एक महिने कुस्ती प्रशिक्षण सुरु

सुर्खेत, २३ भदौ । (साबिस)
कुस्तीका पूर्व प्रमुख प्रशिक्षक तथा राष्ट्रिय कुस्ती संघका महासचिव मुमताजली इदृशी सुर्खेत आएका छन् । सातौं राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण दिन इदृशी सुर्खेत आएका हुन् ।
सदरमुकाम वीरेन्द्रनगरमा सोमवारदेखि सुरु भएको प्रशिक्षण असोज १८ सम्म सञ्चालन हुने बताइएको छ । कुस्ती खेलमा इच्छुक जो सुकैले व्यक्तिले निःशुल्क रूपमा प्रशिक्षणमा सहभागी हुन पाउने प्रशिक्षक इदृशीले बताए । प्रशिक्षणको समयमा राम्रो प्रतिभा देखाउने खेलाडीलाई दशैंपछि नेपालगन्जमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी गराइने उनले जनाए । उनका अनुसार क्षेत्रीय प्रतियोगिताबाट छनौट हुने खेलाडीले विराटनगरमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् भने राष्ट्रिय प्रतियोगिताबाट छनौट हुने खेलाडीले १३ औं दक्षिण एशियाली प्रतियोगितामा समेत सहभागी हुन पाउनेछन् ।
सुर्खेतमा कुस्ती खेलाडीको राम्रो सम्भावना रहेको पनि प्रशिक्षक इदृशीले बताए । ‘सुर्खेतमा कुस्तीका लागि प्रतिभावान खेलाडीहरूको कमी छैन’, उनले भने, ‘यहाँ अवसरको कमी छ ।’ जिल्ला कुस्ती संघका सचिव निर्मल विष्टले सुर्खेतमा कुस्तीको राम्रो सम्भावना हुँदाहुँदै खेलाडीहरूले उचित वातावरण नपाएको बताएका छन् । सचिव विष्टले जिल्ला खेलकुद विकास समितिले कुस्ती खेलाका लागि निश्चित ठाउँको समेत व्यवस्था गर्न नसकेको गुनासो गरे । छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निर्मल विष्ट र सोनम रावतले शिल्ड जित्न सफल भएका थिए ।

प्रकाशित मितिः   २४ भाद्र २०७३, शुक्रबार ०६:२९