निजामती दिवस मनाइयो

सुर्खेत, २२ भदौ । (साबिस)
निजामती सेवा दिवस बुधवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीहरूले ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाएका हुन् ।
दिवसकै अवसरमा सुर्खेतमा प्रभातफेरी गरिएको छ । प्रभातफेरीपछि आयोजित कार्यक्रमका सहभागीहरूले कर्मचारीहरूको कामको मूल्याङ्कन गरेर दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने बताएका छन् । उनीहरूले जिल्लास्तरमा पनि कामको मूल्याङ्कन गरेर कर्मचारीलाई पुरस्कृत गर्नेुपर्ने बताएका थिए । यसले कर्मचारीहरूलाई कामप्रति हौसला बढाउने उनीहरूको भनाइ थियो । दिवसको अवसर रक्तदान, कार्यालय सरसफाइ, अन्तरक्रिया, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरू गरिएको छ ।
यसैबीच निजामती दिवसकै अवसरमा कालिकोटमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमवारदेखि सुरु भएको प्रतियोगिता बुधवार सम्पन्न भएको हो । बुधवार भएको फाइनलमा पत्रकारको टीमले नेपाली सेनाको टीमलाई हराउँदै उपाधि जितेको छ । प्रतियोगितामा जिल्लास्थित राजनीतिक दल, निजामती कर्मचारी, नेपाली सेना र पत्रकारको टीम सहभागी थिए । प्रथम हुन सफल पत्रकारको टीमले नगद पाँच हजार, द्वितीय हुने नेपाली सेनाको टीमले तीन हजार र तृतीय नेपाल निजामती कर्मचारीको टीमले दुई हजार रूपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका
छन् । दिवसकै अवसरमा मंगलवार कालिकोट जिल्ला सदरमुकाममा सरसफाइ कार्यक्रम गरिएको थियो ।