कहिलेसम्म राष्ट्रिय प्रयोगशालाको भर पर्ने ?

बिरामिको रोग पहिचान गरी उपचार प्रक्रियामा सहयोग गर्ने माध्यम वा क्षेत्र हो, स्वास्थ्य प्रयोगशाला । जसले बिरामीको केही नमूना लिएर परीक्षण गरी रोगको पहिचान गर्दछ ।

हाम्रो देशमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अधिनमा रही केन्द्रीय प्रयोगशाला, उप–केन्द्रीय प्रयोगशाला, पा्रदेशिक प्रयोगशाला, जिल्ला अस्पताल प्रयोगशाला, प्रथामिक स्वास्थ केन्द्र प्रयोगशाला र केही स्वास्थ चौकीमा पनि प्रयोगशालाको विकास गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला देशको सबैभन्दा ठूलो प्रयोगशाल हो । उक्त प्रयोगशालाले देशको अन्य तहको प्रयोगशालालाई सञ्चालन, कार्यान्वयन, व्यवस्थापन गर्ने काम गर्दछ ।

नेपालमा प्रयोगशालाको विस्तार स्थानीय तहसम्म फैलिए पनि सामान्य परीक्षण मात्र हुने गर्दछन् । तर कुनै विशेष खालको र महत्वपूर्ण परीक्षण गर्नुपरेमा भने अझैसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको भर पर्नु अवस्था छ । नेपाल सरकारले प्रयोगशाला विस्तारलाई महत्व दिएको छैन । केन्द्रमा भएकै प्रयोगशालाको भर परिरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला देशकै ठूलो भयता पनि त्यसलाई आधुनिकीकरण गर्न सकेको छैन । आवश्यक मात्रामा उपकरण, जनशक्तिको व्यवस्थापन गर्न सकेको छैन । कुनै पनि विशेष वा कुनै नयाँ रोगको पहिचान गर्नुपर्ने अवस्थामा भर पर्नु पर्ने त्यही एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हो । कमसेकम आधुनिक उपकरण र दक्ष जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराएको खण्डमा काम गर्न र भइपरी आउँदा सरल र छिटो परीक्षण गर्न सजिलो हुनेथियो । यसतर्फ सरकारको ध्यान पुगेको देखिदैन ।

मुलुक संघीय व्यवस्थामा गइसकेको छ । प्रदेश र स्थानीय सरकार गठन भएर सञ्चालनमा छन् । अधिकारहरू विकेन्द्रीकरण भएको छ । तर प्रदेशमा गुणस्तरीय स्वास्थ्य प्रयोगशाला स्थापना गरेर आकस्मिक तथा भइपरी आउने महामारी वा नयाँ रोगको पहिचान गर्न नसक्नु आफैमा विडम्वनापूर्ण अवस्था हो । यदी समयमै यस्तो व्यवस्था गरेको भए महामारी फैलिनबाट रोक्न मद्यत पुग्ने थियो । तर हालसम्म यस्तो व्यवस्थापन नहुँदा तल्लो तहका सबै प्रयोगशालामा सामान्य परीक्षण गर्नलाई पनि आवश्यक उपकरण र जनशक्तिको आपूर्ति भएको छैन ।

हालै विश्वमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)ले महामारीको रूप लिंदा यसको पहिचान गर्न त्यही एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मात्र प्रयोग भएको छ । त्यो पनि सीमित स्रोत र साधानको भरमा बिरामीको परीक्षण हुने हुँदा सबै बिरामीको परीक्षण गर्न नसकिनुको साथै परीक्षणमा ढिलासुस्ती हुने र समयमै रोग पहिचान गर्न नसकेर बिरामीको ज्यान गएपछि रिपोर्ट आउने गरेको अवस्था हामीले देखिआएका छौं । साथै यसको प्रभाव र पहुँच स्थानीय तहसम्म पुग्न सकेको छैन । त्यसैले समयमै रोग पहिचान नगरी लुकाएर बस्ने र अन्य व्यक्तिमा सरेर महामारी थप फैलिन सक्ने जोखिम बढेको छ ।

प्रत्यक प्रदेशमा गुणस्तरीय प्रयोगशाला बनाएको भए बिरामीको परीक्षण गर्न केही राहत मिल्नेथियो । सँगसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि भार कम हुनेथियो । समयमै परीक्षणको प्रतिवेदन आएर समयमै बिरामीको उपचार गर्न सजिलो हुन्थ्यो ।

हाम्रो देशमा जतिखेर भइपरी आउँछ त्यतिखेर तत्काल काम गर्न खोज्ने प्रवृत्ति छ । जसले गर्दा का पनि पूरा हुँदैन र भएपनि गुणस्तरीय हुन सक्दैन । एउटै ठाउँमा जाँच गर्नुपर्ने भएकोले सबै बिरामीको जाँच गर्न नसक्ने अवस्था छ ।

प्रयोगशाला भनेको रोगको पहिचान गर्न ठूलो हात भएको क्षेत्र हो । यसले रोगको पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जति हामीले स्वास्थ्य प्रयोगशालालाई आधुनिक र गुणस्तरीय बनाउँछाैं त्यति नै हामीले गुणस्तरीय स्वास्थ्य परीक्षण पाउँछौं । यसले सही र समयमै उपचार गर्न ठूलो मद्यत पुग्ने छ । नेपालमा प्रयोगशालाको काम दिशा, पिसाव, खकार र रगत जाँच गर्ने हो । त्यही पनि कस्तो अवस्थामा छ भने गरेनि हुन्छ नगरेपनि हुन्छ भन्ने मानसिकता सबैमा छ । तर प्रयोगशालाको भूमिका यस्तो क्षेत्रमा छ जसले सबै प्रकारको रोगको पहिचान गरी चिकित्सकलाई बिरामीको उपचार गर्न सघाउ पु¥याउँछ । तर हाम्रो देशमा प्रयोगशाला नभएपनि काम चल्छ डक्टर मात्र भए सब रोगको उपचार हुन्छ भन्ने मानसिकताले बिरामीको सही उपचार नभएर अकालमै ज्यान जाने र लामो समयसम्म अनावश्यक औषधी प्रयोग गर्ने तर ठिक नभई थप कष्ट बेहोर्नुपर्ने अवस्था छ ।

अन्त्यमा,

प्रयोगशालाको महत्व बुझेर देशको सबै तहमा गुणस्तरीय र भरपर्दाे प्रयोगशाला स्थापना अपरिहार्य भइसकेको छ । त्यस्ता प्रयोगशालाहरूमा आवश्यक आधुनिक उपकरण र जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य परीक्षण नागरिकले पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी छ । यसले जहिले पनि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

(लेखक दैलेखेको नौमुले प्रथामिक स्वास्थ केन्द्रको मेडिकल ल्याब असिस्टेन्ट हुन् ।)