मजदुरलाई राहत : चार जनाको परिवारलाई १५ केजी चामल

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका करिब ६ हजार नागरिकलाई खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनका बेला मजदुरी गर्न नपाएका नगरका १६ वटै वडाका मजदुर परिवारलाई खाद्यान्न वितरण गर्न लागिएको हो ।

कोरोना भाइरसको कारण लामो समय लकडाउन भएपछि मजदुर तथा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । नेपाल सरकारले उपलब्ध गराएको मापदण्डलाई आधार बनाई वीरेन्द्रनगर नगरपालिकाले नगरका सबै वडा कार्यालयहरुलाई मजदुर र विपन्न परिवारको तथ्यांक संकलनको जिम्मा दिएको छ । सबै वडाबाट मजदुर तथा अतिविपन्न परिवारको तथ्यांक नआए पनि अनुमानित ६ हजार विपन्न परिवार नगरका सबै वडामा रहेको उप–प्रमुख ढकालले बताइन् । ‘वडा कार्यालयले टोल विकास संस्थाहरुलाई जिम्मा दिई विपन्नको तथ्यांक लिइरहेका छन्,’ उनले भनिन् ‘टोल विकास संस्थाले सिफारिस गरे मात्रै वडाले खाद्यान्न वितरण गर्छ ।’ खाद्यान्न वितरणको जिम्मा सम्बन्धित वडा कार्यालयलाई दिइएको छ ।

बिहीवारदेखि वीरेन्द्रनगरको वडा नं. ५ बाट खाद्यान्न वितरण सुरु गरिएको छ । शुक्रबार ‐आज) वीरेन्द्रनगर १२ र ८ मा खाद्यान्न वितरण गरिँदै छ । चार जनाको परिवारलाई १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक पोका तेल वितरण गर्ने गरिएको उपप्रमुख ढकालले जानकारी दिइन् ।

त्यस्तै चार जनाभन्दा बढी सदस्य संख्या भएको परिवारलाई ३० केजी चामल, २ केजी दाल, एक केजी नुन र एक पोका तेल वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका लागि ८० लाख रुपैयाँ खाद्यान्न वितरणका लागि बजेट छुट्याइएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७६, शुक्रबार १२:४९