कोरोना कहर : दृष्टिविहीन दम्पतीलाई छाक टार्नै मुस्किल

जुम्ला : तातोपानी गाउँपालिका– ७ सर्मीका गोरीकला तिरुवा र उनका श्रीमान मानबहादुर कुँवर दुवैजना दृष्टिविहीन हुन् । आफन्त र छरछिमेकीसँग सर-सापटी गरेर जीवीकोपार्जन गर्दै आएका यो  दम्पतीका लागि लकडाउनले झन् मुस्किल बनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै सरकारले एघार दिनदेखि देश लकडाउन गरेको छ । हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जसको मारमा गोरीकला र मानबहादुर परेका छन् । लकडाउन भएसँगै दैनिक गुजारा चलाउन थप मुस्कील भएको उनीहरु बताउँछन् ।

बस्ने घरसमेत नभएका उनीहरु गाउँलेको सहयोगमा आश्रित थिए । अहिले गाउँलेबाटै सहयोग नपाउने अवस्था छ । यसअघि सरसापट गर्दै गुजारा चलाएका उनीहरुले लकडाउनका कारण चामल बोक्ने सवारी साधन नचल्दा उधारोमा पनि खाद्यान्न पाएका छैनन् ।

बस्तीबाट झण्डै दुइ किलोमिटर टाढा बसेका उनीहरुले गाउँलेको सहयोग नपाएपछि यतिबेला बिहान-बेलुकाको छाक टार्न हम्मे–हम्मे परेको हो । ‘दैवले नै ठगेको हामीलाई अहिले झन् कोरोना महामारीले भोकै मर्नु पर्ने स्थिति आयो,’ गोरीकला तिरुवाले भनिन् ।

भान्सामा खाद्यान्न र खाना पकाउने दाउरा पनि नभएको गोरीकलाका श्रीमान् मानबहादुर कुँवरले बताए । यी दम्पतीले एक वर्षअघि अन्तरजातीय बिवाह गरेका हुन् । दलितसँग बिवाह गरेको भन्दै कतिपयले आफूलाई घृणा समेत गर्ने गरेको उनको गुनासो छ । ‘न बस्ने बास छ, न खाने गास,’ मानबहादुरले भने, ‘गाउँलेका सहयोगले गुजारा चलाउँदै आएका थियौं । अहिले उनीहरुनै अप्ठ्यारोमा छन् । हाम्रा दर्द कसले देख्ने ? अब भोकभोकै मर्नु पर्ने त होला ।’ कसैले सहयोग गर्लान की भन्ने आशा भने लागिरहेको उनले सुनाए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो साता प्रत्येक बस्तीमा पुगेर नागरिकको समस्याबारे जानकारी लिएको बताए । ‘दृष्टिविहीन दम्पतीलाई भेटेर उनीहरुको समस्या समाधान गर्न वडापालिकालाई भनेको छु,’ उनले भने, उहाँहरुले वडाबाटै खाद्यान्न लगायतका राहत सामग्री पाउनुहुन्छ ।’

प्रकाशित मितिः   २१ चैत्र २०७६, शुक्रबार १४:०५