हुम्लामा हवाईमार्गबाट खाद्यन्न ढुवानी

सुर्खेत : मोटरबाटोले नछोएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा हवाईमार्गबाट खाद्यन्न ढुवानी गरिएको छ । बुधबारदेखी सीता एयर र तारा एयरले खाद्यान्न बोकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाले जानकारी दिए । ‘अहिले सम्म ७२ क्वीण्टल खाद्यन्न सुर्खेतबाट गईसकेको छ’ उनले भने ‘दिनमा एक–एक उडान नेपालगञ्जबाट समेत हुने गरेको छ ।’

नेपालगञ्जबाट ५० क्वीण्टल खाद्यन्न हुम्ला ढुवानी भएको उनले जनाए । मोटरबाटोले नछोएको एउटा मात्रै जिल्ला हुम्लामा खाद्यन्नको संकट नहोस् भनेर हवाईमार्गबाट ढुवानी गरिएको उनले जानकारी दिए ।

थापाका अनुसार करिब हुम्ला जिल्लाका लागि २५ सय क्वीण्टल खाद्यन्न ढुवानी गर्ने तयारी भएको छ । ‘अहिले चामल मात्रै ढुवानी गरिएको छु, उनले थपे ‘नुन समेत ढुवानी गर्ने तयारी गरेका छौं ।’

विकट क्षेत्रका नागरिकलाई संकटमा खाद्यन्न अभाव हुन नदिने नेपाल सरकारको निती र निर्णय अनुसार खाद्यन्न ढुवानी बुधबारदेखि सुरु गरिएको थापाले बताए । भोलिसम्म खाद्यन्न ढुवानी सकिने उनले बताए ।

हुम्लाका प्रतिनिधी सभा सदस्य छक्कबहादुर लामाले हुम्लामा खाद्यन्न संकट नहोस भन्नका लागि जोहो गरिएको बताए । ‘अहिले नै खाद्य संकट त भएको छैन’, उनले भने ‘तर लामो समयसम्म लकडाउन भयो भने समस्या नहोस् भनेर खाद्य संस्थानले खाद्य ढुवानी गरेको छ ।’ उनले नेपाल सरकारले सम्भावित खाद्य संकटलाई टार्नको गरेको ढुवानीले नागरिक उत्साहित भएको बताए ।

प्रकाशित मितिः   २० चैत्र २०७६, बिहीबार ११:०३