थारु समुदाय र अँट्वारी पर्व

adsfsdf
जेवी डेमनडौरा

थारु तराईको मूल आदिवासी जनजाति हुन् । यिनीहरूको आफ्नै भाषा, संस्कृति, साहित्य संस्कार, सामाजिक मान्यता, रहनसहन, भेषभूषा, लवाइ–खवाइ, नाचगान, चाडपर्व, पूजापाठ, देवीदेवता आदि रहेका छन् । यो जातिको सबैभन्दा अमूल्य गहना भनेको सोझोपन, इमान्दारिता, मेहेनतीपन, स्वावलम्बी र सहनशीलता हो । आज पनि थारु जातिलाई यिनै विशेषताहरूले चिन्ने गर्दछन् ।
सुर्खेत उपत्यकामा बसोबास गर्ने थारु जातिको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यहाँका मूलवासी आदिवासी थारु र राजी हुन् । सुर्खेतको साविकको लाटीकोइली र उत्तरगंगा गाविसमा थारु जातिको बाहुल्यता रहेको छ । अहिले सो गाविस वीरेन्द्रनगर नगरपालिकामा समेटिएको छ । संख्यात्मक रूपमा थारु जाति बसोबास गर्ने गाउँ हेर्दा ३६ वटा गाउँमा मात्र बस्ती पाइन्छ । २०६८ को जनगणना अनुसार सुर्खेतमा थारु जातिको जनसंख्या ६,८९० रहेको छ । आफ्नो प्रशस्त जग्गा जमिन नभएका कारण अधिया खेती लगाइ जीवन निर्वाह गर्ने थारु ८० प्रतिशत रहेका छन् भने बाँकी २० प्रतिशत नोकरी तथा अन्य व्यवसायमा संलग्न रहेको देखिन्छ । सुर्खेत जिल्लामा बसोबास गर्ने
थारु जाति पश्चिम दाङबाट आएका हुन् भनेर यहाँका बुढापाकाहरू बताउँछन् । थारु संस्कृतिको आफ्नै छुटै पहिचान रहेको छ । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरू गर्ने विधिविधान अन्य जातिको भन्दा निकै फरक रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने थारुहरूको केही साझा र केही फरक चाडपर्वहरू रहेका छन् । फरक चाडपर्वहरू हुनुको कारण भौगोलिक भिन्नतासँग सृजना हुन आएका नयाँ संस्कारहरू र आपसी सम्पर्कको अभाव रहेको पाइन्छ । पश्चिमा थारुहरूले मनाउने विविध चाडपर्वहरूमध्ये अँट्वारी पनि एक हो । कृष्ण अष्टमीपछिको दोस्रो आइतवारका दिन यो पर्व मनाउने गरिन्छ । प्रत्येक वर्ष आइतवारको दिन मात्र मनाउने भएकाले यसलाई अँट्वारी भनिएको हो । सूर्यको उपासनको क्रममा भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षमा पर्ने आइतवारका दिन थारु पुरुषहरू दिनभरी व्रत रही साँझ पुरुषद्वारा नै पवित्र तरिकाले रोटी पकाइ दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरी आफ्ना दिदीबहिनीहरूको नाममा अग्रासन छुट्याई तत्पश्चात् सबैै परिकार खाँदै मनाइने पर्वलाई अँट्वारी भनिन्छ । थारु कल्याणकारिणी सभा दाङले एक विज्ञप्ती जारी गरी यही भदौ १९ गते आइतवार हरितालिका तीजको दिन अँट्वारी पर्व मनाउन सबै थारु समुदायलाई आग्रह पनि गरेको छ । हरेक वर्ष कृष्णाष्टमी पछिको दुई आइतवार अर्थात् १२÷१३ दिनपछिको दुई आइतवारको दिन पुर्खाहरूले अँट्वारी मनाउँदै आएकाले त्यही आधारमा यही १९ गते अँट्वारी पर्व परेको समेत उल्लेख गरिएको छ ।
अँट्वारी पर्व मनाउन थालिएको सम्बन्धमा एउटा किम्बदन्ती रहेको छ । योे कथा दाङका थारु राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डवहरू र दाङका राजा दंगीशरणबीच लामो समयदेखि निकै घनिष्ठ सम्बन्ध रहेको थियो । यसैक्रममा पाँच पाण्डव र द्रोपती सबैजना सुर्खेतको काँक्रेविहारमा आएका रहेछन् । त्यसैबेला दाङको थारु राजा दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गरेछन् । यो खबर पाउने बित्तिकै तावामा पकाउन राखेको रोटी (भउरी) समेत छोडी केही पनि नखाइ तुरुन्त भीम हतियार लिएर दंगीशरणको पक्षमा लड्न गएछन् र शत्रु पक्षलाई हराएछन् । यसरी भोकै पानी समेत नखाएर भीमले आफ्नो जीउ ज्यान दिएर थारु राजा दंगीशरणको पक्षमा लडाईं लडी विजय दिलाएकोले थारु जातिमा भीम ज्यादै पूज्य मानिन्छन् । यो घटना आइतवारकै दिन भएको हो भन्ने विश्वास रहेको छ । यसै दिनको सम्झना र पाण्डव भीम, थारु राज्य तथा दंगीशरणबीचको अगाढ सम्बन्ध साथै विजय उत्सवको सम्झनामा थारुहरूले अँट्वारी मनाउन थालेका हुन् भन्ने भनाइ रहेको छ । यसर्थ यस पर्वमा ब्रतालुहरूले दिउँसो रोटी पकाउँदा भीमको नाममा एउटा ठूलो रोटी पकाइ भीमकै नाममा चढाउने चलन छ । जुन रोटीलाई ‘भ्यावा’ भनिन्छ । भीमको साथमा पाँच पाण्डव काँक्रेविहार जंगलभित्र भग्नावशेष रहेको ठाउँमा बसेको हुनाले थारु समुदायले भग्नावशेषलाई ‘भ्यावक घर’ भनेर भन्दै र चिन्दै आइरहेका छन् । अँट्वारीमा व्रत बस्नुपर्ने भएकाले शनिवारको दिनमा माछा मार्ने र अन्य तरकारीका परिकारहरू खोज्ने काम गरिन्छ । अँट्वारीमा सुकाएको माछा अनिवार्य चाहिन्छ तर मासु भने खाने चलन छैन । आइतवारको अघिल्लो रात भाले बास्नु भन्दा पहिले (डट्कट्टन) दर खाने गरिन्छ । दर खानु भन्दा पहिले नुहाउनुपर्ने हुन्छ । भोलिपल्ट बिहानैदेखि अन्न पानी नखाइ ब्रत बस्ने गरिन्छ । ब्रत बस्नेमा खास गरी पुरुष रहने चलन भएता पनि आजभोलि केही महिलाहरू पनि बस्ने गरेको पाइन्छ ।
बिहानपख घरको बहरी भन्ने कोठामा वा आँगनमा गाइको गोबरले सफासँग लिपपोत गरी विभिन्न परिकार पकाउने चुलोको व्यवस्था गरिन्छ । आगो बाल्नका लागि चोखो आगोको जरुरत पर्दछ । भान्साको आगो तथा सलाइ, लाइटरको आगो प्रयोग गरिदैंन । यसको लागि गन्यारी भन्ने काठबाट ३,४ जना मिली काठ रगडेर गोबर गुइँठा कपासमा आगो निकालिन्छ । सोही चोखो आगो गाउँलेहरूले आ–आफ्नो घरमा लाने गर्दछन् । चोखो आगो बलिसकेपछि सबैभन्दा पहिले भीमको नाममा एउटा ठूलो, रोटी पकाइन्छ । त्यसपछि मात्र अन्य परिकारहरू पकाउन थालिन्छ । उक्त पकाउने ठाउँमा व्रत बस्ने व्यक्ति बाहेक अरुलाई त्यहाँ जान, छुन वञ्चित गरिएको हुन्छ । अँटवारीको दिन अनदी चामलको रोटी, गहुँको रोटी, अम्बा, केरा, काँक्रा लगायतका फलफूल, उसिनको पिँडालु, मिठाइ घोलेको पानि खाने, पिउने गरिन्छ । उक्त दिन नुन, खुर्सानी र बेसार निषेध गरिएको हुन्छ ।
पूजा गर्ने क्रममा गोबरले लिप्ने शुद्ध ठाउँमा काठको पिर्का वा परालबाट बनाइएको चकटी बेर्रीमा बसेर प्रक्रिया अगाडि बढाउँछन् । पूजा गर्ने ठाउँमा आगोको व्यवस्था गरिएको हुन्छ र सो आगोमा भीमको नाममा पकाइएको रोटी हवन गर्ने गरिन्छ । जसलाई अगयारी देना भनिन्छ । धार्मिक दृष्टिकोणले हेर्दा सूर्यको उपासन गर्दा गर्मीले हुने कुनै पनि रोग लाग्दैन भन्ने धारणा अनुसार सूर्य पनि आगोको मुख्य स्रोत हो भनेर नै सबैभन्दा पहिले अग्निलाई प्रसाद ग्रहण गराउने चलन रहेको छ । अगयारी दिइ सकेपछि तीन पटक दायाँ तीन पटक बायाँबाट लोटामा राखेको पानीले पर्छनु पर्छ । त्यसपछि ब्रतालुले तयार पारेर राखेको परिकारहरूमध्ये आ–आफ्ना दिदीबहिनीहरूका लागि छुट्टाछुट्टै भाँडोमा अलग्याएर राख्ने चलन छ । जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । अग्रासन छुट्याइ सकेपछि जति खान सकिन्छ सोही बसाइँमा खानुपर्दछ ताकी साँझ परेपछि खान पाइदैन ।
सोही दिन बिहान सबेरैदेखि केही महिला र व्रतालुहरूले खानेकुराको परिकारहरू पकाउनु पर्दछ । जसमा सिध्रा माछा, पवैं र सिल्टुङ वा मासको गेडा मिसाइएको तरकारी, गाभा, भात, खरिया, फुलौरी, चिचिण्डा लगायतका विभिन्न बिजोर संख्यामा तरकारीहरू बनाइन्छ । तयार भइसकेपछि साँझको प्रक्रिया अनुसार अगयारी दिएर अग्रासन छुट्याइन्छ । त्यसपछि खानपिन सुरु हुन्छ । आफ्ना दिदीबहिनीहरूका लागि छुट्याइएको अग्रासन खानपिन पश्चात् पु¥याउन जाने चलन रहेको छ । उक्त दिन चेलीबेटीहरू आफ्ना दाजुभाइको आउने बाटोमा आँखा बिछ्याइ रहेका हुन्छन्, प्रतिक्षामा बसिरहेका हुन्छन् । दाजुभाइ पनि ताजा खानेकुरा दिदीबहिनी कहाँ पु¥याउन आतुर हुन्छन् । यसबाट दाजुभाइ, दिदीबहिनी बीचको मायाममता, सद्भाव, स्नेह प्रगाढ रहेको स्पष्ट हुन्छ ।
सुर्खेत जिल्लामा रहेका थारु समुदायका धेरै व्यक्तिहरूलाई अँट्वारी पर्व कसरी मनाउँछन् भन्ने बारेमा थाहा नभएको अवस्था रहेको छ । ३६ वटा थारु बस्ती रहेको सुर्खेतमा ४÷५ वटा गाउँमा मात्र अँट्वारीको व्रत बसेको देख्न पाइन्छ तर थारु जातिको बाहुल्यता रहेको अन्य जिल्लामा भने हरेक वर्ष २ दिनसम्म धुमधामका साथ यो पर्व मनाउँदै आइरहेका छन् । यो सरकारी पर्व होइन यो त खानपिनका लागि मात्र बनाएको हो भनेर आज भोलिका युवा वर्गले अट्वारी पर्व मनाउन छोडिरहेका छन् । यो एकदमै गलत कुरा हो । पुस्तैदेखि पुर्खाहरूले मनाउँदै आइरहेको, चली आएको पर्व यसरी चट्क्कै मनाउन छोडी दिएमा थारु संस्कृतिको एउटा अंश घट्ने निश्चित हो । यता थारु कल्याणकारिणी सभा दाङले अँट्वारी पर्वको निश्चित मिति तोक्न र राष्ट्रिय पर्व घोषणा गरी कम्तीमा १ दिन सार्वजनिक बिदा दिन समेत विज्ञप्तीमार्फत् सरकारसँग जोडदार माग गरेको छ । अट्वारी पर्वलाई मनाउन छोड्नुभन्दा यसको महŒव र यसको सुरुवातको बारेमा खोजीनिती गरेर पत्ता लगाउनु बुद्धिमानी हुन्छ कि ?
(वीरेन्द्रनगर–१४, नयाँगाउँ, सुर्खेत)

प्रकाशित मितिः   १९ भाद्र २०७३, आईतवार ०९:५५