नवागन्तुकलाई गाउँ प्रवेशमा रोक

सुर्खेत/रासस :  कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट जोगिन कर्णालीका कतिपय बस्तीमा नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएको छ । जुम्लाको तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् ।

गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तविर रावतले राससलाई जानकारी दिए ।  ‘यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ’, रासससँग कुरा गर्दै वडाध्यक्ष रावतले भने, ‘प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ ।’  गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।

उनका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालु पनि राखिएको छ । नियम तोडे कारवाही पनि गरिने छ । लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।

प्रकाशित मितिः   २० चैत्र २०७६, बिहीबार १२:१६