कोरोनाको सङ्क्रमणबाट जोगिएको छ कर्णाली

वीरेन्द्रनगर/रासस :  कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना परीक्षण गरी काठमाडौँ पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार अहिलेसम्म परीक्षणका लागि पठाइएका नमूनामा कोरोनाको सङ्क्रमण देखिएको छैन । “यस प्रदेशबाट १७ जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा पठाइएको छ”, उनले भने, “पठाएका सबैमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।”

आचार्यका अनुसार सुर्खेतका एकजना व्यक्तिमा मौसमी रुघाखोकी भएको पाइएको छ । आचार्यका अनुसार सोमबार कर्णालीका विभिन्न जिल्लाबाट ११ जनासम्मको नमूना परीक्षण पठाउने तयारी भएको र त्यसमध्ये सुर्खेतका तीनजनाको नमूना पठाइने तयारीमा रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसैगरी परीक्षणका लागि नमूना पठाइएकामध्ये रुकुम पश्चिमका एक र सुर्खेतका एक युवकमा कोरोनाको सङ्क्रमण हुने आशङ्का गरिएको थियो । उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । कर्णाली प्रदेशबाट हालसम्म पठाएका रिपोर्टमध्ये पाँचजनाको आउन बाँकी रहेको प्रदेश अस्पतालले जनाएको छ । अहिलेसम्म सुर्खेतका एक सय ८६, कालीकोटमा ५१, डोल्पामा ८५ र जुम्लामा ३९ जना क्वारेन्टाइनमा छन् ।

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीलाई शुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेशमा हालसम्म झन्डै तीन सय वटा आइसोलेशन श्यया तयार भएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२० आइसोलेशन श्यया तयारी अवस्थामा छन् । प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा पाँच, डोल्पामा आठ, हुम्लामा तीन, जाजरकोटमा छ, मुगु र कालीकोटमा सात-सात बेडमा आइसोलेशन कक्ष तयारी अवस्थामा रहेका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

प्रकाशित मितिः   १८ चैत्र २०७६, मंगलवार १७:२६