बाढीपीडितलाई छोएन तीजको रौनकले

piditसाझा बिसौनी संवाददाता
सुर्खेत, १८ भदौ ।
रहर त उनलाई पनि छ, मिठो खान । घरभरी आफन्त राखेर दर खुवाउन । नयाँ सारी र चोलीमा संगीनीहरूसँग छमछमी नाच्न । रहरले भरिएको छ धनसरी कामीको मन तर रौनक पटक्कै छैन । बरु साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलीरहन्छ हरपल । ‘बस्नलाई गतिलो बास छैन, खानलाई गास छैन’ उनले दुखेसो पोखिन्, ‘तीज त आयो, भै’गो नसम्झाउनुस् बाबु, आँशु वर्षिन्छ । आँशु पिएर न भोक मेटिन्छ न प्यास ।’

दुई वर्षअघि ईत्राम खोला उर्लेर आयो । धनसरीको घर बगायो । ‘घर मात्र हो र ? घरसँगै बगायो रहर’ आँखाको चेपबाट बगेको आँशुको थोपा रुमालले पुछ्दै उनले भनिन्, ‘त्यहीबेलै खोसिएछ हाम्रो त खुशी ।’ २०७१ को साउनमा आएको बाढीले उठीबास लगाएपछि अस्थायी शिविरमा बस्दै आएका छन् धनसरी जस्तै ‘खुशी खोसिएका’ दुई सय घर परिवार । जसलाई दुई वर्षदेखि कुनै चाडपर्वले खुशी दिन सकेको छैन । आउन त धनसरीहरूले नचाहेर पनि आउँछन् चाडहरू । आइसकेपछि पीडा थपेर जान्छन् । आँशु पिलाएर जान्छन् । घाउ बल्झाएर जान्छन् । ‘हाम्रा लागि खुशी बनेर कहिले आउला तीज ?’ धनसरी सुस्केरा हाल्छिन्, ‘पेट भर्नै मुस्किल छ तीज कसरी मनाउनु ?’

यतिबेला जताततै तीजको रौनक छ । दर खाने, खुवाउने र नाचगानमा व्यस्त छन् अन्य महिलाहरू । तर आफन्तलाई बोलाएर दर खुवाउने त परको कुरा आफ्नै पेट कसरी भर्ने भन्ने चिन्ताले पिरोलिएका छन् बाढीले खुशी खोसिएका
महिलाहरू । रंगीविरंगी कपडामा सजिएका महिलाहरू आँगन छेउबाट ओहोर–दोहोर गरेको देख्दा धनसरीको मुटुमा गाठो पर्छ । आँखामा बादल मडारिन्छ र छिनमै वर्षिन्छ । धनसरीका लागि मात्र होइन धनसरी जस्तै बाढीपीडित महिलाहरूका लागि आँशु बनेर आयो यस वर्ष पनि तीज । सरकारले पुनर्वासमा ढिलाइ गरेपछि दुई वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका महिलाहरूमा तीजको कुनै उमंग छैन ।

शनिवार बिहान वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा पुग्दा धनसरी जस्तै साँझको छाक कसरी टार्ने भन्ने चिन्तामै थिइन् सरस्वती वली । उनलाई पनि रहर नभएको होइन, नयाँ लुगा लगाउन । मिठो खान । घरभरी आफन्त राखेर दर खुवाउन र नयाँ लुगामा कम्मर मर्काउँदै नाच्न । तर ईत्राम खोलाले खोसेको खुशी अहिलेसम्म फर्किन नसकेको बताउँछिन् उनी । ‘झुपडी नै भए पनि आफ्नै घरमा आफन्त बोलाएर दर खुवाउन र रमाइलो गर्ने त मन छ नि हामीलाई पनि’ उनले रहर खोलिन्, ‘तर रहर भएर मात्रै के गर्नु हाम्रो रहर त सपनामै सीमित छन् ।’

दुई वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका यहाँका बाढीपीडितहरूका लागि हरेक वर्ष पीडा बनेर आउने गरेको छ तीज । जताततै तीजको रौनक छाएको बेला यहाँका बाढीपीडितहरूका घरपरिवार समेत एक ठाउँमा छैनन् । कमाउनका लागि पुरुषहरू प्रायः सबै भारततिर गएका छन् । शिविरमा प्रायः महिलाहरू मात्रै छन् । उनीहरू दिनभरी मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएका छन् । छोरीचेलीलाई तीजको बेला घरमा बोलाएर दर खुवाउन समेत नपाएको पीडा पोख्छन् उनीहरू ।

सुर्खेतका बाढीपीडितहरूको पुनस्र्थापनाका नाममा सरकारले अहिलेसम्म आठ करोड खर्च गरिसक्दा पनि दुई सय बाढीपीडित परिवारको पुनर्सस्थापना हुन सकेको छैन । उनीहरू जिल्लाका विभिन्न शिविरहरूमा बसिरहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले नौ सय ७० घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएको भन्दै सिफारिस गरेको थियो । दुई वर्षको अवधिमा सात सय बढी परिवारको पुनस्र्थापना भइसकेको दाबी गरिएको छ । तर विस्थापित मध्ये दुई सय बढी परिवार अझै अस्थायी शिविरमा नै छन् । दुई वर्षसम्म पनि बाढीपीडितहरूको पूर्ण रूपमा पुनस्र्थापना हुन नसक्दा उनीहरूको जीवन सकसपूर्ण बनेको छ । शिविरको बासमा साँझ बिहानको छाक टार्नै मुस्किल परेको बेला तीजले आफूहरूलाई रुवाएको बताउँछन् पीडित महिलाहरू ।

प्रकाशित मितिः   १९ भाद्र २०७३, आईतवार ०९:५१