सम्झनामा ऋषि
आज स्वर्गीय ऋषिप्रसाद शर्माको १२औं स्मृति दिवस ।
तत्कालीन संविधानसभा सदस्यका लागि सुर्खेत क्षेत्र न १ बाट उम्मेदवार ऋषिको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या भएको थियो । उक्त घटनाको १२ वर्ष बितिसक्दा समेत त्यसको सत्यतथ्य छानबिन भएको छैन । कयौं पटक कम्युनिस्ट पार्टीका सरकारहरु बनेपनी हत्याकाण्डको बारेमा कसैले चासो देखाएनन, यो एउटा सहिदप्रतिको ठुलो अपमान हो । सुर्खेती जनता ऋषिको हत्याकाण्डको बारेमा सत्यतथ्य कुरा जान्न चाहान्छन् तर बर्तमान नेतृत्व त्यसको ‘स’ पनि सुन्न चाहादैनन् ।
इतिहासको गर्भमा बिलीन भएको ऋषि हत्याकाण्ड एकदिन बाहिर आउनेछ, सत्य कुरा बाहिर ल्याउन फेरि एउटा महान नेताको उदय हुनेछ ।
समकालिन नेपाली समाजमा एउटा सचेत विद्रोहीको भूमिकामा थिए स्वर्गीय ऋषि । अगुवा हुने कुरा सामान्य होइन । जतिबेला मुलुकमा निरकुंश राजतन्त्रले पञ्चायतको दबदबा कायम गरेको थियो त्यसकाविरुद्व लड्नु र युवा पुस्तालाइ लड्न प्रेरित गर्नु आफैमा एउटा साहसिक कार्य थियो । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, जसका लागि हिमाल झै अटल र निर्भिक बनेर ऋषिले योगदान गरेका थिए । उनले नेपालमा संघीय गणतन्त्रका लागि हासिहासि आफ्नो ज्यान उत्सर्ग गर्न सदैव तयार रहेको कुरा पुष्टि गरिसकेका छन् । एउटा युवा हुनुका नाताले मेरा मस्तिस्कमा ऋषिबारे थुप्रै धारणाहरु बनिरहेका छन् ।
पहिलो,
हजारौं हजार विद्यार्थीहरु उच्च शिक्षाका लागि गाउँबाट शहर पस्ने गर्छन, त्यसमध्ये थोरै मात्र विद्यार्थीहरु आफ्नो समाज र देशलाइ रूपान्तरणका लागि योगदान गर्नुपर्छ भन्ने सोचले त्यसको अगुवाइ गर्ने क्षमताको विकास गर्दै जान्छन् । ऋषि पनि हजारौ हजार विद्यार्थीहरुमा एउटा अगुवाको रूपमा आफुलाई उभ्याउने साहसिक योद्वा थिए । विद्यार्र्थीहरुको माझमा सधंै लोकप्रिय र आशाको केन्द्रमा आफुलाइ उभ्याउन सक्नु अगुवाको क्षमता हो । आज विद्यार्थी राजनीति न ऋषिले जस्तो विद्रोही र रूपान्तरणका लागि अग्रसर छ न नेपाली जनताको दैनिकी बदल्ने आविष्कारतर्फ उन्मुख छ । अझै पनि नेपाली समाजमा विभेद, अन्याय, असमानता र कुशासन कायम छन् । समाजले उच्च शिक्षा हासिल गर्न सहर छिरेका लाखौं विद्यार्थीहरुमाझ आज ऋषिलाइ खोजिरहेको छ । राजनितिक भागबण्डा र भ्रष्टाचारको दुश्चक्रमा फसेका विश्वविद्यालयहरुलाई उज्यालो किरण प्रदान गर्न ऋषि जस्ता क्रान्तिकारी विद्यार्र्थी नेताहरु जन्मिनुपर्छ । ऋषि विद्यार्थी राजनीतिका एउटा ‘आइडल’ भएर आदर्शवान रहिरहनेछन् ।
दोस्रो,
हाहीले सुरु गरेका यात्राहरु सदैव सहज रूपमा सफल गन्तव्यमा पु¥याउन कठिन हुनसक्छ । नेपाली जनताको मुक्तिको लागि शक्तिशालि निरंकुश राज्यसँग लड्ने फैसला ऋषिले गरिसकेका थिए । उनलाई विभिन्न प्रलोभन दिएर महान यात्राबाट फिर्ता नबोलाइएको होइन तर ऋषि एउटा धैर्यवान नेताको रूपमा आफुलाइ उभ्याउन सफल बने । कयौं पटक गिरफ्तार गरेर यातना दिदा समेत जनताको साझा लक्ष्यबाट बिचलित हुने भन्दा पनि अझै साहसिक तरिकाले प्रस्तुत हुनेगर्दथे ।
नेपाली युवाहरुले उनीबाट धैर्यताको पाठ सिक्नुपर्छ । ऋषिले सदैव भन्ने गर्दथे, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोसाणा गर्दै जनता आफैले आफ्नो भाग्य र भविष्य कोर्नेछन् । आफ्नो जीवनको सम्पूर्ण समय संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बेतित गरेका ऋषिले त्यसको घोषणा हुनुपूर्व नै हाम्रा माझबाट विदा भैसकेका थिए । जसरी आफ्नो जीवनलाइ उनले धैर्यताका साथ नेपाली जनताको समानता र स्वतन्त्रताको लागि उत्सर्ग गरे, ऋषि धैर्यताका प्रतिमुर्तिको रूपमा सदैव रहिरहनेछन् ।
तेस्रो,
नेपालको राजनीतिमा देश र जनतालाई माया गर्ने नेताको खडेरी परिरहेको यस घडिमा ऋषि हाम्रो मस्तिस्कमा झल्किरहन्छन् । नेता र जनताहरु बिचको दुरी बढिरहेको छ । ऋषिले गाउँ बस्तिहरुमा जनताको कुरा सुन्ने, भलाकुसारी गर्ने र सहयोग गर्ने एउटा सच्चा लोकतान्त्रिक नेताको परिचय बनाएका थिए । सदैव जनताको सेवामा समर्पित हुने भावले प्यारो नेताको रूपमा परिचित गराइराख्यो । एउटा ब्राह्मणको छोराले जातभात कुरिति र कुसंस्कार हो भनेर समाजमा सबैको समानताका लागि आवाज बुलन्द गरिरहहे । दलित तथा जनजातिका पक्षमा आवाज उठाउनेदेखि घरदैलोमा पुगेर विभेदको अन्त्यका लागि प्रयत्न गर्ने ऋषि एउटा सामाजिक परिवर्तनको उज्यालो दियो थिए ।
चौथो,
एक पटक ऋषिको आमाले ‘बाबु राजनीति छोडि गाउँ फर्केर आउ, बुढेसकालको साहारा बन्नुपर्छ’ भनेर पठाएको चिठ्ठिको प्रतिउत्तरमा उनले भनेका थिए, ‘आमा तपाईंको मुहारमा हासोखुसी ल्याएर मात्र मेरो जीवनको सार्थकता पुष्टि हुने छैन, तपाईं जस्तै हजाराैं आमाबुवाको आशुँ पुछ्नु मेरो कर्तव्य हो ।’
उनी सिमित घेराबाट माथि उठेर देश र समाजका लागि अनवरत संघर्ष गरिरहने पात्रको रूपमा आफुलाई उभ्याउन सफल बने । अहिले नेताहरु आसेपासे पुँजिवाद अर्थात क्रोनी क्यापिट्लिजमको चक्रब्यूहमा फसिरहेको अवस्था छ । जनताहरु निकै निराश र चिन्तित छन् । जनताको भावनालाई बुझेर अगाडि बढ्ने ऋषि जस्ता त्यागि नेताको आज खोजि भइरहेको छ ।
परिवर्तन चाहने, सत्य र निष्ठाको राजनीतिमा मान्यता राख्ने जो–कोहीका लागि स्वर्गीय ऋषिप्रसाद शर्मा एउटा आदर्शको पुञ्ज हुन् ।
सामाजिक न्यायसहितको समृद्धि मार्फत मुलुक र मुलुकबासिको जीवनलाई उन्नतिको शिखरमा पु¥याउनु हामी सबैको कर्तव्य हो । यो नै ऋषि प्रतिको सच्चा सम्मान र श्रदा हुनेछ । आज कम्युनिस्टको खोल ओढेर नेपाली जनतालाई परजीवीझै चुस्न उद्वत नेता कार्यकर्ताहरुले ऋषिले देखाएको आदर्शबाट च्यूत भएर राजनीतिलाई बद्नाम गराइरहेका छन् । राजनीतिलाई विकृत बनाउने दिशामा छन् । उनीहरुले पनि तपाईंको फोटोमा माला लगाएर लालसलाम हान्नेछन् र भन्नेछन् कमरेड ऋषिले देखाएको बाटोमा हामी छाँै, यो सबैभन्दा लाजमर्दो कुरा हो । झुटको खेती हो ।
ऋषिको रगतसँग साटिएको यस व्यवस्थालाई निहीत नेता–कार्यकर्ताको स्वार्थ सिद्व गर्ने हतियार बनाइदैछ । यसको दुरूपयोग गरेर राज्यकोषको दोहन भइरहेको छ । ऋषिको आदर्शलाई सच्चा मनबाट अनुसरण गर्नेहरुले यो भ्रष्ट राजनीतिको विकल्पको पक्षमा आवाज बुलन्द गरुन्, गलत दिशामा उन्मुख राजनीतिलाई च्यालेन्ज गरुन् ।
नेपाली समाजले कोल्टे फेर्न सयौ ऋषिहरु जन्मिनुपर्छ । हार्दिक श्रदाञ्जली ऋषि !
प्रकाशित मितिः २६ चैत्र २०७६, बुधबार १२:१०
साझा बिसौनी ।