भारतबाट फर्किएकालाई उच्च निगरानी

सुर्खेत : कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्नका लागि सुर्खेतका स्थानीय तहले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुको निगरानी बढाएका छन् । यहाँका नौ वटै स्थानीय तहहरुले रोजगारीको शिलशिलामा भारत तथा अन्य देशमा गएर फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने र उनीहरुको निगरानी गर्ने काम गरेका छन् ।

कोरोना शंकास्पद बिरामी भेटिए उपचारका लागि अस्पताल पठाउनका लागि एम्बुलेन्स तयारी अवस्थामा समेत राखिएको जनाइएको छ । पालिकाहरुले विपद् कोष बनाएर काम गरिरहेको छन् ।

वीरेन्द्रनगर नगरपालिकाले हालसम्म भारतबाट फर्किएका ७५ जनालाई होम क्वारेन्टाइनमा राखेको जनाएको छ । नरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुको खोजी कार्य र निगरानी भइरहको जानकारी दिइन् । भारतबाट आएका एक÷दुइ जनालाई समान्य रुघाखोकी, ज्वरो आएको र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको उनले बताइन् ।

यस्तै सिम्ता गाउँपालिकामा ९० जना, भेरीगंगा नगरपालिकामा एकसय जना, बराहताल गाउँपालिकामा एक सय ५० र चौकुने गाउँपालिकामा तीन सय ८८ जना, लेकवेशी नगरपालिकाम ८२ जनाको तथ्याङ्क संकलन गरिएको छ । उनीहरु भारतबाट फर्किएर घर पुगिसकेकाले घरमै छुट्टै कोठामा बस्नका लागि आग्रह गरिएको छ । साथै उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा निगरानी गर्ने गरिएको छ । यद्यपी अहिलेसम्म कसैमा पनि जोखिम देखिएको छैन ।

चिङगाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र पञ्चपुरी नगरपालिकाले पनि भारत तथा अन्य देशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सुरु गरिएको जानकारी दिएका छन् ।

यस्तै स्थानीय तहले क्वारेन्टाइन निर्माणलाई पनि तीव्रता दिएका छन् । सिम्ता गाउँपालिकाले ३५, भेरीगंगा नगरपालिकाले एकसय क्षमताको क्वारेन्टाइन बनाएको जानकारी दिएका छन ।

प्रदेश सरकारले पनि प्रदेश राजधानीमा चारसय क्षमताको क्वारेन्टाइन तयार गरेको छ । भारतबाट फर्किएका कर्णालीका विभिन्न जिल्लाका एकसय २६ जनालाई अहिले वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखिएको छ । स्थानीय तहरुले जनचेतनालाई पनि जोड दिएका छन् । चौकुने गाउँपालिकाले एक घर, एक साबुन, एक प्रचार अभियान सुरु गरेको छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७६, शनिबार १४:५६