विद्यालय बन्द भएपछि अनलाइनमार्फत कक्षा सञ्चालन

सुर्खेत :  लकडाउन  लम्बिँदै गएपछि वीरेन्द्रनगरमा रहेको चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनर्ताजगी गराउन अनलाइन कक्षाको सुरुवात गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञवालीका अनुसार विद्यालयले ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड गरेर अङ्ग्रेजी, विज्ञान, गणित र अनिवार्य नेपाली विषय पढाउन सुरु गरेको हो । एप्स डाउनलोड गरेपछि शिक्षकले नेटवर्कमा आवद्ध हुन विद्यार्थीलाई आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक/विद्यार्थी अनलाइनमा जोडिन्छन् । शिक्षकले व्याख्यान विधिबाट पढाउने र विद्यार्थीले केही नबुझे हात उठाएर सोध्न सक्छन् ।

चिल्ड्रेन्स प्याराडाइजले मङ्गलबारदेखि अनलाइन पठनपाठन सुरु गरेको हो । अनलाइन कक्षाबाट विद्यार्थी सिकाइप्रति उत्साही छन् ।  प्रबन्ध सञ्चालक ज्ञवालीले आफ्ना विद्यार्थीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म दुई तथा दिउँसो ३ बजेदेखि तीन विषय पढाउने गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   २९ चैत्र २०७६, शनिबार १६:०६