‘जहाँ बिरामी, त्यहीँ उपचार हुन्छ’


कोरोना भाइरस(कोभिड–१९)प्रतिकार्यमा सरकारका सबै तह सक्रिय भएका छन् । कर्णाली प्रदेश सरकारले पनि विभिन्न योजना बनाएर काम गरिरहेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले गरेको समग्र तयारीसहितको अवस्थाका बारेमा हाम्रा सहकर्मी मुना हमालले प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उच्चस्तरीय कार्यान्वयन समितिका संयोजक समेत रहेका रावलसँगको टेलिफोन संवादको सम्पादित अंश :

१) कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले के–कस्ता तयारी गरिरहेको छ ?

यो महामारीलाई सामना गर्न र नागरिकलाई सुरक्षित गराउन के गर्न सकिन्छ भन्ने योजना बनाउन गत फागुन २३ गते कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठक बस्यो । जुनसुकै परिस्थितिलाई पनि समाना गर्नुपर्छ भनेरै हामीले सुरुमै ५० करोडको आपतकालीन कोष स्थापना ग¥यौं । त्यसपछि हामीले सबै जिल्लामा ५० लाखका दरले बजेटको व्यवस्था ग¥यौं । जिल्लामा क्वारेन्टाइन निर्माण गरेर भारतबाट फर्किएका व्यक्तिहरूलाई अनिवार्य १४ दिन राख्ने निर्णय अनुसार अहिले काम भइरहेको छ ।

त्यस्तै, जिल्ला–जिल्लामा आइसोलेसन, आइसीयू, भेन्टिलेटरका बेडहरू राख्ने काम पनि हामीले गरेका छौं । प्रदेश सरकारले कोरोना भाइरस संक्रमित बिरामीका लागि भनेर तीन वटा अस्पताल तोकिसकेको अवस्था छ । संघीय सरकारले पठाएका स्वास्थ्य समाग्री सबै जिल्लामा पु¥याइसकेका छौं । यदि कहिँकतै कोरोना संक्रमित बिरामी भेटिए त्यहीँ नै चिकित्सकको टोलि पठाएर उपचार गर्ने व्यवस्था गरिएको छ । आपतकालीन रूपमा चिकित्सकको टोलिलाई पठाउन एयर फ्टििङको व्यवस्था हुँदै छ । नागरिकहरूलाई सूशुचित गर्ने कामलाई पनि सँगै अघि बढाएका छौं । यसका लागि प्रदेशका सबै स्थानीय तहसँग समन्वय भइरहेको छ ।

मजदुरी गरेर खाने परिवार, बाढीपीडित र राउटे समुदायलाई यतिबेला अप्ठ्यारो छ । हामीले राउटे समुदायमा खाद्यान्न पनि वितरण ग¥यौं । अरुका लागि स्थानीय तहले काम अघि बढाएका छन् । हामीले मानव सेवा आश्रममा रहेका व्यक्तिहरूलाई पनि खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएका छौं । आपूर्ति व्यवस्थानलाई चुस्त गराउने काम भएको छ । सबै काम एकिकृत ढंगबाट अघि बढाएका छौं ।

हिजोदेखि कर्णाली प्रदेशबाट कोरोना भाइरस परीक्षण सुरु गरेका छौँ । यो मेसिनले दैनिक १० देखि १५ जनासम्मको नमूना परीक्षण गर्न सक्छ । त्यसैले हामीले अहिले आशंका गरिएका बिरामी, भारतबाहेक खाडी मुलुकबाट आएका व्यक्तिहरूको तत्काल परीक्षण गर्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मेसिन थप्ने प्रक्रियामा छौं । त्यहाँ पनि परीक्षण गर्न सकियो भने थप सजिलो हुन्छ ।

२) भारतलगायतका तेस्रो मुलुकमा रहेका कर्णालीका नागरिकलाई १० दिनभित्र प्रदेश फर्किन आह्वान गर्नुभयो जब फर्किए प्रदेश प्रवेशमा रोक लगाउनु भयो । सयौं नागरिक अहिले पनि सीमा क्षेत्रमा अलपत्र छन् यस्तो निर्णय गर्नु उचित थियो ?

कर्णालीबाट धेरै दाजुभाइ–दिदीबहिनी भारत(कालापहाड) भएकाले त्यहाँ पनि श्रम नै गरेर खानुपर्ने बाध्यता थियो । भारतमा पनि कोरोना संक्रमितका बिरामी भेटिदै थिए । भारतमा लकडाउन भयो भने मजदुरी गरेर खाने हाम्रा नागरिकलाई समस्या हुन्छ भनेर छिटो घर फर्किन निर्णय गरेका हौं । आफ्नै ठाउँमा आएपछि छिमेकीको सहयोग हुन्छ । यदि नभए सरकारले हेर्छ । यसकारण हामीले यो निर्णय गरेका हौं । तर हामीले निर्णय गरेको एक÷दुइ दिनमै संघीय सरकारले लकडाउन गरिदियो । नागरिक नाकामा अलपत्र परे । हामीले पनि उद्धार गरेर ल्याएर प्रदेश राजधानीको तयार गरिएको क्वारेन्टाईनमा राखेका छौं । नेपाल सरकारले अहिले नाकामा अलपत्र परेका नागरिकको डिल गरिरहेको छ । भारत र नेपाल सरकारबीच अलपत्र परेका एकअर्कोका नागरिकलाई सहयोग गर्ने सहमति भएको छ । नेपालमै पनि लकडाउन पछि हाम्रा कर्णालीका नागरिक विभिन्न सहरमा दुःख अप्ठेरोमा हुनुहुन्छ । हामीले केहीको उद्धार पनि गरेका छौं ।

३) सरकारले यस्तो बेला जहाँ हो त्यहीँ सुरक्षित र सतर्क भएर बस्न आग्रह गर्नुपर्ने होइन र ?

हामीले यही नै आह््वान गरेका छौं । दुःख–सुख सहेर बस्नुहोस् भनेका छौं । अहिले हामीसँग यसको विकल्प अरु केही छैन । भारतबाट फर्किदा हाम्रा दाजुभाइले दुःख पाएकोमा हामी सबैको मन दुखेको छ । त्योभन्दा पनि यो महामारीलाई सामना गर्न जरुरी छ । सबै सचेत भएर सुरक्षित हुनुपर्छ । कोही भागेर पनि आउनु भएको छ । दुःख पाउनु भएको छ । भागेर आउनुभन्दा जहाँ भएपनि सुरक्षित भएर बस्नु नै उचित हुन्छ ।

४) प्रदेश सरकारले औषधि, उपकरण र जनशक्तिको व्यवस्थापन कसरी गर्दै छ ?

हामीले औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनलाई पनि जोड दिएका छौं । जनशक्तिको अभाव भयो भन्ने गुनासा आउनु हुँदैन भनेर लागिरहेका छौं । प्रदेशबाट पनि जनशक्तिको व्यवस्थापन केही ग¥यौं । जिल्ला र स्थानीय तहमा पनि भनेका छौं । बजेटको व्यवस्था हामी गर्छौं भनेर भनिरहेका छौं । सबै हेर्दा जनशक्तिको अभाव होला जस्तो लाग्दैन । उपकरणको कुरा गर्दा चीनबाट आएको सामग्री वितरण गरेका छौं । प्रदेश सरकारले पनि आवश्यकता अनुसार व्यस्थापन गर्छ । यो अरु रोग जस्तो छैन । अर्को ठाउँ लैजाने भन्दा पनि त्यही उपचार गर्नुपर्ने हुन्छ । त्यसखालको रणनीति बनाएका छौं । मेडिकल टिम पठाएर उपचार गर्छौं । हेलिकोप्टर तयार राख्ने भनेका छौं ।

५) स्वास्थ सेवा कमजोर भएको कर्णालीमा अहिले झनै कोरोना संक्रमणको रोकथाममा मात्रै केन्द्रीत हुँदा अरु विरामीले औषधि उपचार पाउनै मुस्कील भयो भन्ने गुनासा आएका छन् नी ?

अहिले यो महामारी संसारभरी छ । हामी सबै सचेत हुन आवश्यक छ । हामीले स्वास्थ्य संस्थाहरूमा बढी भिड हुन्छ भनेर आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेका छौं । तर आजै अप्रेशन गर्नुपर्ने खालको केस छ भने हुन्छ । सामान्य बिरामीका लागि अहिले सेवा बन्द छ । यसले मर्का पनि परेको छ । परिस्थिति अनुसार सबैले बुझनुपर्छ ।

६ ) अन्त्यमा, यो विपद्का बेला प्रदेशवासीलाई यहाँको केही सुझाव छ ?

म कर्णालीबासीलाई भयवित नहुन अनुरोध गर्न चाहान्छु । तर सचेत भने बन्नुहोस् । यस रोगलाई सरकार र अस्पतालले रोक्ने भन्दा पनि नागरिकले रोक्ने हो । हरेक नागरिक सचेत भए संक्रमणको जोखिम हुँदैन । यतिबेला घरभित्रै बस्नु सुरक्षित हुन्छ । लकडाउनको पूर्णरूपमा कार्यान्वयन गरौं । सरकारले यहाँहरूलाई दुःख दिन लकडाउन गरेको होइन । सरकाले गरेका काममा सहयोग गरिदिनुहोस् । यो अभियानमा साथ दिनुहोस् । तपाईंहरूको साथले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र सरकारलाई हौसला हुन्छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७६, शुक्रबार ११:५८