यस्ता छन् प्रदेश सरकारले आज गरेका पाँच निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस(कोभिड-१९) प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउन पाँच वटा निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णय यस्ता छन् :

१-कोरोना भाईरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न कर्णाली प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाख रुपैयाँको  दरले सम्वन्धित स्थानीय तहले स्थापना गरेको विपद व्यवस्थापन कोषका लागि बजेट उपलब्ध गराउने।

२-देश बाहिर र प्रदेश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

३-कोरोना भाईरसको सम्भावित जोखिम न्युनिकरण गर्न संघीय सरकारद्वारा गरिएको लकडाउन थप गर्ने निर्णयलाई कडाईपुर्वक कार्यन्वयन गर्ने गराउने ।

४-ठुलो संख्यामा भारत लगायत अन्य देशहरुबाट आएका कर्णाली प्रदेशका नागरिकहरुमा कोभिड-१९को संक्रमण भएको हुन सक्ने तथा एक-अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी द्रुत गतिमा कोभिड-१९को परिक्षण आवश्यक देखिएको हुँदा घुम्ती प्रयोगशाला परिक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

५-कर्णाली प्रदेश भित्रका सबै स्वास्थ्यकर्मीहरू कोरोनाभाईरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न रहेको र गर्मीयाम सुरूवातसंगै अन्य मौसमी महामारी हुनसक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञ सहितको टोली तयारी अवस्थामा राखि आवश्यक परेको अवस्थामा यस प्रदेशमा पठाउन नेपाल सरकारलाई अनुरोध गर्ने ।

प्रकाशित मितिः   २५ चैत्र २०७६, मंगलवार १९:१५