कोरोना परीक्षण गर्न दुइ जनाको स्वाब काठमाडौं पठाइयो
मानबहादुर कुँवर/जुम्ला : कोरोना भाइरस संक्रमणको आशंकामा जुम्लाका दुइ जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा उपचार भईरहेका दुई जनाको स्वाब सोमवार काठमाडौं पठाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिएका छन् । चैत २१ गतेसम्म विरामीको रिर्पोट आउने डाक्टर रावलले बताएका छन् ।
यसैबीच जुम्लामा तत्काल कोरोना परीक्षण नहुने भएको छ । चीनबाट कोरोना परीक्षण गर्ने पीसीआर मेसिन सिमित मात्रामा आएपछि जुम्लामा कोरोना परिक्षण हुने सम्भावना टरेको डा रावलले बताए । ‘स्वास्थ्य मन्त्रालय प्रतिष्ठानमा नै कोरोना परिक्षण गराउन सकारात्मक छ, तर तत्कालका लागि परिक्षण हुने सम्भावना भने टरेको छ,’ डाक्टर रावलले भने ।
सरकारले पुन चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी गरेकोले जुम्लामै कोरोना परिक्षण गर्न केही समय कुर्नुपर्ने उनले जनाए । साविकको कर्णाली अञ्चल भित्रका जिल्लालाई जुम्लामै पायक पर्ने भएकोले जुम्लामै कोरोना परिक्षण हुन आवश्यक रहेको डाक्टर रावलको मत छ । ‘यदि जुम्लामा कोरोना पोजेटिभ भेटिए सबै शंकास्पद विरामीको स्वाव परिक्षणका लागि बाहिर पठाउनु सम्भव छैन,’ उनले थपे ।
कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट जुम्लामा धेरै नागरिक भित्रिएकोले जुम्लामा कोरोना महामारिको खतरा बढेको डाक्टर रावलको भनाइ थियो । हालसम्म जुम्लामा विदेशबाट तीन सय ८४ जना भित्रिएका छन् । छिमेकि मुलुक भारतबाट तीन सय ७१ र तेस्रो मुलुकबाट १३ जना भित्रिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।
प्रकाशित मितिः १८ चैत्र २०७६, मंगलवार १८:४५
साझा बिसौनी ।