शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक

साझा बिसौनी संवाददाता
दैलेख, १४ चैत । 
यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेला बाहेकको समयमा प्रायः अभिभावकहरू विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइ दिए मात्र उनीहरू आफ्नो कर्तव्य पूरा भएका ठान्थे । तर हिजो आज अभिभावकहरूको सोच फेरिएको छ । उनीहरूले निरन्तर विद्यालय र विद्यालयको गतिविधिको निगरानी राख्न थालेका छन् ।
अभिभावकहरूको निगरानी बढेपछि दैलेखको पिलाडीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रूपरङ्ग नै फेरिएको छ । शैक्षिक गतिविधिमा सुधार हुन थालेको छ । यहाँका अभिभावकहरू विद्यालयको पूर्वाधार निर्माणदेखि अध्ययन–अध्यापनमा समेत चासो राखेर निगरानी गर्न थालेका छन् । हरेक दिन कुनै न कुनै अभिभावक विद्यालयमा पुगेकै हुन्छन् । विद्यालय जाँदा अभिभावकहरू भवन निर्माणका लागि आवश्यक ढुङ्गा बोकेर जान बिर्सदैनन् । त्यतिमात्र होइन विद्यालय पुगेपछि शिक्षकहरूले समयमै पढाए–नपढाएको पनि निगरानी गर्छन् । जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार भएको अभिभावकहरू बताउँछन् ।
‘अभिभावकहरू ढुङ्गा बोकेर स्कुल मात्रै जाँदैनन् उनीहरू हरेक दिन स्कुलमा बसी शिक्षकले पढाए नपढाएको अनुगमन गर्छन् र साँझ फर्किने समयमा दिनभरी भए गरेका क्रियाकलापहरूको मूल्याङ्कन गरी शिक्षकहरूलाई सल्लाह सुझाव पनि दिने गर्दछन् ।’ स्थानीय अभिभावक दिलमाया रोकायाले भनिन् । उनका अनुसार विद्यालयमा हरेक दिन एक अभिभावक आएर दिनभरी स्कुलमा बसी स्कुलका गतिविधिलाई अनुगमन गर्ने गर्दछन् । जसले गर्दा शिक्षकहरू स्कलमा समयमा र नियमित आउने गर्दछन् भने बालबालिकाहरू पनि  विद्यालयमा नियमित आउने भएका छन् । शिक्षिका पार्वतीकुमारी बुढाका अनुसार यसरी अभिभावकहरू नियमित विद्यालय आइ दिनभरी अनुगमन गरी साँझ सल्लाह सुझाव दिएर जाने भएकाले हामी शिक्षकहरूलाई सजिलो हुनुका साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा भएका कमी कमजोरीहरूलाई सुधार गर्ने मौका समेत मिलेको छ ।
‘पहिले त यो कार्यक्रमको सुरुवात करिब तीन चार महिना सेभ द् चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्रले गरेको थियो तर हामीलाई यो अत्यन्त प्रभावकारी लागेकाले यसलाई हामीले निरन्तरता गरेका छौं ।’ बुढाले भनिन् । उक्त विद्यालयको सुधार देखेर अन्य विद्यालयहरूले पनि यसको अनुशरण गर्न थालेका छन् । यस्तो कार्यले विद्यालयमा विद्यार्थी उपस्थिति दर बढाउन र शिक्षकहरूको कमी कमजोरी सुधार गर्नका लागि अत्यन्त प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक सूर्य वलीले बताए ।
कक्षा ५ मा अध्ययनरत सावित्री रोकायले भनिन्, ‘आजकल हाम्रो स्कुलमा अभिभावकहरू आउन थालेपछि सर मेडमहरू पनि समयमा नै स्कुल आउनु हुन्छ र फुल पिरियड पढाएर जानुहुन्छ ।’ अभिभावकहरू स्कुलमा नियमित आउने भएकाले विद्यार्थीहरू पनि बाटोमा कतै नखेली समयमा नै स्कुल आउन थालेको उनले जानकारी दिइन् ।
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:१२