पाँच दिन पैदल हिँडेर प्यूठानदेखि जुम्ला   

जुम्ला : लकडाउन हुनुअघि मजदूरीका लागि प्यूठान जिल्लामा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदूरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै यहाँ आइपुगेका हुन् ।

हिमा गाउँपालिका – ६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदूरीका लागि प्यूठान जिल्ला पुगेका बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामविहीन भई आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताए ।

यसैगरी हर्क तिरुवाले लकडाउनको अवधि निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीका भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाए ।  “कालीकोट जिल्लाका नौ र जुम्लाका चार गरी १३ जनालाई भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भने ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीयवासी युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका – ७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँका बासिन्दा र प्रहरी टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार, पलाता गाउँपालिकाका पाँच र जुम्ला, महाबै पाथरखोलाका चार युवावालाई नाग्म हेल्थ डेस्कमा जाँच गरेर १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखेका छन् ।

बर्दियाका मजदूर अलपत्र    
जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ मजदूर अलपत्र छन् । लकडाउनका कारण काम रोकिएपछि घर फर्कने वातावरण नहुँदा सङ्कटमा परेका उनीहरू पुल निर्माणस्थल नजीकै बसिरहेका छन् ।

जुम्ला घर भएका जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेका हुन् । कामका सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उनले बताए ।

समस्यामा परेका मजदूरलाई तिला गाउँपालिकाले तत्काल ९० केजी चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पोका नुन र दुई बाकस तेल उपलब्ध गराएको छ । घर फर्काइदिन अनुरोध गरेका मजदूरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकाले जुम्लामै ढुक्कसँग बस्न आग्रह गरेका छन्ग ।

प्रकाशित मितिः   २९ चैत्र २०७६, शनिबार १६:१०