‘विकास बजेट कटौती गरेरै भएपनि खाद्यन्न उपलब्ध गराउँछौँ’


नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन लकडाउन गरिएसँगै एक सातादेखि देश ठप्प छ । लकडाउनले दैनिक ज्याला/मजदुरी गरेर छाक टार्ने अति विपन्न परिवार सबैभन्दा बढी मर्कामा परेका छन् । यतिबेला उनीहरूको हातमुख जोड्ने बाटो बन्द भएको छ । दैनिकी चलाउन मुस्किल छ । काम गरी खाने बाटो बन्द हुँदा यस्ता परिवारमा कोरोना संक्रमणको त्रासभन्दा भोकमरीको चिन्ताले सताउन थालेको छ ।

५१ प्रतिशत गरिबी रहेको कर्णाली प्रदेशमा यहाँको सरकारले कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न सतर्कताका लागि थुपै काम गरिरहेको भएपनि यस्तो बेला विपन्न र मजदुर परिवारका सवालमा राहत दिनेलगायतका कुनै निर्णय भने गरेको छैन । साझा बिसौनी सहकर्मी मुना हमालले मजदुर र अतिविपन्न परिवारका सवालमा कर्णाली प्रदेश सरकार के गर्दै छ ? भनि सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, यसै सन्दर्भमा गरिएको टेलिफोन संवादको सम्पादित अंश ।

१) कोरोना भाइरसविरुद्धको प्रतिकार्यमा प्रदेश सरकारले कस्तो तयारी गरिरहेको छ ?

प्रदेश सरकारले कर्णालीमा कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि तयारीलाई तीव्रता दिएको छ । हालसम्म प्रदेशका १० वटै जिल्लामा गरेर करिब तीन हजार क्वारेन्टाइन तयार गरिएका छन् । विशेष गरेर भारतबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश राजधानीमा चारसय क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरिसकेका छौँ । एकसय २५ जनालाई राखेका छौँ । आज पनि नाकामा अलपत्र परेका नागरिकलाई ल्याएर राख्दैछौँ ।

कर्णालीका तीन वटा अस्पताललाई कोरोना संक्रमित बिरामीको उपचारका लागि भनेर तोकेका छौँ । सोही अनुसार बजेटको व्यवस्था गरिएको छ । जिल्ला विपद् कोषमा ५० लाखका दरले १० वटै जिल्लामा बजेट विनियोजन गरिएको छ । प्रदेशभरी दुइसय ३८ वटा आइसोलेसन बेड तयार गरिएका छन् । प्रदेश सरकारले ५० करोडको विपद् व्यवस्थापन कोष बनाएको छ । त्यसमा सहयोेग रकम पनि जुट्दै गएको छ । पूर्वतयारीकै अवस्थामा छौँ ।

२) प्रतिकार्य योजना सदरमुकाम केन्द्रीत भयो । गाउँमा शून्य छ भन्ने गुनासो आइरहेको छ नि ?

हामीले लकडाउन अघि भारतबाट आएका व्यक्तिहरूको ‘हेल्थ डेस्क’मा पनि स्वास्थ्य जाँच गरेका थियौँ र घरमा गएर सुरक्षित भएर बस्न पनि आग्रह गरेका थियौँ । प्रदेशको मुख्य नाका बबईमा ‘हेल्थ डेस्क’ स्थापना गरिसकेपछि झण्डै एकलाखको हाराहारीमा यहाँका नागरिक प्रदेशमा भित्रिएका छन् ।

भारतबाट आएका सबै गाउँ गएपछि सबैको चासो र चिन्ता गाउँमै छ । त्यसैले हामीले नाकाबाट छलेर गएका व्यक्तिहरूलाई गाउँमा तथ्याङ्क संकलन गर्ने र उनीहरूलाई सेल्फ क्वारेन्टाइनमा बसाल्नका लागि स्थानीय तहहरूसँग समन्वय गरिरहेका छौँ । यसका लागि जिल्ला, गाउँ तथा नगरपालिकाहरू सक्रिय भएर लागिरहेका छन् । सबै जना गाउँमा गइसकेकाले गाउँ असुरक्षित छ भनेर नै हामी सबैले गाउँतिरै ध्यान दिएका हौँ । क्वारेन्टाइनमा राख्ने, सुरक्षित गर्ने, बाहिरबाट आएको व्यक्तिले आफू, परिवार, समुदाय र समग्रमा देशलाई नै संक्रमणबाट जोगाउँन क्वारेन्टाइन बस्न आवश्यक छ ।

३) दैनिक मजदुरी गरेर साँझ–विहानको छाक टार्नेहरू लकडाउन भएपछि समस्यामा छन् । उनीहरूका लागि सरकारले कुनै राहत योजना किन नल्याएको ?

लकडाउन भएसँगै हामीलाई भोकको चूनौति छ । हामी आपूर्ति व्यस्थापनमा पनि लागिरहेका छौँ । मजदुरी गरेर बिहान–साँझको छाक टार्नेको समस्या चूनौतिपूर्ण छ । अति विपन्न, बाढीपीडित, राउटे समुदायका लागि स्थानीय तहसँग समन्वय गरेर राहत व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । अहिले हामीले स्थापना गरेर विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी खाद्यान्न उपलब्ध गराउँछौँ । स्थानीय तहसँग समन्वय गरेर उनीहरूको सिफारिसमा खाद्यान्न उपलब्ध गराउँछौँ । यस्तो समयमा भोकले मर्नुपर्ने अवस्था कर्णालीमा आउँदैन । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्छ । विकास बजेट कटौती गरेर भएपनि यो विपद्को सामना गर्नतर्फ हामी लाग्छौँ ।

४) चिकित्सकहरूले अस्पतालहरूमा आवश्यक सामग्री नै छैन भनिरहेका छन् । यसको व्यवस्थापनमा ढिलाइ किन ?

हामीलाई मुख्य चूनौति भनेकै जनशक्ति र उपकरण हुन् । हामीसँग प्रर्याप्त स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण छैनन् । प्रयोगशाला छैन । हामीले संघीय सरकारसँग आवश्यक जनशक्ति र उपकरणका लागि अनुरोध गरेका छौँ । संघीय सरकारले चीनबाट आवश्यक सामग्री ल्याइसकेको छ । सातै प्रदेशमा ती सामग्री पु¥याउन सरकारले तयारी गरेको छ । आजभोलिमा सबै प्रदेशमा पु¥याउँछ पनि होला । नभए हामीले आफैले पनि खरिद गर्ने भनेर छलफल पनि गरेका छाैँ । जनशक्तिको हकमा ‘हेल्थ डेस्क’ सञ्चालन गर्न तीन दिनको सूचना प्रकाशित गरेर जनशक्ति थप गरेका छौं । उहाँहरू फिल्डमा खटिसक्नु भएको छ ।

५) यो विषम् परिस्थितिमा आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?

सबै नागरिकलाई सतर्क रहेर घरभित्रै रहन आग्रह गर्दछु । चिकित्सकको सुझाव र सरकारको निर्देशनलाई सबैेले पालना गरौँ । लकडाउनको महत्वलाई बुझौँ । बाहिरबाट आउनु भएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु । अहिलेसम्म सरकारले आफ्नो लागि ग¥यो भन्ने देखिन्छ । सरकारको प्रयासलाई परिवार र समग्र नागरिकका लागि भनेर सकारात्मक रूपमा लिनुपर्छ । अहिले सजक भएनौँ भने भोलि भयावह स्थिति आउँन सक्छ । त्यो बेला हामीले नियन्त्रण गर्न कठिन हुनेछ । सरकारको तर्फबाट सबैलाई सजक भएर घरभित्र बस्न आग्रह गर्दछु ।

प्रकाशित मितिः   १६ चैत्र २०७६, आईतवार १५:२५