो पढाईमा अब यत्तीकै ब्रेक पो लाग्ने हा कि ? भन्ने प्रश्नहरू विद्यार्थीमा उब्जिरहेको छ । अहिले विद्यार्थीमा एकोहोरो भएर टोलाउने, दिक्क मान्ने, मोबाइल, टि.भी.मा धेरै समय बिताउने, पुस्तक पढ्न झण्झट मान्ने, दिमाग एकत्रित बनाएर पढ्न नसक्ने जस्ता मनोबैज्ञानिक असरहरूलाई कम गर्नका लागि सरकारको समयमा नै ध्यान जान आवश्यक छ । यस्ता समस्याहरू पनि जटिल समस्याहरू नै हुन् । यसले अहिले तुरुन्त असर नपारे पनि कालान्तरमा ठुलो समस्या नल्याउला भन्न सकिंदैन । जसरी जीवन धान्न खानाको आवश्यकता पर्दछ, त्यसैगरी जीवन सफल बनाउन शिक्षाको पनि त्यत्तकिै आवश्यकता पर्दछ ।
स्थानीय तहको भूमिका के हुन सक्छ ?
यस अवस्थामा स्थानीय तह र सम्बन्धित विद्यालयहरूले कुनै नयाँ विधि अपनाएर ती विद्यार्थीहरूलाई शान्तवना दिने खालको क्रियाकलापहरू अपनाउन सक्नुपर्दछ । जस्तो स्थानीय एफ.एम. रेडियोबाट पढाई÷सिकाइका गतिविधीहरू सञ्चालन गर्न सकिन्छ भने मनोसामाजिक परामर्श दिन सकिन्छ । गाह्रो विषय मानिएका विषयहरू जस्तो ः गणित, विज्ञान र अंग्रेजी विषयहरूलाई हरेक दिन एक–दुई घण्टा यसको पढ्ने तरिका र केही अप्ठ्यारा प्रश्नहरूको समाधान सहितको रेडियो कार्यक्रमहरू प्रशारण गर्ने, मनोसामाजिक परामर्शको कार्यक्रमहरू पनि प्रसारण गर्ने र परीक्षाको विषय के भईरहेको छ ? परीक्षा हुने सम्भावित मितिहरू र महामारीको बेला विद्यार्थीहरूको भूमिका र बच्ने उपायहरू प्रसारण गरिदिन उपयुक्त हुन्छ । उनीहरूलाई हौसला प्रदान गरिरहनका लागि घरमा बाबु–आमाले र बुझेका अन्य परिवारका सदस्यहरूले उनीहरको योजना बिचलन हुन नसक्ने कुरा गरिरहनु पर्दछ । परीक्षा हुन्छ र तिमि आफ्नो गन्तव्यमा अवश्य पुग्छौ । प्राय महामारीहरूमा यस्तै हुन्छ भनेर सम्झाउनु उपयुक्त हुन्छ । र, सञ्चारमाध्ययम र सामाजिक सञ्जालहरूमा पनि परीक्षा र शिक्षाको विषयमा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास समन्वय समिति र पालिकाहरूले विश्वासिलो र भरपर्दो सूचनाहरू प्रवाह गरिनु पर्दछ । स्थानीय तहहरूले विद्यालयको भूमिका स्पष्ट पारिदिन सहयोग गर्नु पर्दछ । जसरी स्वास्थ्या निकायहरूका कर्मचारीहरू संक्रमितहरूसँगै काम गरिरहेका छन् त्यसरी नै विद्यालयका शिक्षकहरूले पनि विद्यार्थीहरू र अभिभावकहरूसँग कार्य गर्न सक्दछन् । स्वास्थ्य जति महत्वपूर्ण छ त्यत्तिकै शिक्षा पनि महत्वपूर्ण विषय हो भनेर शिक्षकहरूलाई पनि परिचालन गर्नु पर्दथ्यो । किनभने स्वास्थ जत्तीकै शिक्षा पनि महत्वपूर्ण तत्व हो ।
विद्यालयको भूमिका के हुन सक्छ ?
विद्यालयहरूले यो लकडाउनको अवस्थामा स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै लकडाउनको आचारसंहितालाई पालना गर्दै विद्यार्थीको घरदैलो भेटघाट गर्ने गर्नुपर्दथ्यो । विद्यार्थीको घर–घरमा गएर आवश्यक कोचिङ्ग–काउन्सेलिङ्ग गर्ने, यो अवस्थासँग नडराउने, पढाइ र अभ्यासलाई निरन्तरता दिने, घरबाहिर नजाने र घरमै बसेर आवश्यक रुटिन सहित पढाइलाई नियमितता दिने जस्ता पढाइका अत्यावश्यक तौरतरिकाहरू सिकाउने कार्य गरिदिएको भए राम्रो हुने थियो । जसरी स्वास्थ्यकर्मीलाई पीपीई, ग्लोब्स, मास्क र अन्य सेनिटाईजरको व्यवस्था गरिएको छ त्यसरी नै घरमै लकडाउनमा बसेका विद्यार्थीहरूलाई परामर्श दिने शिक्षकहरूलाई पनि सोहीबमोजिम व्यवस्था गरेर कोचिङ्ग काउन्सील गर्ने व्यवस्था गर्नुपर्दथ्यो ।
सरकारको भूमिका के हुनुपर्दथ्यो ?
हाल तेस्रोपटकसम्म लकडाउनको अवस्था थपिरहनु पर्दापनि सरकारले शिक्षा सुधार र यसमा असर नपर्ने र नपार्ने बिषयमा बोलेको पाईदैन वा पाईएन । ठिक छ यसले मानव जीवनमा पार्ने नकारात्मक र देशको आर्थिक विकासमा पर्ने असरहरूका बारेमा अर्थमन्त्री लगायत प्रधानमन्त्रीसम्मले सम्बोधन गरिरहनु भएको छ । यो प्रशंसनीय नै छ तर शिक्षामन्त्री ज्युले पनि एकपटक परीक्षा र नयाँ सेसनको सञ्चालनका विषयमा सम्बोधन गर्नुपर्ने थियो । सरकारले शिक्षा क्षेत्रलाई वास्तवमा लत्याएको नै हो । यसरी लत्याईएको क्षेत्रबाट हामीले कसरी गुणस्तरीय उत्पादन दिन वा लिन सक्छौं ?
शिक्षा क्षेत्र बिग्रिए देशमा जे–जति कुरा गरे पनि, जे–जति अन्य विकास गरिएपनि त्यसको कुनै औचित्य हुने छैन । दिगो हुने छैन । सरोकारवाला निकायले बेलैमा बुझ्न जरुरी छ ।
प्रकाशित मितिः ४ बैशाख २०७७, बिहीबार १६:४२
साझा बिसौनी ।