लोकगीत प्रतियोगिता

सुर्खेत, २२ भदौ । (साबिस)
बाबियाचौरमा लैंगिक हिंसाविरुद्ध लोकगीत प्रतियोगिता गरिएको छ । यूएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्तर्गत इक्वयल एक्सेसद्वारा गठित जुनेली रेडियो स्रोता समूहको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
समूहले लघु अनुदान अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । ६ वटा समूहहरूको सहभागिता रहेको कार्यक्रममा ग्रामीण एकता युवा समूह प्रथम, मालती आमा समूह द्वितीय, मिलनसार किशोरी संवाद केन्द्र तृतीय र फूलबारी रेडियो स्रोता समूह सान्त्वना भएको छ । समाजमा कायम रहेको लैंगिक हिंसालाई न्यूनीकरण गर्न सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएएको हो ।
कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बावियाचौरका निशान्त हमालले समाजमा रहेका विभेदहरूलाई अन्त्य गर्दै लैजानका लागि नयाँ ढंगबाट गरिएको कार्यक्रम प्रभावकारी भएको बताए । त्यस्तै गाउँ विकास समितिका सामाजिक परिचालक टीकाराम खरालले आगामी दिनमा पनि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, महिला सञ्जाल, युवा सञ्जाल, गाविसमा कार्यरत विभिन्न संघ–संस्था, साझेदार संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्रोता समूहकी अध्यक्ष कल्पना तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २३ भाद्र २०७३, बिहीबार ०४:४६