समाचार प्रभाव : दृष्टिविहीन दम्पतीले पाए खाद्यन्न, भने ‘अब त बाँचिन्छ होला’

जुम्ला : लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन दम्पतीले सहयोग पाएका छन् । तातोपानी-७ सर्मि जुम्लाका दृष्टिविहीन एक दम्पतिलाई साँझ-विहानको छाक टार्नै मुस्किल परेको समाचार साझा बिसौनी अनलाइनमा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि जुम्लाकै एक युवाले उनीहरुलाई खाद्यन्न सहयोग गरेका छन् ।

हाल काठमाडौमा बस्दै आएका जिल्लाकै पातारासि गाउँपालिका-६ उर्थुका मनकारी युवा अम्मर विष्टले चार बोरा चामलसहितको दैनिक उपभोग्य वस्तु प्रदान गरेका हुन् । सहयोग पाएपछि उनीहरु खुशी भएका छन् ।  ‘सधैं बिहान-बेलुका  के खाने चिन्ता हुन्थ्यो, अब यत्ति भए बाँचिन्छ होला’ चामल पाएपछि दृष्टिविहीन गोरिकला कुँवरले भनिन् ।

यसका साथै विष्टले आर्थिक रुपमा विपन्न अन्य परिवारलाई पनि राहत प्रदान गरेका छन् । सर्मिका दृष्टिविहीन दम्पतिका साथै तातोपानी-६ को दलित बस्तिका नागरिकलाई १५ बोरा र चन्दननाथ नगरपालिका-९ कि पुम्फा शाहीका परिवारलाई चार बोरा चामल सहयोग गरेका हुन् ।

 ‘घरमा अन्न पनि छैन, साहुले उधारो दिदैनन्,अब एक महिनासम्म ढुक्क भईयो ’ तातोपानी-६ कि धनलक्ष्मी सुनारले चामल पाएपछि भनिन् । लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका नागरिकलाई सरकारले चैत १६ गते स्थानीय तहमार्फत राहत स्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको थियो । तर नागरिकले अहिलेसम्म राहत पाउन भने सकेका छैनन् । वितरणका लागि खाद्यन्नको जोहो भइरहेको स्थानीय तहले जनाएका छन् । तातोपानी-६ का वडाअध्यक्ष विशाल खड्काले संकटको समयमा  युवा अम्मर विष्टले गरेको सहयोग वडाका लागि पनि राहत भएको बताए ।

प्रकाशित मितिः   २५ चैत्र २०७६, मंगलवार २०:३९