विदेशबाट फर्किएकाहरुद्वारा हेलचक्य्राइँ, तथ्याङ्क सङ्कलन गर्दै स्थानीय सरकार

मानबहादुर कुँवर/जुम्ला : कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मिमा पाँच जना युवा चैत १० गते गाउँ फर्के । उनीहरु अहिलेसम्म पनि भेटघाटमै व्यस्त छन् । गाउँले मिलेर छुट्टै क्वारेन्टाइन बनाएर बस्न आग्रह गरे पनि उनीहरुले मानिरहेका छैनन् । पाँच जनाको लापरबाहीले सिंगो गाउँ नै जोखिममा परेको स्थानीय जनक कुँवर बताउँछन् ।

सरकारले छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकबाट कोरोना संक्रमणको जोखिम हुने आँकलन गर्दै उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको छ । तर जुम्लामा भने हेलचेक्य्राइँ गरिएको छ । विदेशबाट फर्किएकाहरु क्वारेन्टाइनमा नबसेर गाउँ डुलिरहेका छन् ।

तातोपानी गाउँपालिकाको भेरिखोला क्षेत्रमा कुनै सर्तकता नअपनाईएको स्थानीय भरत रावतले गुनासो गरे । ‘महामारिको बेला स्थानीय तह गैरजिम्मेवार बनेको छ, लकडाउनको पालना समेत भएको छैन,’ उनले भने । त्रिवेणी-टोप्ला सडक खण्डमा आवत-जावत नरोकिएपछि स्थानीयले सडकमा बार लगाएर लकडाउन पुर्ण पालना गराउने प्रयास गरिएको उनले जानकारी दिए ।

भारतबाट आएकाहरुले बदमासि गरेको तातोपानी गाँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताएका छन् । गाउँ पुग्नासाथ क्वारेन्टाइनमा नबसेर घरपरिवारसँग घुलमिल भएकोले जोखिम बढेको उनले बताए । परिवारसहित होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको अध्यक्ष न्यौपाने ले जानकारी दिए । गाउँपालीकाले वडा नम्बर ५ को दुर्गा माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । प्रत्येक वडामा १०-१० शैयाको क्वारेन्टाइन यसअघि नै तयार पारि केको तातोपानीले यसलाई गाउँपालिकास्तरीय बनाएको हो ।

कोरोनाको त्रासपछि हालसम्म जिल्ला बाहिरबाट करीब तीन हजार नागरिक जुम्ला भित्रिएका छन् । भारतबाट मात्रै कति भित्रिए भन्ने तथ्यांक संकलन गर्न स्थानीय तहसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएकी छन् । साथै उनले हेलचेक्य्राइँ नगरी सतर्कता अपनाउन सबैसँग आग्रह गरिन् ।