प्रतिकूलतामा प्रविधिमैत्री समाजको परिकल्पना
विषय प्रवेश
मैले यसभन्दा अगाडि डिजिटल साक्षरता र प्रविधिसँग सम्बन्धित लेखेका केही लेखहरूमध्येको एउटा “बिसी, सीसी र भिसी” शीर्षकको थियो । अर्थ थियो ‘ब्रिटिस काउन्सिल, सिसीटीभि र भर्चूअल कक्षा’ । आज एउटा नयाँ शब्द आएको छ ‘‘जुम’’ । कतिपयलाई त यो शब्द नयाँ पनि लाग्न सक्छ । यो एउटा अत्याधुनिक नयाँ प्रकृतिको प्रविधि हो । यो “सिनक्रोनस्” वा दोहोरो सञ्चार तथा अन्तरक्रिया प्रणालीको एउटा माध्यम हो । “असिनक्रोनस् प्रणाली” टिभीको माध्यमबाट हुने सिकाइ प्रणाली हो । यसलाई एकोहोरो प्रणाली पनि भनिन्छ ।
अलिक पहिला नेपालका प्रधानमन्त्रीले विदेशबाट अनलाइन प्रणालीको माध्यमबाट नेपालको मन्त्रिपरिषद्को बैठक बसालेको कुरा अलि अचम्म पनि लागेको थियो । त्यसको पनि माध्यम यस्तै प्रकृतिको प्रविधि थियो । हाम्रो सन्दर्भमा जुम प्रविधिलाई शिक्षकले थाहा पाउने गरी “प्रविधिमैत्री समाज, कर्णाली प्रदेशले” प्रवेश गरायो । यसको अग्रणी भूमिकामा अमरज्योति नमुना मावि, नेवारेका शिक्षक अशोककुमार राई र भुपेन्द्र बि.सी., त्रिपुरेश्वर माविका शिक्षक नविन कँडेल र नवराज पौडेल लगायतका शिक्षकहरूको सक्रियता रहेको देखिन्छ ।
लकडाउनमा जुममय कर्णाली
प्रविधिमैत्री समाज कर्णाली परिषद्ले जुम प्रविधिको माध्यमबाट एउटा नयाँ आयाम सुरु गरेको छ । महामारी तीव्र रूपमा बढेपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको अवस्थामा यसले कम्प्युटर सम्बन्धी तालिम सञ्चालन ग¥यो । एउटा महत्वपूर्ण डिजिटल क्लबको रूपमा रहन गएको महसुस भएको छ । शिक्षकको लागि सिकाइको चौतारी बनेको छ । अनुसन्धानकर्ताको लागि अनुसन्धानको विषय बनेको छ । लकडाउनको समयमा एउटा अवसर र समयको सदुपयोग भएको छ । कहिले गण्डकी, कहिले एक नम्बर, कहिले पाँच नम्बर गर्दै करिब सबै प्रदेशका धेरै प्राज्ञिक व्यक्तित्व साथीहरूसँग भेट हुने र सिक्ने मौका पनि बनाएको छ । कहिले बर्दियाको प्रभात सुवेदी, कहिले झापाको सञ्जय के.सी., कहिले बुटवलको युवराज सर त कहिले पोखरा तथा म्याग्दीका सरका कक्षाहरू समेत लिने मौका मिल्यो । नेपाल सरकारको विभिन्न शैक्षिक संगठनमा रहेका कर्मचारी तथा विज्ञहरूसँग समेत विभिन्न सल्लाह र सुझाव लिने मौका मिलेको छ ।
दैनिक आईडी परिवर्तन गरिरहेपनि सुरक्षाको दृष्टिले उपयुक्त जस्तो नै लागेको छ । एउटा कार्यक्रममा सय जनासम्मको भेटघाट र अन्तरक्रिया गर्न सकिने रहेछ । यसको विश्वसनियता बढाउन कर्णाली प्रदेशमा पनि यसको सहभागितालाई त्यत्तिकै रूपमा बढाउनुपर्ने हुन्छ जस्तो लाग्छ । यसको उपयोगले धेरै फाइदाहरू भएको छ । त्यो पनि जसले सिक्न चाहन्छ उसको लागि । एक दिन युवराज सरबाट बुटवलको कालिका माविका धेरै अनुभवका कुराहरू प्रस्तुत भएका थिए । राष्ट्रिय परीक्षा बोर्डका, कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह सरले एउटा मेक्सम गार्कीको भनाइ “मानिसको दिमागमा दुम्सीको काँडा राख्नुपर्छ ताकी उसलाई केही गर्नको लागि घोचिरहोस् ।” अर्को एक जनाले बौद्धिक व्यक्तिले पनि भनेका थिए “व्यवहार गर्दा भोलि मर्छु भन, पढ्दा कहिल्यै मर्दिन भन्ने भावना राख” ।
यो कठिन परिस्थितिमा पनि यो सिकाइ चौतारीले यही गरेको देखिन्छ । यही सिकाएको देखिन्छ । मोबाइल र ल्यापटप वा डेस्कटपमा घरमै बसेर लाभ लिन सक्ने वातावरण बनाएको छ । हामीले यसको अन्तर्राष्ट्रिय प्रयासहरू हे¥यौँ भने पनि धेरै देशहरूमा सबैभन्दा लोकप्रिय रिमोट बैठकहरू जुमको माध्यमबाट सम्पन्न गर्ने रहेछन् । यसले सिकाइमा साझेदारीको मान्यता पनि स्थापित गराएको छ । प्रविधिमैत्री समाज कर्णाली प्रदेशको भूमिका अहम राम्रो रह्यो । भौतिक दूरीबाट टाढा भए पनि यसले सामाजिक दूरी कम बनाएको छ । पछि नेपालका अन्य कलेज र विश्वविद्यालयहरूले मात्र धेरै विद्यालयहरू पनि वैकल्पिक सिकाइको माध्यम बनाउन सक्ने कुरामा सचेतना समेत जगाएको छ । यसले बर्दिया जोड्यो । पोखरा जोड्यो । म्याग्दी जोड्यो । जाजरकोट जोड्यो । दैलेख जोड्यो । यसले एउटा सिकाइमा नयाँ स्वरूप प्रस्तुत ग¥यो । यसलाई एउटा वर्तमान समयको उन्नत सुविधाको रूपमा लिन सकिएको छ । कहिलेकाहीँ विद्युतमा अवरोध भएर समस्या हुने गर्दछ । जुमको गोपनियता र सुरक्षा अभ्यासको बारेमा पनि जानकारी प्रदान गर्न सके अझै राम्रो विश्वसनियता बढ्ने छ । यसले शिक्षकको कार्यक्षमता बढाएको छ । यो प्रविधिसँग परिचित बनाएको छ । भर्चूअल संसारसँग जोडेको छ । प्रविधिमैत्री साक्षरता प्रदान गरेको छ । आफ्नो क्षमता आफै बढाउन सकिदोरहेछ भनि सचेतना प्रदान गरेको छ । डिजिटल प्रयोगकर्ता बनाउन सहयोग गरेको छ । नयाँ लिङ्क जोड्न सकिएको छ तथा सिकाएको छ ।
साथीहरूले जुमलाई एउटा पावरहाउस बनाउनुभएको छ । सिकाइको पावरहाउस । ज्ञान बाँड्ने पावरहाउस । सीप र विचार बाँड्ने पावरहाउस । यसले आगामी शिक्षकका दिनहरू पावरपोइन्ट स्लाइडमा बिताउन प्रेरित गरेको छ । प्रत्यक्ष शैक्षिक तालिमको घटनामा जोडेको छ । नविन सरले कर्णालीको सहभागिता कम भएको गुनासो पनि गर्नुभएको थियो । तर डिजिटल सचेतना कम भएकोले पनि यसको प्रचार–प्रसारमा लागेर सहभागिता बढाउन सकिन्छ । धेरै जना वाईफाईको पहुँचमा नै छैनन् । डाटाबाट महँगो पर्छ । बरु राज्यसँग इन्टरनेट सबैको पहुँचमा पुग्ने वातावरणको लागि सबैले दबाब दिनु सान्दर्भिक हुन्छ । तर यो महामारीको बेला होइन । समय आउँछ । धैर्यता चाहिन्छ । अबका दिनमा इन्टरनेटको पहुँच पुगेका बस्तीमा विद्यार्थीका लागिसँग समेत सिक्ने अवसरको नयाँपनको आशा गर्न सकिन्छ । आजका दिनमा विभिन्न प्रख्यात व्यक्तित्वहरूसँग साक्षात हुने मौका समेत प्रदान गरेको छ । सञ्चारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँग समेत जोड्न सकिन्छ भन्ने कुराको बोध गराएको छ । सिकाइमा पनि सम्बृद्धिको ईट्टा थपेको छ । यो एउटा नेटवर्कको बहुमूल्यता हो । समयको बचत समेत गराएको छ । उपलब्धी बढेको छ । गतिशील सिकाइको वातावरण तयार गरेको जस्तो महसुस भएको छ ।
यो प्रविधिलाई सिकारु केन्द्रित प्रविधि मान्न सकिन्छ । हिउँदे र वर्षेबिदा वा गर्मी बिदामा विदेशमा यसको सदुपयोग गरिँदो रहेछ । अनलाइन पाठको सिकाइ लिन सकिने प्रविधि रहेछ । समयमा पनि लचिलो हुनेरहेछ । सिकारु र प्रशिक्षकबीच पनि सहमतिमा समय निर्धारण गर्न सकिदो रहेछ । हाम्रा अभ्यासहरू यस्ता बने कि सबैलाई पायक पर्ने समय निर्धारण भयो । सिकाइ व्यवहारिक र रमाइलो बनाएको महसुस भयो । स्लाइड निर्माण गरी सियरिङ गरिएको थियो । आमने सामने अन्तरक्रियाकै महसुस भयो । सहभागीहरूले पनि धेरै कुरामा ध्यान पु¥याउनु पर्ने हुन्छ । अनुशासन अति उत्तम कुरा हो । पृष्ठभूमिमा गफ गर्ने, हल्ला गर्ने गरेमा यसको प्रभावकारितामा आँच आउन सक्छ । सहभागीहरूबीच नै पनि सञ्चार गर्न सकिन्छ । मलाई के पनि लाग्यो भने यसको कक्षा बढीमा साढे एक घण्टा भन्दा बढी भने बनाउनु राम्रो हुँदैन । यसभन्दा बढी भएमा एकातिर सहभागीमा दिक्कपना अनुभव हुन सक्छ भने अर्कोतिर समय व्यवस्थापनमा नै समस्या हुन सक्छ ।
देश लकडाउन भएर विद्यालय, कलेज र विश्वविद्यालय समेत बन्द भएको अवस्थामा यो बुद्धिमत्तापूर्ण काम भएको छ । शैक्षिक गतिविधि अवरुद्ध छन् । परिस्थिति विषम, अकल्पनीय र अनिश्चित भएको बेला छ । सरकारबाट पनि डिजिटल प्रदेश घोषणाको तयारी गरिएको छ । सबैले थाहा पाउने गरी नभए पनि कसै–कसैले थाहा पाउने गरी । यो चुनौतीलाई समेत प्रविधिमैत्री समाज कर्णालीले चुनौती दिएको छ । सुनसान कोठामा बसेर बुझाईमा समेत सकारात्मक प्रभाव पारेको देखियो । नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रमले मित्रतामा समेत सकारात्मक प्रभाव पारेको छ । शिक्षा प्रणालीमा अल्प र दीर्घकालीन प्रभाव पार्ने छ । ग्लोबल शिक्षा आपतकालीन अवस्थामा छ । करोडौं बालबालिकाहरू विद्यालय बाहिर रहेका छन् । परीक्षाका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएका छन् । सीमित इन्टरनेट कनेक्टिभिटी रहेको छ । स्कुल खोल्ने बित्तिकै सिकाइ अनुकूल बनाउने कुरा पनि त्यत्तिकै चुनौतीपूर्ण छ । संस्थागत विद्यालयलाई अझै चुनौती थपेको छ । एकै दिन मैले विभिन्न बैठकमा जुमको माध्यमबाट सहभागी हुने मौका पाएको थिएँ ।
भविष्यमा प्रविधिमैत्री समाज पनि प्रशंसाको पात्र हुनेछ । शिक्षक पनि प्रशंसाका पात्र रहनेछन् । यदि यसको व्यक्तिगत शिक्षणमा विद्यार्थीको घरमा नै इन्टरनेट जोडेमा शिक्षकले औपचारिक रूपमा विषयवस्तु प्रस्तुतीकरण गर्नुपर्ने, पूर्ण ज्ञान भएको कुरा मात्र प्रस्तुत गर्ने, म विद्यार्थीमात्रसँग होइन, उनीहरूका अभिभावकरुसँग पनि छु भन्ने सोचेर सिकाउने, औपचारिक भाषाशैली प्रयोग गर्ने, पाठयोजनामा मात्र आधारित भएर शिक्षण गर्ने, विनम्रतामा प्रस्तुत हुने तथा मनोवैज्ञानिक पक्षलाई समेत ध्यान दिएर यसको उपयोग गरेमा यसको महत्व झन् बढ्ने निश्चित रहेको छ । जुम प्रविधिका केही नकारात्मक असरहरू पनि हुनेछन् । शिक्षामा असमानता त हुन्छ नै । शिक्षा हुनेखाने वर्गको लागि मात्र पहुँचमा रहन सक्छ । सिकाइ केवल सिकाइमा चासो दिनेको लागि मात्र बन्न सक्छ । बाहानाबाजीका थुप्रै अवसर रहन सक्छन् । प्राविधिक समस्या तथा विद्युत आपूर्तिमा समेत समस्या भइरहने ठाउँमा यसको प्रभावकारितामा समेत प्रश्न चिन्ह रहन सक्छ ।
उपसंहार
प्रतिकूल परिस्थितिमा सिकाइ अनुकूलन बनाउने प्रविधिमैत्री समाज, कर्णाली प्रदेशलाई जति तारिफ गरे पनि कमै हुन्छ । यो एउटा शिक्षामा स्थानीय समाधानको विधिको प्रयोग भएको महसुस भएको छ । यो स्वतन्त्र अनलाइनको उपयोग कोशेढुङ्गा नै सावित भएको छ । यो व्यवहारिक मार्गदर्शन प्रदान गर्नुभएकोमा प्रविधिमैत्री समाज नेपाल, कर्णाली प्रदेश समेतलाई धेरै धन्यवाद र ढिलै भए पनि नयाँ वर्षको लाखौँलाख शुभकामना ।
(लेखक अमरज्योति मावि सुर्खेतमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः ४ बैशाख २०७७, बिहीबार १२:५७
साझा बिसौनी ।