मानव सभ्यताको अस्तित्व र कोभिड–१९

ब्रह्माण्डको सर्वश्रेष्ठ विवेकी प्राणी, विज्ञान प्रविधि, ग्रह उपग्रह, संसारका हरेक वस्तुमाथि विजय प्राप्त गर्न सफल २१औँ शताब्दीको मानव जगत आज कोभिड–१९ को भाइरसका कारण आफ्नो सभ्यतामाथिको चुनौती सामना गरिरहेको छ । डार्बिनकै सिद्धान्तलाई सापटी लिने हो भने प्रकृतिसँग संघर्ष र समायोजन गर्न सक्ने अब्बल गुणकै कारण मानिस यो सभ्यतामा विकसित भयो तर २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण यतिबेला विश्व आतंकित छ, त्रसित छ ।

विश्वका ठूला अर्थतन्त्र भएका, विकसित र आफूलाई विज्ञान र प्रविधिमा अब्बल सावित मुलुकहरू पनि यतिबेला उक्त भाइरसले आक्रान्त बनेका छन् । चीनमा उत्पत्ति भएर विश्वका विभिन्न मुलुकहरूमा फैलनु अगावै विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव जातिको लागि भयानक खतरा हुनसक्ने आँकलन गरी ३० जनवरी २०१९ मै सार्वजनिक स्वास्थ्यमा आपतकाल घोषणा गरेको थियो तर कतिपय मुलुकहरूले यसलाई कम आँकलन गरे फलस्वरूपः आज भयंकर चुनौतीको सामना गरिरहेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरू अमेरिका, चीन, जर्मनी, इटाली, स्पेन, फ्रान्स, बेलायत आदि देशहरूलाई यसको संक्रमणले थिलाथिला पारेको छ । संसारको कुनै पनि तागतले जित्न नसक्ने ठान्ने मुलुक र त्यसका राष्ट्रप्रमुख आज मानव जातिको रक्षार्थ गुहार मागिरहेका छन् ।

त्यस्तै युरोपियन युनियनभित्रका शक्तिशाली मुलुकहरू कोभिड १९ को नयाँ भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । इटालीमा मात्रै झण्डै १३ हजार भन्दा बढीले ज्यान गुमाउन पुगेका छन् भने मृतकको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । बेलायत, स्पेनजस्ता मुलुकका उच्च घरानाका मानिसहरू पनि योबाट अछुतो रहेनन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मुलुक जो २१ औँ शताब्दीमा विज्ञान र प्रविधिमा उच्च फड्को मारेको राष्ट्र चीन, जहाँबाट कोभिड १९ को उत्पति भयो, उसले ठूलो धनजनको क्षति पश्चात केही नियन्त्रण गर्न सफल रहेको छ । यद्यपि हजारौँ मानिसहरू अझै संक्रमित छन् र अस्पतालहरूमा उपचार गराइरहेका छन् । हाल यसको संक्रमण युरोप र अमेरिकामा दिन दुईगुणा रात चौगुणा बढीरहेको छ, जुन नियन्त्रणभन्दा बाहिर रहेको छ । मानिसहरू भनिरहेका छन् कि दोस्रो विश्व युद्धभन्दा बढी त्रास र भय मानव जीवनमा यो भाइरसले सृजना गरेको छ । विश्व पूरै लकडाउनको चरणमा गुज्रीरहेको छ, जनजीवन अस्तव्यस्तै छ, मानिसहरू घरबाट निश्कन पाएका छैनन् । मुलतः मानव सभ्यताको अस्तित्व नै नामेट पार्न सक्ने भय मानिसहरूमा छाएको छ ।

आजकोे दिनमा विश्वका कुनै पनि मुलुक कोभिड १९ को प्रभावबाट अछुतो छैनन् र नेपाल पनि यसको संक्रमणबाट अछुतो रहने कुरै भएन । नेपालजस्ता अल्पविकसित, विज्ञान र प्रविधिमा कमजोर मुलुकहरू वास्तवमै यसको भयानक संक्रमण थेग्न सक्ने देखिदैन, यदि प्रारम्भिक चरणमै यसको रोकथाम र सहज अवतरण गर्न नसके । अझै विकराल रूप लिइ नसकेको हुँदा यसको नियन्त्रणमा आक्रामक रूपमा लाग्न जरुरी छ ।

नेपालमा पहिलो संक्रमण २४ जनवरी २०२० मै देखिएको थियो भने उपचारपछि निकोे भएर घर फर्किएको अवस्था हो । दोस्रो पटक २३ मार्चमा फ्रान्सबाट फर्किएकी एक युवतीलाई देखियो र उनी पनि उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । यो क्रम बढ्दै नेपालमा पनि संक्रमितको संख्या पाँच पुगिसकेको छ ।

मुख्यतयाः खुला नाकामार्फत भारतको बाटो हुँदै नेपाल भित्रने र अन्य विभिन्न मुलुकहरूबाट नेपाल फर्किएका मानिसहरूमा कोरोनाको उच्च जोखिम भेटिएको छ । साँच्चिकै यो बेला व्यवस्थापन गर्न नसके स्थिति भयावह हुने प्रायः निश्चित छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न यतिबेला नेपाल सरकारले देशैभरी लकडाउन गरेको छ तापनि भारतबाट मानिसहरूको हुल प्रवेश गरिरहेकै छ । स्थिति असहज छ, भित्रभित्रै भुसको आगोझै संक्रमण फैलिरहेको सहजै अनुमान गर्न सकिन्छ । त्यसमाथि चैत ४ मा नेपाल फर्किएका संक्रमित व्यक्ति एक/दुई हप्तापछिमात्रै अस्पतालको सम्पर्कमा आउँदा त्यो अवधिभर उनको परिवारका सदस्यहरू अन्य साथीभाइहरू छरछिमेकहरूसँग कतिसँग सम्पर्क भयो होला ? अन्य संक्रमितहरूमा पनि लामो समयपछि संक्रमण रहेको पुष्टि भएको छ तसर्थ कि हामी धेरै चुकिसकेका छौं, स्थिति नियन्त्रण गर्न सबै एकताबद्ध भएर लाग्न जरुरी देखियो ।

हाम्रो सन्दर्भमा लकडाउन एक विशिष्ट र बेग्लै अनुभव हो किनकी हामीले यो संकट भोगेका थिएनौँ । तर पनि यस्तो असहज परिस्थितिमा सरकारी कदम आम नागरिकले पालना गर्नु कर्तव्य ठहर्छ । यस्तो राष्ट्रिय संकटको बेला नागरिकका केही मौलिक हकहरूमाथि पनि राज्यले अंकुश लगाउन सक्ने संवैधानिक व्यवस्था छ । तसर्थ आम जनसमुदायहरू सबैले आ–आफ्नो ठाउँबाट यो संकटको बेला हातेमालो गर्न तम्तयार हुनुपर्छ । विशेषतः यो परिस्थितिमा नागरिकका थुप्रै जिम्मेवारी हुन सक्छन्, ती जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

राज्यको तर्फबाट लकडाउन गरिएको अवस्थामा एकान्तबासमा बसेर आफ्नो र परिवारको संरक्षण गर्नु, समाजमा नबुझेका व्यक्तिहरूलाई सचेत गराउनु परम कतव्र्य हुन जान्छ । यस्तै रोग प्रतिरोधी क्षमता बढाउने विभिन्न क्रियाकलाप गर्ने, शारीरिक अभ्यास, योग व्यायाम प्राणायाम गर्ने, स्वस्थ्य र स्वास्थ्यवद्र्धक भोजनहरू सेवन गर्ने हो । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने कोही पनि यो रोगबाट त्रसित हुनुपर्दैैन, यो रोग लाग्दैमा मरिहाल्ने पनि होइन । यसको उदाहरण हामीले देखिसकेका छौं कि विश्वका झण्डै डेढलाख मानिसहरू निको भएर घर फर्किएका छन् भने नेपालमा पनि एक जना संक्रमित उपचार पछि घर फर्किएका छन् । तसर्थ बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेझै मनोवैज्ञानिक त्रासले नलागेको रोगले पनि सताउँछ, रोगप्रतिरोधी क्षमता कमजोर पार्छ र सजिलै कोरोना भाइरसले आक्रमण गर्न सक्छ । त्यसकारण त्रसित हुने भन्दा पनि सचेत र जिम्मेवार भइ महामारीको डटेर सामना गर्नुपर्छ ।

यतिबेलाको सरकारको प्रमुख जिम्मेवारी नै जनताको जीवन रक्षा गर्नु हो । किन त भन्दा राज्यको मुख्य जिम्मेवारी नै आफ्ना नागरिकको सुरक्षा गर्नु हो । राज्यको तर्फबाट यो घडीमा थुप्रै कदमहरू नचालिएका होइनन् तापनि यसमा कहीँ कतै अपुग, भद्रगोल र दीर्घकालीन सोचको अभाव रहेको आभाष भेट्न सकिन्छ । हालसम्म नेपालमा एउटामात्रै ल्यावटेष्ट/परीक्षण केन्द्र रहेको छ जहाँ हप्तामा बढीमा पाँचसय जनाको मात्रै परीक्षण गर्न सकिने व्यवस्था छ । यदि संक्रमितको संख्या बढ्दै गएमा परीक्षण गरी रिपोर्ट मात्रै आउन महिना दिन लाग्न सक्छ त्यतिबेलासम्म बिरामीको मृत्यु भइसकेको हुन सक्छ ।

त्यस्तै भद्रगोलसँग निर्माण गरिएका, विना पूर्वाधार निर्माण गरिएको अस्पतालहरू जहाँ कुनै अत्यावश्यक मेडिसिनका सामग्रीहरू छैनन् । त्यस्तो ठाउँमा बिरामीले कस्तो उपचार पाउँलान् ? विभिन्न तहका सरकारहरूले धेरै ठाउँहरूमा आइसोलेसन-क्वारेन्टाइनहरू निर्माण गरेका छन् त्यहाँ कुनै औषधिजन्य सामग्रीहरू, खानपान, फोहोर व्यवस्थापन आदि कुनै कुराको पनि उचित प्रबन्ध छैन । कतिपय ठाउँमा प्लाष्टिकका पाल टाँगेर क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्राकृतिक हिसाबले यो प्रिमनसुनको अवस्था हो, यस्तो मौसममा हावाहुरी थेग्न नसक्ने पालहरू के बिरामीको लागि सुरक्षित होलान् त ? आँगन जोडिएको छिमेकमा तीन महिना अगाडि माहामारी फैलियो हामी ढुक्कसँग कानमा तेल हालेर सुत्यौँ । जब संक्रमण देखियो अनि एक्कासी लकडाउन, हतारमा बेतालका कोरोना अस्पताल, क्वारेन्टाइन, आइसोलेसन बेड आदिमा फसिरह्यौँ । यसले सन्निकटको माहामारी थेग्नेमा शंका छ । साँच्चिकै इटालीको जस्तो परिस्थिति देखा परे बिरामीहरूलाई खुला चौरमा राख्नुपर्ने हुनसक्छ ।

विभिन्न अनुसन्धानकर्ता र डाक्टरहरूले सुझाव दिएका छन् कि यसको संक्रमणबाट बच्न संक्रमित व्यक्तिलाई अन्य व्यक्ति र समाजबाट विच्छेद गर्नु नै हो । कुनै परिवारमा एकजना संक्रमित भयो भने उसँग सम्पर्कमा आउने उसका परिवार, छिमेकी, साथीभाइ सम्पूर्णमा यो रोग सर्छ त्यसै अनुरूप लामो श्रृंखला बन्छ र पूरै महामारी फैलिन्छ । तसर्थ प्रारम्भिक चरणमा देखापरेका संक्रमितहरूको जुन श्रृंखला छ, जुनजुन व्यक्तिहरूसँग उसको सम्पर्क भयो तीनको तत्काल खोजी गरी आइसोलेसनमा राख्ने, परीक्षण, उपचार गर्ने र नयाँ व्यक्तिहरूसँगको श्रृंखला टुटाउन सके यसको संक्रमणलाई नियन्त्रण गर्न सहज हुन सक्छ । परीक्षणहरूबाट के तथ्य फेला परेका छन् भने स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता धेरै भएका व्यक्तिहरूमा यसको लक्षण ढिला देखिन्छ । त्यसकारण बाहिरी मुलुकबाट आएका हरेक नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम दुई हप्ता अनिवार्य आइसोलेसनमा राखेर हेरचाह, परीक्षण र उपचार गर्नुपर्छ । विदेशबाट आएका नागरिकहरूले पनि यसमा सहयोग गर्नुपर्छ । यो संक्रमणको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूलाई सुरक्षाका सामग्रीहरूको पूर्व र पूर्णरूपमा व्यवस्था गरिनुपर्छ कि उनीहरू ढुक्कले काम गर्न सकुन् ।

सरकारी अस्पतालहरू, नयाँ निर्माण गरिएका कोरोना अस्पतालहरू, क्वारेन्टाइनहरूमा आवश्यक सामग्रीहरूको पूर्ण बन्दोबस्त गर्नुप¥यो, आवश्यकता अनुसार निजी अस्पतालहरूलाई कोरोना अस्पतालको रूपमा परिवर्तन गर्न पहल गर्नुप¥यो, अस्थायी पाल भन्दा विभिन्न संघ–संस्था, विद्यालय, विश्वविद्यालय, होटेल, रिसोर्टहरूमा बिरामीहरूको लागि आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्नुप¥यो । तीनै तहका सरकारको राम्रो समन्वय र सहकार्य गरी राज्यका अन्य निकायहरू, नागरिक समाज, सामाजिक अभियन्ता, कार्यकर्ताहरूलाई सुरक्षित रूपमा परिचालन गरेर हरेक व्यक्तिको डाटा सङ्कलन गर्ने, सचेतना जगाउने, बाह्य मुलुकबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न सहयोग गर्ने, आवश्यकता अनुसार अस्पतालसम्म पु¥याउन सहयोग गर्नुपर्छ । विभिन्न तहमा समितिहरूमात्रै निर्माण गर्नुभन्दा कामकाजी र भावी जोखिमलाई आँकलन गरी सम्भावित जोखिम आउनु अघि नै एक कदम अगाडि नै सोच्ने र योजनाबद्ध काम गर्ने समिति निर्माण गरी परिचालन गर्नुपर्छ ।

माहामारीको यो बेला देश ठप्प छ, यसको प्रभाव सबैभन्दा बढी गरीब, निमुखा र गरीखाने वर्गमा परेका छ । चार-पाँच दिनकै लकडाउनले सबैमा उकुसमुकुस बनाएको छ । महिनौं दिनसम्म यो परिस्थिति लम्बिन गयो भने कोरोना भन्दा पनि धेरै भोक र अन्य रोग चुनौतीको देखिने कुरामा पनि सरकार उत्तिकै चनाखो हुनुपर्छ । तसर्थ सरकारले यतातिर पनि ध्यान दिन जरुरी छ । समयमै अति आवश्यक वस्तुको सहज र निःशुल्क आपूर्ति गर्नसक्ने क्षमता तयार गरेर बस्नुपर्छ । भारत सरकारले पुनः २१ दिन लकडाउन लम्ब्याएको छ । प्रधानमन्त्री मोदीले झण्डै तीन करोड गरीबलाई लकडाउन अवधिभर घरघरमै निःशुल्क खाद्यन्न वितरण गर्ने घोषणा गरेका छन् । के नेपाल सरकारले त्यो तयारी गरेको छ ? यदि छैन भने त्यसको तुरुन्तै जोह गर्नुपर्छ । खान नपाएर भोकभोकै बस्नुपर्ने बाध्यता आइलागे कोरोनासँगै अर्कै संक्रमित विद्रोह राज्यले व्यहोर्नुपर्ने हुनसक्छ । तसर्थ राज्यले रोगबाट बचाउन गरेको लकडाउनसँगै भोगबाट बचाउन पनि पूर्व तयारी गर्नुपर्छ ।