नाकामा अलपत्र ६० जनालाई उद्दार गरेर क्वारेन्टाइनमा

सुर्खेत : कर्णाली प्रदेश सरकारले गड्डाचौकी नाकाबाट ६० जनालाई उद्धार गरेर सुर्खेत ल्याएको छ । भारतबाट घर फर्किने क्रममा नाकामा अलपत्र परेका कर्णालीको सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लाका नागरिकलाई उद्धार गरेर आज सुर्खेत ल्याइएको हो ।

उनीहरुलाई सुर्खेतमै बनाइएका क्वारेन्टाइनमा राखिएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र त्यसपछि मात्र घर पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । स्वास्थ्य जाँच गर्दा सबैको अवस्था सामान्य रहेको उनले जनाए ।

प्रदेश सरकारले यस अघि पनि एकसय दुइ जनालाई विभिन्न नाकाबाट उद्धार गरेर वीरेन्द्रनगरमा क्वारेन्टाईनमा राखेको थियो ।

प्रकाशित मितिः   १६ चैत्र २०७६, आईतवार १४:५१