सात वर्षदेखि दाम्लोमा मुकेश

Mukesh (1)सुरेन्द्र सिंह
जाजरकोट, २३ भदौ ।
आफ्नै छोरालाई पशुझै बाँधेर राख्नुपर्दा जरे लुहारको छाति कति पोल्छ त्यो उनैलाई मात्र थाहा छ । तर उनीसँग यो बाहेक अर्को विकल्प छैन । भेरीमालिका–५ गंगाटियाका लुहार १२ वर्षीय छोरा मुकेश लुहारलाई विगत ७ वर्षदेखि उनले दाम्लोमा बाँधेर राखेका छन् ।
मानसिक सन्तुलन गुमाएका छोराको उपचारका लागि उनीसँग पैसा छैन । ‘पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन्’ जरे दुखेसो पोख्छन्, ‘गरीबको जिन्दगी भने पैसाको अभावमा कि त अकालमा मर्नुपर्छ कि भने बाँचेर पनि मर्नुपर्छ । भावीको लेखान्त पनि कस्तो कस्तो ?’ आफ्नो नियतीलाई धिक्कार्दै बाँच्नुको विकल्प नभएको उनले बताए । चरम गरिबीका कारण उपचार गर्न नसक्दा मानसिक रोगी छोरा १२ वर्षीय मुकेश विकलाई घरमै बाँधेर राख्नुपर्ने उनको विवशता हो ।
जे मन लाग्यो त्यही खाने, जहाँ मन लाग्यो त्यही जाने गरेका मुकेशलाई उपचार गर्न नसकेर पशु जस्तै दाम्लोले बाँधेर राख्नुपर्ने अवस्था आएको जरेले बताए । मुकेश बोल्न सक्दैनन् । दिएको बेला खाना पनि खादैनन् । मन लाग्यो भने अर्काको खाना खोसेर खाइ दिन्छन् ।
त्यतिमात्रै होइन ढुङ्गा, माटो र आफ्नै दिसा पनि खाने गरेका छन् । मुकेशका यस्ता क्रियाकलाप देखेर उनका बाबुआमा धरधरी रुन्छन् । तर आँशुले मुकेशको रोग निको हुँदैन ।
मुकेशको नजिक जाने, उनको स्वभाव र व्यवहार देख्ने जोकोहीको मन पनि कटक्क दुख्छ । भेरीमालिका–४ की शिक्षक यशु सिंहलाई मुकेशको व्यवहार देख्दा विरक्त लाग्छ । मुकेशको मानसिक रोगले घरपरिवारलाई चिन्ता त छ नै । साथै उनको पशुतुल्य जीवनबाट छुटकारा दिलाउने कोही मनकारी मन भइदिए धर्म हुने यशुले बताइन् ।
विपन्न आर्थिक अवस्थाका लुहार परिवार अर्काको ज्याला मजदूरी र उब्रेको समय दाउरा बिक्री गरेर छाक टार्दै आएका छन् । लुहारले मुकेशको उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रहरूमा लिएका थिए । तर, उपचार सम्भव नहुने भएपछि आफ्नो र छोराको नियतीलाई धिक्कार्दै बसेका छन् ।

प्रकाशित मितिः   २४ भाद्र २०७३, शुक्रबार ०६:२५