लकडाउन अवज्ञा गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

सुर्खेत : नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्नेसम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो ।

नोभल कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना दिने नीति लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दबन्दीको समयमा अनावश्यक सडकमा आवतजावत गर्ने, बाहाना गरेर सडकमा आउने र रमिता हेर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरससम्बन्धी सचेतना दिने गरेको सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

“हामीले नियन्त्रणमा लिएका नागरिकलाई दुई-तीन घण्टा पोस्टमा राखेर कोरोना भाइरसको विश्वव्यापी समस्या र त्यसको प्रभावबारे जानकारी गराएका छौं,” उनले भने, “विशेषगरी हाम्रा लागि बन्दाबन्दीको फाइदा के, यसमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सडकबाटै उनीहरुलाई सूचित गराएको छ ।”

बन्दाबन्दी भएदेखि मंगलबारसम्म प्रहरीले एक हजार ५६ जनालाई कोरोना भाइरस सङ्क्रमण तथा बन्दीबन्दीका सन्दर्भमा सडकमै सचेतना दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उनले हालसम्म नियन्त्रणमा लिएका ३५८ महिला र ६९८ पुरुषलाई कारबाही स्वरुप सचेतना दिएर घर पठाइएको बताए । उनले भने, “यो बेला कसैलाई दुःख दिने नभई आफैले बुझ्‍ने, अरुलाई बुझाउने र सहयोग गर्ने बखत हो । यसको परिवेश र परिस्थितलाई बुझेर बन्दको अवज्ञा गर्ने जो सुकैलाई कोरोना भाइरस प्रकोपबारे जानकारी दिएर पठाएका छौं ।” उनका अनुसार अहिलेसम्म प्रहरीले करिब २५३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

अत्यावश्यक काममा निस्केकालाई नरोकिएको तर अनावश्यक सडकमा निस्कने र भीड जम्मा गर्नेलाई मात्र नियन्त्रणमा लिने काम गरिएको उनले बताए । सर्वसाधारणका लागि बिहान ७ देखि ८ र दिउँसो १ देखि ३ बजेसम्म खाद्यवस्तु किनेबेच गर्ने समय व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुई-तीन घण्टा सडकमा राखे पनि कोरोना महामारीका विषयमा अझ बढी प्रष्ट हुन पाइएको स्थानीयवासीले बताएका छन् । -रासस

प्रकाशित मितिः   ४ बैशाख २०७७, बिहीबार १४:५२