रामायण : व्यैक्तिक आचरणदेखि राजनैतिक चरित्रको प्रेरणास्रोत
रामायण दुनियाँको पहिलो लिखित कृति हो, देवर्शी बल्मिकीद्वारा रचित महाकाव्य हो र भगवान रामको जीवनगाथा हो । उच्च आध्यात्मिक मर्यादा बोकेको यस शास्त्रका बारेमा एक संसारिक परिवेशको एक सामान्य व्यक्तिले जति वर्णन गर्दा पनि अपूर्ण नै रहला तर पनि आफ्नो जीवन रुपान्तरणको कारण बनेको यस काव्यका केही प्रेरणादायी अनुभवहरु साट्ने प्रयत्न गर्दै छु ।
त्रेता युगमा अयोध्या राज्यका राजा दशरथ र रानी कैशल्याको जेष्ठ पुत्रका रुपमा चैत्र महिनाको नवमी तिथिमा श्रीरामको जन्म भएकोले नै आजको दिनलाई रामनवमीको रुपमा मनाइने चलन रहीआएको छ । श्रीरामलाई मर्यादा पुरुषोत्वमको नामले पनि चिनिन्छ, उनी एक सामान्य मानवकै रुपमा जन्मिएर जीवन निर्वाह गरेको कथा रामायणले देखाउँछ तर जीवनका हरेक कालखण्ड: वाल्यकाल, गुरुकुलमा विद्यार्थीकाल, राजकुमार, वनवास, लंका युद्ध, राज्य संचालन, राज्य हस्तान्तरण जस्ता सबै जिम्मेवारीहरु पूर्ण जिम्मेवरीपूर्ण, इमान्दारिता, मर्यादापूर्ण, सहनसिलता र उत्कृस्टतासहित पुरा गरी स्वेच्छिक मृत्युवरण गरेकाले होला उनलाई वागवानको रुपमा मानिन्छ, पुजिन्छ ।
हुन त रामायणले कुनै एकमात्र विषयवस्तुको प्रेरणा दिदैन यसमा श्रीरामले आफ्नो जीवनकालमा परिआएका विभिन्न जिम्मेवारीहरु पुरा गर्न अपनाएको धर्म र मर्यादाको बाटोले मानव जगतलाई व्यैक्तिक, पारिवारिक, सामाजिक र राजनैतिक कुशलताका लागि प्रेरणा प्रदान गर्दछ । यस्ता धेरै प्रेरणामध्येको एउटा महत्वपूर्ण पक्ष हो जसलाई श्रीरामले आफ्नो सबै जिम्मेवारीमा महत्व दिए त्यो हो ‘महिला अधिकार र समानता’ जुन अहिले पनि विश्वले एउटा सामाजिक सवाल विरुद्दको प्रेरणाका रुपमा लिन सक्दछ ।
सिता र रामको जन्म समाजको आवश्यकताले स्वयं भगवान विष्णु र माता लक्ष्मीले मानव अवतार लिएको बताइएता पनि, श्रीराम र सिताले आफ्नो जीवन पूर्ण रुपमा मानविय चरित्रद्वारा समाजमा रहेका अन्याय, अत्याचार, विभेद, अमानवीयता र अधर्मका विरुद्द रचनात्मक र न्यायोचित तरिकाले विरोध गरि समाजलाई सुमार्गतर्फ प्रेरणा प्रदान गरेका छन् ।
सिता र श्रीरामको जीवनकालमा समाजलाई सत्मार्गतर्फ प्रेरित गर्ने केही महत्वपूर्ण घटनाक्रमहरु :
वनवास: रानी कैकइसँग गरेको वचनलाई पुरा गर्न दोषरहित श्रीरामलाई पिता दशरथबाट १४ वर्षको वनवास आदेश भएको कुरालाई श्रीरामले बिना हिचकिचाहट सिरोधार्य गर्दै राज्याभिषेक तय भएको दिनमा वनवासका लागि सहजै स्वीकार गर्दछन्, र सोसंगै नवविवाहित दुलही सिता र भाई लक्ष्मण पनि पति र दाईको उत्तराधिकारीको रुपमा धर्मरक्षाका लागि वनवास धारण गर्दछन् । यो अहिलेको परिवेशमा असामान्य कथन लागे पनि यसले गहिरो सामाजिक महत्वलाई धारण गरेको छ । समाजको महत्वपुर्ण एकाई परिवार हो र त्यो परिवारमा मर्यादा कायम हुन नसके समाज र राष्ट्र कमजोर हुने हुँदा आफ्नो वचनप्रतिको प्रतिवद्दता, उच्च पारिवारिक मर्यादाको संस्कार, आदर, आज्ञा पालन र जिम्मेवारी बोध जस्ता महत्वपूर्ण मूल्यहरुको प्रेरणा यसले प्रदान गरेको छ ।
चरण पादुकाको शाशन: भरत मामाघर हुँदा भएको वनवास र पिता देहावसानको घटनाको कारण अप्रत्यक्ष आफु भएको महसुस गरेका उनले माता कैकायीलाई कुकर्मको लागि घृणा गर्दछन् । श्रीरामलाई घर फर्काइ राज्यसम्हाल्न बाध्य गर्ने संकल्प सहित सम्पूर्ण मन्त्रि, सेना र जनता सहित वनमा पुग्छन् । श्रीरामले पिताको वचन पुरा गर्नु प्रथम धर्म भएकाले १४ वर्ष वनवास पुरा गर्ने कुरा गरेपछी उनले एउटा सर्त माग्छन्, श्रीरामको चरण पादुकालाई राज गद्दीमा राखेर आफु त्यसको सेवक भएर राज्य संचालन गर्ने र १४ वर्षभन्दा एक दिन पनि ढिलो भए आफुले प्राण त्याग गर्ने ! भरतको यो व्यवहारले दाइप्रतिको उच्च सम्मान र प्रेम भक्ति मात्र धर्म रक्षाको उत्कृस्ट उदाहरण पेश गर्दछ । राज्य, पद र प्रतिष्ठाको लोभमा अनेकौं जालझेल र दुस्कर्म गर्ने अहिलेको परिवेसमा त्याग र समर्पणको मूल्य कति धेरै हुन्छ भन्नेकुराको निकै ठुलो सन्देश दिएको छ ।
जुठा फल ग्रहण: वनवासको क्रममा एकजना सवरी नाम गरेको जनजाती महिलाले उनलाई भनेर वयर फल चाखेर पाकेको भरि राखेको र उक्त जुठा फल श्रीरामले सहजै ग्रहण गर्नुले उनी समाजमा निहित जातीय, वर्गीय विभेद विपरित भएको कुरा दर्शाउँछ भने भक्त र आराध्यबीचको निश्चल प्रेमको समेत प्रेरणा प्रदान गर्छ जहाँ जात, धर्म, लिङ्ग या वर्गले केही अर्थ राख्दैन ।
लंका युद्ध: सन्यास धारण गरी वनवास रहेको अवस्थामा महाशक्तिशाली असुर सम्राट रावणले पत्नी हरण गरी सय योजन टाढा समुद्र पारि लागेको कुरा थाहा पाउँदा पाउँदै पत्नीलाई बन्दी मुक्त गर्न गरेको मेहेनत र विस्वासले पति धर्म, पारिवारिक जिम्मेवारी र सामाजिक अन्यायप्रतिको संघर्षले समाजलाई प्रेरित गरेको छ ।
सिताद्वारा राज्य परित्याग: सितारामबीच सच्चा र निश्चल प्रेम रहेको कुरा धेरै घटनाले प्रस्ट्याएको छ तर लंकाबाट मुक्त गरेर फर्किदा समाजले भविस्यमा उठाउन सक्ने प्रश्नको डरले अग्नि परिक्षा गरेर मात्र अयोध्या प्रवेश गर्ने निर्णय श्रीरामले गर्दछन् । अयोद्यामा राज्यव्यवस्था सम्हाली सकेपछी समाजमा कहिँकतै सिताको अस्मितामाथि प्रश्न उठाउँदै नारीहरुमाथि हिँसा र दमन भैरहेको कुरा राजा रामले सुन्दछन् । मर्यादा पुरुस्वतमको नामले परिचित श्रीराम यो कुराले चिन्तित हुन्छन्, शंका र अनादर सहितको राज्य सत्ता संचालन गर्नुमा उनलाई संकोच भैरहेको कुरा वुझेर रानी सिताले नारि आत्मसम्मान र अधिकारका लागि राज्य त्याग गर्ने निर्णय लिन्छिन् र यसमा सहयोग गर्न श्रीरामलाई अनुरोध गर्दछिन् । समस्त नारि जातिमाथी हुने विभेद र हिँसा विरुद्दको महान विद्रोहको कदम रहेको र जबसम्म समस्त राज्यमा नारिलाई सम्मान र समानता कायम हुँदैन तबसम्म नफर्किने अठोट सहित राज्य त्याग गर्ने रानीको कठोर तपस्या नै अयोध्यामा नारि सम्मान पुनर्स्थापनाको कारण भएको छ । महिला अधिकार र समानता अहिले पनि विश्वको एउटा ठुलो सामाजिक सवाल रहेको छ, र यसको विरुद्दको सशक्त आन्दोलनको सुरुवात रामायणबाट भएको पाइन्छ । अहिले कानुनि र सजायमुखी आन्दोलनहरु जति धेरै भएका छन् त्यति धेरै सवाल बढिरहेको पाइन्छ तर रामायणले जबसम्म व्यक्तिगत आचरणमा रुपान्तरणका लागि महसुस गराउन सकिदैन तबसम्म रुपान्तरण हुँदैन र त्यो महसुसिकरण डर, त्रास, आक्रमण या सजायले नभई प्रेरणाले मात्र सम्भव छ भन्ने कुराको सन्देश प्रदान गर्दछ र सितारामले आफ्नो दाम्पत्य जीवनको बलिदान यसैका लागि गरेको बुझिन्छ ।
समर्पित (दाम्पत्य) जीवन: सितारामले जीवनलाई एक अर्काको लागि र समस्त मानव कल्याणका लागि समर्पित गरेको कुरा रामायणका हरेक काण्डमा प्रस्तुत छ । विना दोष सौतेनीआमामाको दुस्विचार र षड्यन्त्रका कारण आदेश भएको १४ वर्षको वनवासलई सहर्ष स्वीकार गर्नु, नवविवाहित दुलहीले पतिसंगै वनवास जाने स्वेच्छिक निर्णय लिनु, असुरले हरण गरेको पत्नीको लागि समर्पित र संकल्पित भइ युद्द गर्नु, राज्यसत्ता खोसिएर वनवास भोगिरहेको पतिको लागि लंका र रावणको सुख, धन अनि यसलाई बेवास्ता गरि पतिव्रत भइ बस्नु, पतिको शासनकालमा जनताको आरोपबाट बचाउन र समाजलाई रुपान्तरण गर गर्भावस्थामा राज्य परित्यागको कठोर निर्णय लिनु, सीताको वनवासमा दोस्रो विवाहको लागि सवैबाट दबाब आउँदा पनि दोस्रो विवाह अस्विकार गरि पत्नीव्रत रहनु, वनमै रहेर समाजमा निहित विभेद अन्त्यका लागि पुत्रहरुलाई प्रशिक्षित र परिचालित गर्नु अनि श्रीरामले लवकुशको नारि अधिकार र समानताको अभियानलाई अप्रत्क्षय सहयोग गर्नु जस्ता दृष्टान्तले उनीहरु पति-पत्नी बीचको अनन्य प्रेम, बुझाई र समस्त मानव कल्याणप्रतिको समर्पणलाई प्रेरित गर्दछ ।
हनुमानीजम: रामायणका सबैभन्दा महत्वपूर्ण पात्र हुन् हनुमान, स्वयं भगवान शिव वानर रुप धारण गरेर रामको सहयोगी रुपमा आएको विस्वास गरिन्छ । भक्त र भक्तिको पर्यायका रुपमा हनुमानलाई चिनिन्छ । रामायणको नाम लिदा, या श्रीरामको नाम लिदा स्वभाविक रुपमा आउने नाम हो हनुमान ।
रामायणमा उल्लेखित श्रीरामले जीवनमा भोगेका अनेकौं संकटहरुलाई क्षणभरमा निदान गर्ने क्षमाता राख्ने भएकाले यिनलाई संकटमोचन पनि भनिन्छ । योग, साधना र जपद्वारा धेरै शक्तिहरु आर्जित गरेका हनुमानले श्रीरामलाई स्वामी मान्दछन् । उनी आफुमा धेरै ठुला र अपत्यारिला शक्ति, ज्ञान, मान भए पनि अहंकाररहित अथवा आफ्नो मानलाई हनन् गरेर सामान्य रामभक्तको रुपमा हमेसा प्रस्तुत गर्ने भएकाले नै उनलाई हनुमान(मानहनन गर्नेवाला) नाम रहेको मानिन्छ ।
रामायणमा उनले धेरै ठाउँमा आफ्नो असिमित शक्तिको बलले श्रीरामलाई सहयोग गरेका छन्, अझ भनौं श्रीरामको जितको पछाडी हनुमानको वीरता छ । तर उनले कुनै पनि ठाउँमा आफ्नो बल, शक्ति र विरताको घमण्ड गरेका छैनन् । यो सम्वन्ध एक यस्तो सम्बन्ध हो जहाँ हनुमानले रामलाई सधै स्वामी(भगवान) को रुपमा सम्बोधन गरेका छन् भने श्रीरामले हनुमानलाई सधै भाईको सम्बोधन भएको छ तर कहिल्यै पनि सेवकको रुपमा हेरिएको छैन ।
‘हनुमानहरु’ अहिलेको राजनीतिमा प्रयोगमा आइरहने शब्द हो तर यसलाई गलत रुपमा अर्थ्याइएको छ, जब कसैले आफ्नो व्यक्तिगत या पद प्रतिष्ठाको लालचमा कसैको क्षणीक भक्तिगान गायो भने उसलाई हनुमानको संज्ञा दिइन्छ जुन ठिक विपरित छ । हो हनुमान श्रीरामको अन्धभक्त थिए तर उनले त्यो भक्ति व्यक्तिगत पद, प्रतिष्ठा या लालचको लागि कहिल्यै गरेको देखिदैन बरु उनले त आफुसँग भएको वीरतालाई स्वामीको हितमा समर्पित गरे । तर त्यो कुराको कहिल्यै घमण्ड गरेनन् । थोरै ज्ञान, धेरै अहंकार, लोभ-लालच र स्वार्थपूर्ण सम्बन्धले व्याप्त आजको समाजले हनुमानका गुणहरु वास्तविक रुपमा अनुशरण गर्न सक्ने हो भने हाम्रा व्यक्तिगत, सामाजिक र राजनीतिक सवालहरु मेटिएर जानेछन् । तसर्थ ‘हनुमानिजम’ को वास्तविक अनुशरण आजको आवश्यकता हो ।
राम राज्य: रामराज्य समानता, सुशासन र न्यायको को पर्यायका रपमा चिनिन्छ । जनतालाई सन्तान मान्नु, राज्यको भलाई र उन्नतिका लागि लागिपर्नु आफ्नो प्रमुख धर्म र कर्म मान्नु र सत्य सनातन धर्मलाई राज्यको मार्गदर्शक मान्नु राम राज्यका प्रमुख गुणहरु हुन् । राज्यमा कुनै संकट आइपर्दा आफै संकटविरुद्द खट्नु होस् या जनताले रानीमाथि प्रश्न उठाउँदा निरंकुशता नदेखाई त्यसको रचनात्मक प्रतिकार गर्नुले श्रीरामले जनता या राज्यलाई प्रमुख प्राथमिकता दिने कुरा झल्किन्छ । श्रीरामद्वारा पठाएको अयोध्याको झण्डा सहितको अस्व (घोडा) लाई अन्य कुनै राज्यले प्रतिकार नगर्नुले राम राज्यलाई समस्त जनताले मात्र नभई अन्य राज्यहरुले समेत स्वीकारेको आँकलन गर्न सकिन्छ ।
राज्यसत्ता, पदीय लोभ अनि धर्म र सिद्दान्तविहीन अहिलेको राजनैतिक प्रणालीले रामराज्यले अंगालेको शाशन प्रणालीलाई अनुशरण गर्नसके विभिन्न विचारधाराले परिकल्पना गरेका समाजवाद, गणतन्त्र, सुशासन, समानता, न्याय, आर्थिक उन्नति जस्ता एजेण्डाहरु प्राप्त भएको जनताले आभाष गर्ने छन् ।
प्रकाशित मितिः २० चैत्र २०७६, बिहीबार १५:०२
साझा बिसौनी ।