जनज्योति भयो देशकै उत्कृष्ट

janajyotiसाझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
जनज्योति उच्च माध्यमिक विद्यालय कुनाथरी एक लाख रूपैयाँ नगदसहित पुरस्कृत भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका देशभरका ७३ वटा जिल्लाका विद्यालयहरूमध्येबाट जनज्योति उत्कृष्ट हुन सफल भएको हो ।
शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीवार शिक्षा मन्त्रालयले जनज्योति उच्च माध्यमिक विद्यालयलाई पुरस्कृत गरेको हो । एक लाख नगदसहित प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले जानकारी दिए ।
जनज्योतिले २०६८ सालदेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । १५ महिने कृषि जेटीएबाट प्राविधिक शिक्षा प्रदान गर्न थालेको जनज्योतिले अहिले १८ महिने कृषि जेटिए, १८ महिने भेटेरेनरी जेटीए र तीन वर्षीय कृषि जेटीए अध्ययन गराइरहेको छ । त्यसैगरी तीन वर्षीय भेटेरनरी जेटीए अध्ययनका लागि माग भएको समेत सिग्देलले जानकारी दिए । यो शैक्षिक सत्रमा दुई सय २६ जनाले जनज्योतिमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मितिः   २४ भाद्र २०७३, शुक्रबार ०६:३२