सामुदायिक वनमा चरम बेथिति, समूहको रकममा पदाधिकारीको रजाइँ
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ भदौ ।
गड्गडे सामुदायिक वन उपभोक्ता समूह बिजौराका तत्कालीन अध्यक्ष दत्तबहादुर गुरुङ्गले वन समूहको ९५ हजार रूपैयाँ दिएर आफ्नो छोरालाई विदेश पठाए । सामुदायिक वनको आम्दानी समूहका अन्य सदस्यलाई जानकारी नै नदिएर गुरुङ्गले छोरालाई विदेश पठाउन खर्च गरे । वन समूहको रकम दुरूपयोग गर्दै छोरालाई विदेश पठाउने गुरुङ्गको मुद्दा अहिले अख्तियारमा पुगेको छ ।
जिल्लाको पूर्वमा रहेको राम्री सामुदायिक वन उपभोक्ता समूह घोरेटाका अध्यक्ष प्रेमबहादुर खत्रीले समूहको दुई लाख १९ हजार नौ सय रूपैयाँ आफ्नो खातामा जम्मा गरेका छन् । अध्यक्ष खत्रीले वन समूहको रूपैयाँ व्यक्तिगत खातामा राखेको खुलेपछि जिल्ला वन कार्यालयले उक्त रकम समूहको खातामा जम्मा गर्न खत्रीलाई निर्देशन दियो । तर, खत्रीले वन कार्यालयको एकहप्ते अल्टिमेटम अटेर गर्दै हालसम्म सो रकम फिर्ता गरेका छैनन् । उनी सम्पर्कविहीन भएको वन कार्यालयले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको आम्दानीमा रजाइँ गर्ने पदाधिकारीहरूमा गुरुङ्ग र खत्री मात्र होइनन् । जिल्लामा रहेका दर्जनौं सामुदायिक वनका पदाधिकारीहरूले समूहको आम्दानीमा रजाइँ गरिरहेका छन् । समूहको रकम अन्य सदस्यहरूलाई जानकारी नै नदिएर अध्यक्ष र कोषाध्यक्षले मनोमानी प्रयोग गरिरहेको फेला परेको हो । समूहको आम्दानी पदाधिकारीले नै दुरूपयोग गरेपछि वन कार्यालयले त्यस्ता सामुदायिक वनको बैंक खाता नै रोक्का गरिदिएको छ । यद्यपि बारम्बार ताकेता गर्दा पनि पदाधिकारीहरूले आफूले प्रयोग गरेको रकम वन समूहलाई फिर्ता गरेका छैनन् । पदाधिकारीबाटै रकम दुरूपयोग हुन थालेपछि समूहका अन्य सदस्यहरूले वन कार्यालयमा उजुरी दिन थालेका छन् । पदाधिकारीहरूबाटै रकम दुरूपयोग हुन थालेपछि सामुदायिक वनको कोष परिचालनमा समस्या देखिएको सुर्खेतका सहायक जिल्ला वन अधिकृत सूर्यप्रसाद शर्माले बताए ।
तरंगामा रहेको बुङगाड सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले नियम विपरित कमिशनको लोभमा समूहको १३ लाख रूपैयाँ भुक्तानी दिए । पदाधिकारीहरूको मिलेमतोमा काम नै नगरेर अग्रिम चेक काटिएको भन्दै सदस्यहरूले उजुरी दिएपछि वन कार्यालयले हाल उक्त समूहको बैंक खाता रोक्का गरेको छ । सहायक वन अधिकृत शर्माले भने, ‘वन समूह आफैमा स्वायत्त हुन्, त्यसकारण पनि आर्थिक कारोबार उनीहरूले नै गर्छन् । तर समूहमा चरम बेथिति बढेको छ, अध्यक्ष र कोषाध्यक्ष मिलेर कोषको रकम दुरूपयोग भइरहेको छ ।’ शोभानचौर सामुदायिक वन उपभोक्ता समूह लगामका अध्यक्षले सल्लाह विना नै आफूखुशी १५ लाख खर्च गरेको भन्दै सदस्यहरूले उजुरी दिएका छन् । सदस्यहरूको उजुरीपछि समूहको बैंक खाता रोक्का भएको छ । यस्तै सदरमुकाम वीरेन्द्रनगरमा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह उत्तरगंगाका पदाधिकारीले एक लाख १५ हजार दुरूपयोग गरेपछि वन कार्यालयले सो रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
जिल्लाभर अहिले चार सय दुई सामुदायिक वन उपभोक्ता समूह छन् । अधिकांश समूहको आर्थिक कारोबार पारदर्शी नभएको वन कार्यालयको भनाइ छ । वीरेन्द्रनगर–११ मा रहेको ढापकोलेरी सामुदायिक वन समूहका पदाधिकारीहरूले २३ लाख रूपैयाँ हिनामिना गरेको पाइएको छ । सदस्यहरूले उजुरी दिएपछि वन कार्यालयले समूहको खाता नै रोक्का गरेर छानविन गरिरहेको छ । वन कार्यालयले १७ लाख रूपैयाँ दुरूपयोग भएको ठहर गर्दै उक्त रकम पदाधिकारीबाटै भराउन निर्देशन दिएको छ । छिन्चुमा रहेको साझगोठेरी सामुदायिक वन र हरिहरपुरमा रहेको भिरेपहरा सामुदायिक वनको आम्दानी पनि पदाधिकारीहरूले हिनामिना गरेका छन् । साझगोठेरी वन समूहको सात लाख हिनामिना भएपछि अहिले अख्तियारमा मुद्दा चलिरहेको छ । यस्तै भिरेपहरा वन समूहका पदाधिकारीहरूले नियम विपरित वैदेशिक रोजगारीमा जानेलाई पाँच लाख रूपैयाँ दिएको भेटिएपछि वन कार्यालयले उक्त रकम समूहको खातामा जम्मा गर्न निर्देशन दिएको छ ।
जिल्ला वन अधिकृत हेमराज विष्टले सामुदायिक वनको रकम दुरूपयोग रोक्नेतर्फ आफूहरू सचेत रहेको बताए । उनले भने, ‘नियम अनुसार खर्च नभएको विषयमा हामीले छानविन गरिरहेका छौं, कसैले पनि प्रक्रिया विपरित समूहको रकममा रजाइँ गर्न पाउँदैनन् । रकम दुरूपयोग गर्नेलाई हामीले पत्र काटेर जम्मा गर्न निर्देशन दिएका छौं, अटेर गरेमा थप कारबाहीका लागि प्रशासनलाई आग्रह गर्नेछौं ।’ जिल्लाका सामुदायिक वनहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको र पदाधिकारीहरूले नै रकम दुरूपयोग गर्ने क्रम पनि बढेको भन्दै विष्टले आफूहरूले निगरानी समेत बढाएको जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।