शिक्षा दिवस मनाइयो

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
भेरी माध्यमिक विद्यालय रानीघाटले ३७ औं शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । विद्यालयले बिहीवार सदन अनुसार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम बुलबुले सदन, द्वितीय बराह ताल, तृतीय देउतीबज्यै सदन र काँक्रेविहार सदन र सिद्धपाइला सदन सान्त्वना भएका छन् ।
साथै कार्यक्रममा कृष्ण राजीको अध्यक्षतामा नेल्टा बाल क्लब गठन गरिएको छ । जसका उपाध्यक्ष लक्ष्मी सुनार, सचिवमा रमेश विक, कोषाध्यक्षमा इन्द्रा महतरा, सदस्यहरूमा रिता राना, प्रमिला बुढा, चित्रबहादुर विष्ट, सीता भण्डारी, कृष्ण सिजाली मगर, कमला थापा र प्रेरणा अधिकारी चयन भएका छन् । जसको शिक्षक प्रमुख सल्लाहकारमा विद्यालयका प्राध्यापक रत्नबहादुर बुढा, शिक्षक हरिबहादुर खत्री र फूलमाया भण्डारी चयन भएका छन् । कार्यक्रम जुनियर रेडक्रस सर्कलका अध्यक्ष दिनेश दर्लामीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाल राष्ट्रिय आधारभूत विद्यालय खजुरामा ३७ औ शिक्षा दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । सुर्खेत क्याम्पस शिक्षाबाट शिक्षणका लागि गएका शिक्षकहरूले विद्यालयमा शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो ।
नविन बिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्याक शिव पोख्रेल, सावित्री सुवेदी, कार्यक्रम सञ्चालक डिल्लीराम खनाल, कल्पना धमला लगायतको सहभागिता रहेको थियो ।
यस्तै सिद्धपाइला इङ्गलिस मिडियम सेकेण्डरी स्कुलले पनि पूर्वप्राथमिकस्तरीय नृत्य प्रतियोगिता, प्राथमिकस्तरीय गायन प्रतियोगिता र माध्यमिकस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । साथै विद्यालय वरपर सरसफाइ गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७३, शुक्रबार ०६:३०