गुर्भाकोट र भेरीगंगालाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत : समाज जागरण केन्द्र(स्याक)नेपालले सुर्खेतका दुइ वटा स्थानीय तहमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा स्याकले जिल्लाका भेरीगंगा र गुर्भाकोट नगरपालिकामा संचालित नेपाली युवाका लागि स्वास्थ्य रुपान्तरण परियोजनाले नगर स्वास्थ्य शाखालाई उक्त सामग्री प्रदान गरेको हो ।

सर्जिकल ग्लोब्स, सर्जिकल मास्क, सेनिटाइजर, डिस्पोजेबल ब्याग लगायत विभिन्न १५ प्रकारका सामग्री सहयोग गरिएको स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए । उनका अनुसार भेरीगंगामा पाँच सय थान र गुर्भाकोटमा चार सय ५० थान दिइएको छ ।

कोरोनाविरुद्वको सामूहिक लडाइँमा सहयोग पुर्याउन अत्यावश्यक सामग्री सहयोग गरिएको आचार्यले जनाए । ‘स्वास्थ्य संस्था, क्वारेन्टाइन तथा आइसोलेसन र संभावित जोसिखममा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, परामर्श तथा अन्य कार्यहरु गर्नका लागि स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरुलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु सहयोग गरेका छौँ’ आचार्यले भने ‘अहिले हामी कोरोना भाइरसको महामारीका विरुद्धमा लडिरहेको छौं । यो लडाई एक्लैले भन्दा पनि सामुहिक रुपले मात्र यसलाई परास्त गर्न सकिन्छ । यसैले यो विपद् तथा महामारीमा हामीले पनि सरकारका कामलाई सहयोग गरेका हौँ ।’

प्रकाशित मितिः   २१ चैत्र २०७६, शुक्रबार १७:२७