कोरोना परीक्षण अब कर्णालीबाटै, सुर्खेत आइपुग्यो मेसिन
सुर्खेत : कोरोना भाइरस (कोभिड–१९ ) को परीक्षण अब कर्णालीमा पनि हुने भएको छ । संघीय सरकारले प्रदेश सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन उपलब्ध गराएको छ ।
उक्त मेसिन सुर्खेत ल्याइएको छ । आज हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । मेसिन कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिनेछ ।
प्रयोगशाला संचालनमा सहयोगको लागि प्रयोगशाला विज्ञ रामकृष्ण श्रेष्ठ पनि सुर्खेत आएका छन् । उनलाई पनि संघीय सरकारले पठाएको हो ।
अहिलेसम्म कर्णाली प्रदेशबाट कोरोनाको आशंका गरिएका बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले आज मेसिन जडान गर्ने काम गरिने र त्यसपछि परीक्षण गर्ने जानकारी दिइन् । मेसिन जडान गरिसकेपछि आज तथा भोलिदेखि परीक्षण सुरु गरिने उनले बताईन् ।
प्रकाशित मितिः १९ चैत्र २०७६, बुधबार १३:५८
साझा बिसौनी ।